२०८२ भाद्र २२ गते आइतवार
चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ। चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ।बढ्दो गर्मी छल्न यहाँका स्थानीय इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित लामो झरनामा जान थालेका छन्। गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलवीरेको १०२ मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमि र मुग्लिनबाट नारायणगढतर्फ ७ किमिको दूरीमा पर्छ। सडकबाट १ किमि उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ। हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ।
वीरगञ्जबाट आएकी शिला महतो झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको महसुस भएको बताउँछिन्। उनले भनिन्, ‘पहिलो पटक आएकी हुँ। यहाँको झरना देखेर मन लोभिएको छ’, सामाजिक सञ्जालमार्फत झरनाबारेमा थाहा पाएर साथीहरुसँग घुम्न आएको उनले सुनाइन्।
२०६९ देखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो। झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौं, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन्। नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन्।
गत वर्षभन्दा यस वर्ष पर्यटक आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताए। ‘यहाँ पौडी खेल्न र नुहाउन आउनेको संख्या बढ्दो छ, उनले भने, ‘बिदाको दिन र शनिबार औसतमा ५ सय र अन्य दिन करिब २ सय पर्यटक यहाँ आउने गरेका छन्।’
झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङका लागि पर्यटक आउने गरेको उनले बताए। झरना अवलोकनका लागि इच्छाकामनाका वासिन्दाले प्रतिव्यक्ति २५ र अन्य स्वदेशीले प्रतिव्यक्ति ५० प्रवेश शुल्क तिर्नुपर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij