२०८२ भाद्र ७ गते शनिवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिए ।
“हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरि शिक्षकका ३७ थरि माग सम्बोधनका लागि समिति गठन गरिएको छ”, उनले भने, “शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्दछ, अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना रहेको छ ।”
उनले दलहरु आन्तरिक निर्वाचनमा केन्द्रित भइसकेकाले मुलुक निर्वाचनमा जान लागेको बताउँदै सरकारको व्ययभार कम गर्न तिनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आफ्नो तर्क रहेको बर्ताए । राजनीतिक दलहरु आगामी स्थानीय, प्रदेश र सङ्घको निर्वाचनको तयारीमा केन्द्रित भएको उनको भनाइ छ ।
स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले शिक्षकका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको जानकारी दिए । उनले सञ्चारकर्मीका जिज्ञासामा बालविकास सहजकर्ताहरूलाई केही पालिकाले सरकारले तोकेको तलब नदिएको गुनासोमा पालिकाले अनिवार्य दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij