Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

तङ्ग्रिदै पोखराको पर्यटन

तङ्ग्रिदै पोखराको पर्यटन


  • 9.7K
    Shares

    तङ्ग्रिदै पोखराको पर्यटन
    images

    राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । 

    उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँदीको घेरा झै अग्ला हिमशुङ्खलाको दृश्यले त झनै जोकोहीलाई मोहित तुल्याउँछ । अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा जति प्राकृतिक र भौगोलिक विविधतायुक्त छ, त्यत्तिकै जातजातिको बासस्थन, रैथाने परिकार, वेषभूषा, आतिथ्य सत्कार आदिले पोखराको पर्यटनलाई विश्व बजारसम्म फैलाएको छ । त्यसैले वर्षेनी लाखौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँको गन्तव्य पोखरा पर्ने गरेको छ ।
     
    सुन्दर र सफा शहरको उपमा पाएको पोखरामा चर्चित फेवाताल, बेगनासताल, रुपाताललगायत तालतलैया, पातले छाँगो, महेन्द्र गुफा तथा नजिकको सराङ्कोट डाँडा, रुपाकोट रिसोर्ट, शान्तिस्तुपा, फेवातालको शिरमा रहेको पञ्चासेडाँडा आदि प्राकृतिक छटाको सङ्गमले यसको सौन्दर्यतालाई निखारेको छ । पोखरा शहर नजिक बनिरहेका पाँचतारे होटलका पूर्वाधार, साहसिक पर्यटनका पूर्वाधार, साराङकोटको विश्वकै लामो र द्रुतगतिको जीपलाइन, पर्वतको कुश्मामा शुरु भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै अग्लो स्वीमिङ, बन्दिपुरमा बनिरहेको केबलकार आदि पूर्वाधारले पोखराको पर्यटन गन्तव्य विस्तार मात्र नभइ, पर्यटकको बसाई लम्ब्याउन पनि सहयोग पुगेको छ ।
     
    हिमाली सौन्दर्यताका साथै साहसिक पर्यटन तथा पोखरा आसपासका पर्यटकीय गन्तव्य र घरबास कार्यक्रमले पनि पर्यटकलाई तान्ने गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण करिब ठप्प प्रायः बनेको पोखराको पर्यटन विस्तारै तङ्ग्रिदैछ । महामारी केही घटेको र छिट्टै महामारी सामान्य हुने आशमा पोखराका व्यवसायी मात्र नभइ, यहाँका पारखी पनि प्रतिक्षामा छन् । अहिले विस्तारै पोखराको पर्यटनले गति लिदैँछ । आन्तरिक पर्यटक बाक्लिएका छन् भने विदेशी पर्यटक पनि हुलका हुल देखिन थालेका छन् ।  बन्दाबन्दीका कारण करिब १० महिना ठप्पजस्तै भएको पोखराको पर्यटन विस्तारै लयमा फर्किने आँकलनसहित व्यवसायीले पूर्वाधार विस्तार तथा सेवा सुदृढीकरणमा लागेका छन् । 

    पर्यटनमा आशाको सञ्चार
     
    सन् २०२१ को शुरुआतले आन्तरिक पर्यटनमा आशाको सञ्चार गरेको छ । कोभिड कहरकैबीच पर्यटन क्षेत्रमा ‘न्यू इयर इभ’मा देशका विभिन्न ठाउँमा आन्तरिक पर्यटकको उपस्थिति र रौनकले पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

    विदेशी पर्यटकको उत्सव मानिने ‘न्यू इयर इभ’ केही वर्षदेखि आन्तरिक पर्यटकका लागिसमेत नयाँ उत्सव बनिरहेको छ । यसपटक भने महामारीका कारण कार्यक्रमको अन्यौलता थियो । आन्तरिक पर्यटकको चहलपहल बाक्लिएपछि माहामारीबाट थलिएको पर्यटन लयमा फर्कने आशामा व्यवसायी छन् । वायु सेवा कम्पनीले हवाई टिकटमा गरेको प्याकेजसहितको छुट अफर, होटेल तथा रेस्टुराँ व्यवसायीले ग्राहक तान्न गरेका अफर तथा छुटले पनि आन्तरिक पर्यटन विस्तारै चलायमान बन्दै जान थालेको पर्यटन व्यवसायीको धारणा छ ।
     
    नयाँ वर्षको अवसरमा काठमाडौँ, पोखरा, चितवन (सौराहा), लुम्बिनी, दोलखा (चरिकोट) जस्ता पर्यटकीय गन्तव्यमा पर्यटकको भीड बढेको थियो । पछिल्लो समय भारतसँग एअर बबल सहमति भएपछि विस्तारै भारतीय पर्यटकसमेत नेपाल आउन थालेका छन् । विश्वव्यापी रूपमा देखिएको कोभिड महामारीको जोखिमले बाह्य पर्यटक आउने अवस्था नरहेको सन्दर्भमा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रम र पर्यटकको उपस्थितिले आन्तरिक पर्यटन चलायमान हुने आशा देखिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्द भएर बसिरहनु पर्दा मानिसलाई कहाँ जाउँ के गरौं भएको अवस्थामा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रमले पक्कै उत्साह थपेको छ, अब स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउनुको विकल्प छैन ।”
     
    पर्यटन प्रर्वधनका लागि सङ्घीय सरकार, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्र मिलेर नयाँ कार्यक्रमसहित अगाडि बढ्नुपर्ने कार्यकारी प्रमुख रेग्मीको भनाइ छ ।  होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तुलनात्मक रुपमा पर्यटकीय गन्तव्यमा बाक्लो सङ्ख्यामा पर्यटक नपुगे पनि विस्तारै आन्तरिक पर्यटकको उत्साह देखिनु सकारात्मक भएको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीका लागि सरकारले ल्याएका सहुलियत, आन्तरिक पर्यटन प्रर्वधनका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिएको खण्डमा आन्तरिक पर्यटन विस्तारै लयमा फर्किने धारणा राख्नुभयो । 

    कोभिडका कारण लामो समयसम्म ठप्प व्यवसाय विस्तारै चलायमान हुन थालेको र यसले व्यवसायीलाई उत्साहित बनाएको रेस्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेवान) का अध्यक्ष अरनिको राजभण्डारीले बताउनुभयो । पोखरामा सडक महोत्सवमा पर्यटक आगमन हेर्दा यसले व्यवसायीमा आशाको सञ्चार गरेको रेवान पोखराका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताउनुभयो । रेवानले पोखरालाई ‘नयाँ वर्षको गन्तव्यस्थल’ का रूपमा प्रर्वधन गर्ने उद्देश्यसहित गत पुस १५ देखि १७ सम्म ‘२२औँ पोखरा सडक महोत्सव २०२० र ०२१’ आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।

    व्यवसायी भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै होटलमा करोडौँ खर्चेर क्लब, स्वीमिङ पुललगायत पूर्वाधार बनाउनुभएको थियो । कास्कीको रुपाकोट रिसोर्टले पनि भ्रमण वर्षलाई लक्षित गरी पूर्वाधारमा करिब एक अर्ब लगानी गरेको थियो । भ्रमणवर्ष रद्द भए पनि अब विस्तारै पर्यटन चलायमान हुने आशमा अन्य व्यवसायीले पनि पर्यटकीय पूर्वाधार र सेवा स्तरोन्नतिमा लगानी बढाइरहेका छन् ।  

    कोभिड महामारीका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन करिब ८० प्रतिशतले गिरावट आएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १४:००:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij