२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । आइएमई लाइफले प्रिमियममा आइपिओ निष्काशन गरेपछि न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन सजिलै २५ प्रतिशत बोनस शेयर दिनसक्ने देखिएको छ। कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्काशन गर्दैछ।
सर्वसाधारण समूहको एक करोड २० लाख कित्तामध्ये ६ लाख कित्ता कर्मचारीहरूलाई आधार मूल्यमै बिक्री गर्नेछ। बाँकी एक करोड १४ लाख कित्ता शेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ।
प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ। तर आयकर ऐनले विगतमा प्रिमियममा शेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ।
यदि कर भुक्तानी गर्नु परेका खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्ड ३९ करोड रुपैया तिर्नु पर्छ। यसो हुनेबित्तिकै कम्पनीसँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुनेछ।
आइपिओ निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ। यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस शेयर वितरण गर्नै पर्नेछ। अपरिष्कृत वित्तीय विवरणअनुसार जगेडा कोषमा थप एक अर्ब भन्दा माथि रकम रहेको छ।
प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस शेयर र आगामी वर्षमा लगानीकर्ताहरूलाई निश्चित प्रतिशत बोनस शेयर नियमित रूपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ।
प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा शेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन्। प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरूले समेत प्राप्त बोनस शेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन्। मानौँ कुनै शेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता शेयर खरिद गर्यो। उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ। उसले पहिलो वर्ष २५ प्रतिशतका दरले २५ कित्ता बोनस शेयर प्राप्त गर्यो।
अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको शेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ। मानौँ प्राथमिक शेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस शेयर बिक्री गर्यो। यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ। बोनस शेयर बिक्री भएपछि प्राथमिक शेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ।
यदि भोलिका दिनमा बढ्दो बजारमा शेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्न देखिन्छ। त्यसमा पनि २५ प्रतिशत बोनस शेयर दिने भए पछि कम्पनीको शेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहनेछ। विगत ५-६ वर्षदेखिको मुनाफा जगेडा कोषमा सञ्चित हुँदै आएको हुँदा आगामी वर्षमा शेयरधनीहरूले राम्रै लाभांश पाउने सम्भावना उत्तिकै छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij