Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

‘धुमिल स्मृति’को छ्याङ्ङ बेलीबिस्तार

‘धुमिल स्मृति’को छ्याङ्ङ बेलीबिस्तार


  • 9.2K
    Shares

    • images
    ‘धुमिल स्मृति’को छ्याङ्ङ बेलीबिस्तार
    images

    विषय प्रवेश 

    त्यसो त कलमको बन्दुकबाट निस्किएको गोली निःसन्देह ज्यादै खतरनाक हुन्छ, भेदभावका पुजारीहरूलाई । उता ‘भेदभावको व्यापक विरोध गर्नुपर्छ र आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ’ भन्ने कार्ल माक्र्सको कथनलाई शिरोधार्य गर्ने एक उम्दा लेखिकाको संस्मरण अध्ययन गरिसकेपछि मेरो मथिङ्गल बिल्कुल तरङ्गित भयो । कारण थियो– पसिना बेचेर झुपडी ताकेको नाङ्गो सत्यलाई पेस गर्ने उनको अपराजेय आँट । सत्यलाई जस्ताको तस्तै पस्कने उनको सुर्याइँ । अनुभूति र भोगाइलाई दुरुस्त उतार्ने उनको  हिम्मत ।  अनुभवको गहिराइलाई पहिल्याउने र प्रस्तुत गर्ने उनको अदम्य साहस ।

    Madhav sir Samikshya.jpg

    नेता रिझाउने र चाप्लुसी गरेर केही शुभलाभ चप्काउनेलाई चस्काउने उनको संस्मरण कुनै मानेमा पनि धूमिल देखिँदैन बरू भरभराउँदो, जीवन्त र ताजा लाग्छ । उसोभए यति सुस्पष्ट स्मृति कुन मानेमा धूमिल त ? हो, धूमिल लाक्षणिक मानेमा ।  हो, धूमिल व्यञ्जक मानेमा । वर्तमान सामाजिक र सांस्कृतिक मनोदशालाई उधिन्ने सपाट व्यङ्ग्य यो संस्मरण सङ्ग्रह । कहीँकतै छैन मोलाहिजा, न कतै अज्ञात भय छ निर्मम आलोचनाको । पाठकलाई यो संस्मरण एउटा नाङ्गो सत्यको सजीव दस्तावेज अनुभूत हुनुपर्छ । भोगाइका विविध आयाम र कालखण्डलाई डेढ दर्जन शीर्षकमा विभक्त गरी अभिव्यक्त गरिएको छ ‘धूमिल स्मृति’मा ।

    समाज दृश्यरूपमै जातीय विभेदले थलिएको छ । वर्गीय विभेदले टाक्सिएको छ । लिङ्गीय विभेदले खोक्रिएको छ । हुनेखाने र हुँदाखानेका बीचमा यति गहिरो खाडल छ कि यो पुर्नका निम्ति एउटा आमूल परिवर्तनको हुन्डरी पुनः आउनैपर्छ । यथास्थितिलाई समूल नष्ट नगरेसम्म जनअधिकार प्राप्त हुने कुनै गुञ्जाइस नै छैन । श्रमप्रति हीनभाव रहँदासम्म शासक वा सत्ता वरपर रजगज गर्नेले जतिसुकै डङ्का पिटे पनि समतामूलक समाजको परिकल्पना मृगतृष्णासिवाय केही नहुने निश्चित छ । समाजका हरेक क्षेत्रबाट खेदिएका, हेपिएका, चेपिएका र किनारीकृत पारिएका पददलितहरूलाई समानताको हक प्रत्याभूति नगरिँदासम्म चिनी घोलेका नारा जतिसुकै श्रुतिमधुर बनाएर प्रचार गरिए पनि अन्ततोगत्वा ती अनुवाद हुनेछन्– केवल हात्तीछाप चप्पलमा ।
    यतिखेर परिवर्तनको फसलमा राइँदाइँ गर्ने मान्छेहरू परिवर्तनको पूरै खिलाफमा थिए उतिखेर । प्राप्त सीमित उपलब्धि तिनै दुस्मनका पाउमा अर्पण गरियो । अहिले गिडगिडाएर गर्नु के ! कम्युनिस्ट नामधारीहरू कसैलाई सर्वाधिक महङ्गो जलहरी भगवानका नाममा चढाउनु छ र अयोध्या घोषणा गरिदिनु छ एउटा अन्जान बस्तीलाई फगत् धार्मिक आस्थासँग सौदा गर्न र निरीह जनताको चेतनालाई गिज्याउन । अनि कसैलाई त्यसको धुवाँधार विरोध गर्नु छ केवल भोटका निम्ति । न देवलको मूल्य छ सारङ्गी पेटलाई, न प्रतिविचारको सार्थकता । कुहिराको काग बनेका स्थानीयलाई न हर्ष, न विस्मात् । 

    हेपाइका अनन्त शृङ्खला 
    भनिन्छ नि, इमानदार व्यक्तिलाई त्यति अत्याचार पनि नगर्नू किनकि एउटा सुन्दर सिसा फुट्यो भने त्यो हतियार बन्छ । खासमा भएको यस्तै छ उनको हकमा पनि । बाल्यकालमा ठूला जात र साना जातका पृथक पँधेरा उनैले भोगेका भुक्तमान हुन् । पिँधमा पारिएको जातिका आर्थिक सकस त अवर्णनीय हुने नै भए । एकाघरकै सदस्य गैरजिम्मेदार बन्दा एवम् घरभित्रै विभेदका पर्खाल ठडिँदा सिर्जित हुने हीनताबोधको झन् के कुरा गर्नु र ? एउटी किशोरी रजस्वला हुने प्राकृतिक कुरामा पनि प्रताडित पारिएको परिघटनाले आज पनि अमिट छाप छोडेको छ उनको मानसमा । उही जातमा समेत वर्गविभेद भएको तितो अतीतले आजपर्यन्त लखेटेको छ।
    उनको राजनीतिक यात्रा प्रारम्भ हुन्छ, सर्वहारावादी श्रमिक सङ्गठनबाट । विपरीत लिङ्गी साथीहरूबाट नभई गाउँलेले काट्ने कुराले हैरानी दिन्छन् । धार्मिक अन्धताले त झन् उनलाई असीमित आक्रोशित बनाएको छ । धर्मलाई यत्तिकै अफिम कहाँ भनेका रहेछन् र मार्क्सले भन्ने लाग्छ उनलाई । क्रान्तिकारीका फेसबुकका भित्ता ‘रिप’ले चिप्कने गरेकोमा गम्भीर असहमति र आपत्ति छ उनको । कथित उपल्लो जातका किशोरले गिद्धे नजर लगाई लम्कीझम्की गर्ने । हेपाइ चेतनाविहीनताका यस्तै घटनाक्रमले उनलाई विद्रोही बन्न थप सघाएका थिए ।

    युद्ध, प्रेम र संवेदनहीनता 
    जनयुद्ध प्रारम्भपूर्व एकाथरी युद्धको तयारी नपुगेकाले युद्ध सुरू गर्नु आत्मघाती हुने निष्कर्षमा थिए भने अर्काथरी यो नै उपयुक्त बेला हो भन्ने जिकिर गर्दै थिए । उनी भने जनयुद्ध अत्यावश्यक भएकोमा दृढ थिइन् । सुरू भयो जनसमर । जेल परिन् उनी तर कालकोठरीमा समेत आन्तरिक विभेदको सिकार बनिन् । विभेदविरूद्धको युद्धभित्र नै चर्को  विभेद  ! सुपाच्य हुने कुरै थिएन उनलाई यस्तो रवैया र काराभित्रै गरिन् विद्रोह । बिहे भयो अन्तरजातीय । ऊ बेला भएका यस्ता प्रगतिशील वा केही भावावेशमा भएका बिहे या त छोडपत्रमा टुङ्गिएका छन् या शासना, यातना र ताडनाका बीच जेनतेन घस्रँदै छन् । सिद्धान्तका चर्का कुरा गर्नेहरूको आजको रवैयाको त के लेखा राखिसक्नु छ र ! शब्द नै खुसी हो, शब्द नै मल्हम पनि । अनुभव गर्न पाइनन् उनले यस्तो वातावरण । र, त एउटा नारी मनोविज्ञान बुझ्न नसक्ने आफ्नै जीवनसङ्गी र उनको संवेदनहीनताबारे पनि औँलो ठड्याएकी छन्, अनेकानेक दृष्टान्त पेस गरेर । युद्धकला प्रशिक्षणका दर्मियान भाँचिएको गोडा उपचार गर्न तथा भारतीय जेलमा रहेका आफ्ना जीवनसाथीलाई भेटघाट गर्न जाँदाका हृदयविदारक परिघटना पढ्दा प्रस्तरका मुटु हुने बाहेक अरूको आँखा भने नरसाइरहन सक्दैन । इनेगिने नेतापत्नीका रवैया, तिनका दिनचर्या र तिनले गरेको द्रव्यको राइँदाइँबारे उनले राखेको इतिवृत्तले कट्ट मुटु नखाने पाठक विरलै होलान् । उही पार्टीको एउटा पङ्क्ति आर्थिक अभावले उपचारै गर्न नसक्ने र मृत्यु वरण गर्नुपर्ने वा विकलाङ्ग जिउनुपर्ने किन्तु अर्को तह नोटका बिटाले पुरिने ! यस्तै असह्य आन्तरिक विभेदले अविस्मरणीय पाठ पढायो उनी र उनीजस्ता हजारौँ समरयात्रीहरूलाई । 

    जनयुद्धको ज्वार र नेतृत्वको दृष्टिदोष

    एउटा कठिन परीक्षामा सामेल थियो जनसमर । 
    ढ्याङ्ग्रो ठोकेको थियो सामन्त, भ्रष्ट र सुदखोरका मुटुमा, उर्लिरहेको जनसमरको ज्वारले । अपितु नेतृत्वको गतिविधि, कार्यकर्ताप्रतिको व्यवहार र निजी जीवन भयङ्कर अनपेक्षित थियो । जनताका नजरमा न्यायकर्ता र विघ्नहर्ता थिए माओवादी । मुक्तिदाता र समाधानका अचुक अस्त्र थिए माओवादी । निमुखाको वैशाखी,  अशक्तको चौपारी र भुइँमान्छेका छहारी थिए माओवादी । कतिपय नेतृत्वकर्ता भने आफैँले मूल मन्त्र मानेको सिद्धान्तको खिलाफमा व्यवहार गर्थे । सर्वहाराका नेता माओ ‘नेतृत्वले आफू माताहतका कार्यकर्ताको दृष्टिकोण, समस्या सोध्ने कुरामा सङ्कोच मान्नुहुन्न । ती सही भए सही र गलत भए तथ्यसहित गलत भन्न हिच्किचाउनु हुन्न’ भन्थे । अभिमानविरूद्ध खबरदारी गर्न पनि उनैले सुझाएका थिए । एकाध नेतृत्वलाई यो सूत्र वाक्य पनि हजम हुँदैनथ्यो । हरेक अग्रगतिमा जनताको निर्णायक भूमिका देख्ने माओ र यताका माओवादीमा व्यवहारतः बाह्र हातको साइनो पनि थिएन । क्रान्तिपछि पनि कार्यकर्ता मूल्यवान् हुन्छन् । उनीहरू नै क्रान्तिको रक्षा र विस्तार गर्ने अजेय शक्ति हुन् जोविना समाजवादी व्यवस्था टिकाउन सम्भव छैन भन्ने माओ र उनैका सच्चा अनुयायी दाबी गर्ने माओवादीमा कति भिन्नता छ, दोबाटोको बुर्की बनेको अधुरो क्रान्तिले कहिरहेकै छ यतिखेर । र, त भनिएको होला नि समयको अन्तरालसँगै चिनिन्छन् मान्छे र तिनका निष्ठा । उडाउने सपना देखाएर पखेटा काटिदिनेको बिगबिगी । 

    विभेद र विचलनका शृङ्खला 
    घोकेर नभई सोचेर दिनुपर्ने परीक्षामा होमिएका थिए माओवादी एउटा नयाँ समाज निर्माणका निम्ति । अभिमानलाई फिटिक्क उठ्न नदिने र स्वाभिमानलाई पटक्क गिर्न नदिने कठिन परीक्षामा समुत्तीर्ण हुनुपथ्र्याे उनीहरू । भत्काउनुपथ्र्याे विभेदका तमाम पर्खाल । तर धरातलीय यथार्थ भने पृथक् र अनपेक्षित थियो । 

    जनसमरको सुरूआतदेखि नै विभेद सुषुप्त छँदै थियो । युद्धकै सिलसिलामा यी झिनामसिना कुरा सुल्झिन्छन् भन्ने भरोसामा थिए समरयात्रीहरू । परन्तु घटनाक्रमले भने उल्टो दिशा इङ्गित गरिरहेका थिए । आर्थिक, सामाजिक र सांस्कृतिक विचलन बेलगाम बन्दै गए नेतृत्व तहमा । चाकडीवाजहरू रातारात पदोन्नति हुने र आलोचनात्मक चेत बोक्नेहरू ङ्याकिँदै जाने उपक्रम बढ्न थाले एकपछि अर्को गर्दै । माथिल्ला नेताका कतिपय निजी काम आफ्ना सहयोगीले गरिदिनुपर्ने प्रचलन प्रारम्भ भयो । शरीर मालिस गराउनेदेखि भित्रीवस्त्रको सफाइ गरिदिन अभिशप्त भए उच्च नेतृत्वका सहयोगीहरू । अर्कातिर गाउँबस्तीका जब्बर सामन्तहरू एकाध केन्द्रीय नेतालाई मखलेल पारेर आफ्नो लुटको स्वर्ग अक्षुण्ण राख्न चाहन्थे जसलाई नेतृत्वले नै जानअन्जान सकारिरहेको आभास हुन्थ्यो, कार्यकर्ता र लडाकु पङ्क्तिमाझ । क्रान्तिका पेचकिलालाई फुस्काएर क्रान्तिको रथ अगाडि बढ्न नदिने भयङ्कर षडयन्त्र थियो त्यो जसलाई नेतृत्वले या त बुझिरहेको थिएन या त उदासीन थियो बोध गर्न । महिला राजनीतिकर्मी थला पर्दा रेखदेख गर्ने कोही नहुने किन्तु पुरुषका हकमा निजकी श्रीमती उपलब्ध हुने अवस्था आफैँमा विभेदकारी थियो । त्यसका बाबजुद म कहिल्यै हार्दिनँ– या त जित्छु या त सिक्छु भन्ने मन्डेलाको कथनलाई शिरोधार्य गरिरहेका थिए, लडाइँको आम दस्ताले । समरका सिलसिलामा आउने हरेक चुनौतीलाई मुस्कुराएरै झेल्दै थिए । पुरातन समाज बदल्ने अभियानमा लामबद्ध भइरहेकै थिए । नवीन इतिहास कोर्न र बलिदान दिन प्रतिबद्ध थिए योद्धाहरू । आफूलाई बदल्ने तागत नै संसार बदल्ने तागत हो भनेर उत्सर्ग गरिरहेका थिए समर योद्धाहरू । किन्तु नेतृत्वले भरोसा दिलाउन सकेको अनुभूत हुँदैनथ्यो । यसैबीच युद्धविराम र वार्ताका कुरा अगाडि आए जसलाई दुवै पक्षले आआफ्नो शक्ति अभिवृद्धिमा सदुपयोग गरे ।

    संस्मरणकारले युद्धविराम भङ्ग भएपछि मोर्चा सम्हाल्न जाँदा पाएको शासना, जनादेश टिममा रहँदाको बेवास्ता, पार्टीकै आन्तरिक कारण भएको नेताहरूको गिरफ्तारी जस्ता घटना बडो सटीक ढङ्गले उठान गरेकी छन् । यिनै र यस्तै परिघटनाबारे डेढ दर्जन उपशीर्षकमा विभक्त ’धूमिल स्मृति’ अत्यन्तै पठनीय एवम् सङ्ग्रहणीय कृतिका रूपमा पाठकमाझ आएको छ । कृतिकारले घुमाउरो रूपमा एउटा जनक्रान्तिको किस्ताकिस्तामा हत्या हुँदै गएको खुलासा गरेकी छन् । उनको अभिमत छ– कहिले हत्यारा बदलियो त कहिले हतियार । ‘प’को पछाडि लागी पति, पत्नी, पुत्र, पुत्री, पद, प्रतिष्ठा, पैसा र प्रशंसापछि कुद्ने नेतृत्वप्रति कटाक्ष गर्दै बच्छ्यूँझैँ खनिएकी छन् उनी । अन्ततोगत्वा त्यस्तो नेतृत्व पश्चाताप गर्दै पतनको बाटो पक्रन्छ भन्ने उनको ठहर छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०७८ आइतवार - १८:१०:५४ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij