२०८२ भाद्र २ गते सोमवार
नेपाल भलिबल संघको अध्यक्ष पदमा संघका वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने घोषणा गरेका छन्। चन्दले आज पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन गइरहेको नवौं चुनावी अधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यस्तै, निरोज मास्केले केहीदिन अघि पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेकी थिइन्। यसअघि इन्दिरा निरौलाले सामाजिक सञ्जालबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् तर आज उनले उम्मेवदारी फिर्ता लिइन्। उनले चन्दको काम गर्ने 'स्पीरिट', अनुभव, योगदान र भलिबलको अन्तर्राष्ट्रिय संघसंस्थामा पनि जिम्मेवार पद पाएकोले उनलाई समर्थन गरेको बताइन्। २०४५ सालमा राष्ट्रिय खेलकुदमा महाकाली अञ्चलबाट सहभागिता जनाउँदै भलिबल क्षेत्रमा आफू प्रवेश गरेको चन्द बताउँछन्। त्यसयता खेलाडीका रुपमा र पछिल्ला दुई कार्यकाल महासचिवका रुपमा चन्दले संघमा जिम्मेवारी सम्हालिसकेका छन्।
चन्दका १४ प्रतिबद्धता
अध्यक्षमा उम्मेदवारी दिँदै चन्दले १४ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन्। जसमा उनले संघलाई स्थानीयदेखि केन्द्रसम्म व्यवस्थित गर्ने, प्रतिभावान खेलाडीको छनोट र निरन्तर प्रशिक्षण, वार्षिक क्यालेन्डर, खेलाडी/रेफ्रीलाई प्रोत्साहन लगायतका विषय उठाएका छन्।
त्यस्तै मोफसलका प्रतियोगितामा मापदण्ड तय गर्ने, अन्तर्राष्ट्रिय सहभागिता बढाउने, कभर्ड हल निर्माणका लागि समन्वय, खेलाडीको आर्थिक पक्ष सुधार्न लिगहरु व्यवस्थित गर्ने, विद्यालयस्तरबाट खेलाडीको विकास गर्ने, प्रोत्साहन र पुरस्कार, अन्तर्राष्ट्रिय निकायसँगको समन्वय, दस्ताबेजिकरणलगायतका विषयहरुमा पनि उनले जोड दिएका छन्। उम्मेदवारी दिँदै गर्दा महिला भलिबलबाट प्राप्त गरेको सफलताबारे चर्चा गर्दै यसलाई थप अघि बढाउने प्रतिबद्धता उनको थियो।
महासचिवमा दुई उम्मेदवारी
संघको महासचिवमा पनि दुईजनाको उम्मेदवारी परेको छ। चन्दको प्यानलबाट रोशन श्रेष्ठले आजै उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठको राजनीतिदेखि कर्मचारीतन्त्रसम्मको पहुँच र आफ्नो संघमा काम गरेको अनुभवको 'फ्युजन'ले धेरै कुरामा अघि बढ्न सकिने तर्क अध्यक्षका दाबेदार चन्दको थियो।
यसअघि ढोरपाटन क्लबका अध्यक्ष तथा हालका सचिव मनवीर छन्त्यालले पत्रकार सम्मेलन गर्दै महासचिवमा उम्मेदवारी दिएका थिए। उनले भलिबलको विकासका लागि पूर्णकालीन पदाधिकारीको आवश्यकता पर्ने र आफू त्यसका लागि सक्षम भएको बताउँदै फ्रेन्चाइज प्रतियोगिता, क्षेत्रीय फ्रेन्चाइज, मुख्यमन्त्री कप, बीच भलिबलको विस्तार गर्ने लगायतका योजना उनले सुनाएका थिए।
उनले राष्ट्रिय टोलीमा ७ वर्ष कप्तानले कार पाउने, संन्यास लिने खेलाडीले बाइक पाउने गरी काम गर्ने योजना सुनाएका थिए।
'हिजो केही नहुँदा ढोरपाटनले केही नहुँदा पनि स्कुटी दिन सक्थ्यो भने संघ भने ठूलो ठाउँ हो। यो सम्भव छ,' उनले भनेका थिए, 'म त सिधा मान्छे। कुनै साथीहरु भोट जित्न साम, दाम, दण्ड भेद प्रयोग गर्लान्। मसँग सबैको नम्बर छ। सबैलाई सोध्दा छन्त्यालजी तपाईंले जित्नुपर्छ भन्छन्। त्यसले गर्दा भोट हाल्छन् भन्ने छ,'
अध्यक्षमा चन्द/मास्के प्रतिस्पर्धा
संघको चुनावी साधारणसभा नजिकिँदै गर्दा अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द र निरोज मास्केलबिच प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारी घोषणा कार्यक्रममा मास्केले पाँच 'प' को प्रतिबद्धतासमेत जनाएकी छिन्।
डेढ दशकदेखि भलिबल संघमा आबद्ध उनी दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै भलिबल संघमा प्रवेश गरेकी थिइन्। अध्यक्षमा उम्मदवारी दिएकी उनले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचना गरी पाँच 'प' प्रतिबद्धता जारी गरेकी छिन्। जसमा खेलाडी, रेफ्री, प्रशिक्षकको प्रशिक्षणदेखि विभिन्न तहका प्रतियोगिता, केन्द्र र प्रदेशमा कभर्ड हल, स्थानीय तहमा भलिबलका पूर्वाधार विकास गर्ने, खेलाडी प्रोत्साहनको कार्यक्रम ल्याउने, प्रशासनिक संरचनामा सुधार ल्याउने लगायतका प्रतिबद्धताहरु छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij