२०८२ भाद्र १२ गते बिहिवार
मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो– नेपालको शीतल भ्यूटावर । दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउने पर्यटकको सङ्ख्या कमी हुँदै गएको थियो । लकडाउन खुकुलो भएसँगै विस्तारै पर्यटकको सङ्ख्या वृद्धि हुन थाले पनि भ्यूटावरमा रहेका दूरविनमा समस्या भएको जनाउँदै ग्राहकले व्यापक गुनासो गर्न थालेपछि भ्यूटावर व्यवस्थापनले टावर बन्द गरेको हो । भ्यूटावरसँगै सञ्चालनमा रहेको रिसोर्ट पनि बन्द भएको छ ।
दामन भ्यूटावर एण्ड रिसोर्टका सञ्चालक प्रकाश होटल इन्टरनेश्नलका प्रतिनिधि भरत गोपालीले भ्यूटावरमा नयाँ दूरविन राख्न र टावर मर्मत गर्न नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले टावर बन्द गर्नुपरेको जानकारी दिनुभयो । थाहा नगरपालिकाले दामन भ्यूटार र रिसोर्ट दुवै सञ्चालन गर्ने गरी विसं २०७५ कात्तिक १५ गते प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्कामा दिएको थियो । कूल रु ४७ लाख ६३ हजारमा ठेक्कामा लिएकामा नगरपालिकाले नयाँ दूरविन उपलब्ध नगराएको, अन्य पूर्वाधार निर्माणमा पनि सहयोग नगरेको र कोभिड–१९ का कारण चल्न नसकेको जनाउँदै सो इन्टरनेश्नलले सम्झौतामा पुनःविचार गर्न माग गर्दै आएको छ ।
विसं २०२१ मा तत्कालीन राजा महेन्द्रले रानी इन्द्र राज्य लक्ष्मीको आग्रहमा भ्यूटावरको निर्माण गर्नुभएको थियो । नेपालकै पहिलो भ्यूटावर टावरको रूपमा रहेको भ्यूटावरको नाम शीतल भ्यूटावर राखिएको थियो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले समेत होटल सञ्चालन गर्नुभएको भ्यूटावरमा दुई शक्तिशाली दूरविन राखिएका थिए । दूरविनबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जन बढी हिमशृङ्खला नजिकै देख्न सकिन्थ्यो ।
थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री भ्यूटावरमा रहेको दूरविन करिब एक दशकदेखि नै काम नलाग्ने अवस्थामा रहेको जानकारी दिनुहुन्छ । शुरुमा पर्यटन विभागको मातहतमा रहेको टावर डेढ दशकअघिदेखि जिल्ला विकास समितिले ठेक्कामार्फत सञ्चालन गर्दै आएको थियो । विसं २०७२ को संविधानले स्थानीय स्रोतको सञ्चालनमा स्थानीय तहलाई अधिकार प्रदान गरेपछि जिल्ला विकास समितिले थाहा नगरपालिकालाई भ्यूटावरको स्वामित्व हस्तान्तरण गरेको थियो । भ्यूटावर नगरपालिकाको स्वामित्वमा आएपछि जननिर्वाचित प्रतिनिधिको नगरसभाले भ्यूटावरमा राख्न दूरविन खरिद गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । अहिलेसम्म दूरविन ल्याउन सकेको छैन । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij