Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कराँतेको केन्द्र बन्दै बडीगाड

कराँतेको केन्द्र बन्दै बडीगाड


  • 11.0K
    Shares

    कराँतेको केन्द्र बन्दै बडीगाड

    बागलुङ । जिल्लामा स्थानीय तहको निर्वाचनपछि धेरै जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिएका छन् । धेरै स्थानीय सरकारले ओझेलमा राख्दै गरेको खेलकूद क्षेत्रलाई बडीगाड गाउँपालिकाले भने प्राथमिकताका साथ अगाडि बढाएको छ ।

    खेलकूद क्षेत्रको विकासका लागि बडीगाड गाउँपालिकाले गौरवको योजनाका रुपमा खेलकूद पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ । गाउँपालिकाले खेल अभ्यासका लागि कबर्ड हल निर्माण तथा खेलाडी आवास निर्माणमा झण्डै ५० लाख रुपैयाँ लगानी गरेको छ । गाउँपालिकालाई खेलकूदको केन्द्रका रुपमा विकास गर्न गत वर्ष गाउँपालिकाको तर्फबाट रु २० लाखको लागतमा कबर्ड हल निर्माण गरिएको छ । 

    गत वर्ष नै खेलाडी र अतिथिका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेर आवास निर्माण शुरु गरेको थियो । गाउँपालिकाले यस वर्ष रु १० लाख र सङ्घीय सांसद देवेन्द्र पौडेलले विनियोजन गरेको रु १४ लाखको लागतमा अहिले आवास निर्माणको कार्यसमेत अन्तिम चरणमा पुगेको बडीगाड गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई खेलकूदको केन्द्र बनाउनका लागि खेलकूद क्षेत्रको पूर्वाधार निर्माणमा जोड दिएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी बताउनुभयो ।

    “गाउँपालिकाले अन्य क्षेत्र जस्तै खेलकूद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर पूर्वाधार र खेलाडी उत्पादनमा जोड दिइएको छ”, अध्यक्ष पाइजाले भन्नुभयो, “खेलकूदको पूर्वाधारसँगै खेलाडी उत्पादन गरिरहेका छौँ, राष्ट्रिय अन्तरराष्ट्रिय खेलमा सहभागीसमेत भइरहेका छन् ।” बडीगाड गाउँपालिकामा कराँते खेलमा निकै आकर्षण र उर्वर देखिएको छ । गाउँपालिकाले दुई वर्षअघि बडीगाड महोत्सवका अवसरमा राष्ट्रियस्तरको कराँते प्रतियोगितासमेत सम्पन्न गरेको छ ।

    गाउँपालिकामा अन्तरराष्ट्रियस्तरको मान्यता प्राप्त कराँते प्रशिक्षक समेत भएकाले गाउँपालिकामा खेलकूद क्षेत्रको गतिविधि र प्रवद्र्धनका लागि सहज भएको छ । बडीगाड कराँते डोजोअन्तर्गत अहिले गाउँपालिकाले निर्माण गरेको कबर्ड हलमा दैनिक ७० जना खेलाडीले कराँते खेलको प्रशिक्षण लिइरहेको बडीगाड कराँते डोजोका प्रमुख तथा अन्तरराष्ट्रिय प्रशिक्षक राजन पाइजाले जानकारी दिनुभयो ।

    पाइजाका अनुसार, गाउँपालिकाको सहयोगमा बडीगाड कराँते डोजोले उत्पादन गरेको खेलाडी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई गोल्ड मेडलसमेत जित्दै आएका छन् । हालै पञ्जाबमा सम्पन्न भएको इन्डोर नेपाल प्रतियोगितामा बडीगाड डोजोकोतर्फबाट सहभागी भएका छ जना खेलाडीले नै गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए ।

    “कराँते खेलमा बडिगाड गाउँपालिकाले धरै सहयोग गर्दै आएको छ, कराँते खेलका लागि लक्षित गरी कर्बड हल तथा आवाससमेत निर्माण गरेको छ”, कराँतेका एशियन प्रशिक्षक पाइजाले भन्नुभयो, “कबर्ड हल नहुँदा यसअघि प्रशिक्षणका क्रममा पानी पर्दा समस्या हुने हावाहुरीले समस्या पार्ने गरेको थियो तर अहिले कबर्ड हल निर्माणपछि निकै सहज भएको छ ।” बडीगाड डोजोले चार वर्षदेखि खेलाडीलाई कराँते प्रशिक्षण गर्दै आएको छ । कराँते मात्र नभई अन्य खेल प्रशिक्षण र कार्यका लागि पनि खेलकूद पूर्वाधारले सहज हुने पाइजा बताउनुहुन्छ । रासस

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १४:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij