२०८२ भाद्र ११ गते बुधवार
बलेवा । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन् ।
बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि विस्तारै गति लिन थालेका छन् । महामारीको चपेटामा परेको पर्यटन क्षेत्रको विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारद्वारा विनियोजित कार्यक्रम सञ्चालनको चरणमा प्रवेश गरेका छन् ।
यस वर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले १३ वटा उद्यान निर्माणको काम गर्दैछ । यही पुसको १५ बितिसक्दा जिल्लाभर निर्माण हुने उद्यानमध्ये चार वटाको काम शुरु भएको छ । बाँकी उद्यानको नापजाँच र लगत अनुमान तयार गर्ने काम चलिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
जिल्लाभर छ वटा स्थानीय तहमा ११ वटा उद्यान र २ वटा विद्यालय तथा क्याम्पसमा हरियाली विकास कार्यक्रम चालू आर्थिक वर्षको लागि विनियोजित छन् । “उद्यान आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य हुन्, अन्य पर्यटकीय पूर्वाधारसँग जोडेर उद्यानको विकास गर्ने योजनामा छ” गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल भन्नुहुन्छ, “यो वर्ष पर्यटन क्षेत्रमा विनियोजित सबै बजेटको काम हुनेगरी प्रक्रिया थाल्न निर्देशन दिएका छौं ।”
ताराखोलामा दुईवटा उद्यान बन्ने छन् । शहीद उद्यान, ताराखोला र मोतीमोर बराह पर्यापर्यटन कार्यक्रमका लागि रु १०/१० लाख बजेट छ । मोतीमोर बराह पर्यापर्यटनको काम सम्झौता भएर शुरु भइसकेको कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले जानकारीदिनुभयो ।
जैमिनी नगरपालिकामा दश लाखमा दुईवटा उद्यान बन्नेछन् । पाकोट, हिलपार्क, जैदी र देवल मन्दिर क्षेत्र बिनामारेमा पर्यापर्यटनको कार्यक्रम सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको अमलाचौरमा शहीद पार्क, रामरेखामा बिपी स्मृति पार्क, नारायणस्थानमा हरियाली पर्यापर्यटन, रामरेखामा हरियाली उद्यान र कालापानी हरियाली उद्यान निर्माण हुनेछन् ।
बिपी स्मृति उद्यानका लागि पाँच लाख र अन्यमा दश लाख बजेट छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा हरियाली उद्यान बन्ने अधिकारीले बताए । त्यहाँ रु दश लाख बजेट खर्च हुनेछ । गलकोटमा भगत सर्वजित हरियाली उद्यान निर्माणका लागि ६ लाख ८३ हजार बजेट छ ।
जिल्लाभरका विद्यालयबाट प्रस्ताव मागेर पाँचवटा विद्यालयमा विद्यालय परिसर हरित प्रवद्र्धन कार्यक्रम र विद्यालय तथा कलेजमा हरियाली उद्यान निर्माणको कार्यक्रम सञ्चालन हुनेछन् । दुवै योजनाका लागि जम्मा रु २० लाख बजेट रहेको उहाँले बताउनुभयो । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत प्रदेशले उद्यान विकासका कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री लम्साल बताउनुहुन्छ ।
स्थानीय तहसँगको सहकार्यमा सबै योजनाको काम उपभोक्ता समितिले गर्नेछन् । हालसम्म डिभिजन वन कार्यालयमा रहेको तथ्याङ्कअनुसार चार वटा योजनाको मात्रै सम्झौता भएको छ । बाँकी योजनाको उपभोक्ता समिति गठन र योजना सम्झौताका लागि आवश्यक प्रक्रिया थालेको उहाँले जानकारी दिनुभयो । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij