२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चार साताअघि ओमानले पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट २०२१ सुरु भएको थियो । त्यसयता ४४ खेल सम्पन्न भइसकेका छन् । त्यसमा ११ हजार १५३ रन बनिसकेको छ भने ४८५ विकेट गइसकेको छ । १६ देशबाट अब प्रतियोगितामा दुई देश बाँकी छन्, अष्ट्रेलिया र न्युजिल्यान्ड ।
आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा त्यही अष्ट्रेलिया र न्युजिल्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । न्युजिल्यान्ड आईसीसी ट्वान्टी–२० वरीयताको चौथो स्थानमा छ भने अष्ट्रेलिया छैटौँ स्थानमा छ ।
बितेका चार सातामा थुप्रै उतारचढाव देखिएको प्रतियोगितामा यही चौथो स्थानको न्यजिल्यान्ड र छैटौँ स्थानको अष्ट्रेलियाबीचको विजेताले उपाधि उचाल्नेछ, त्यो पनि पहिलोपटक । अष्ट्रे्लिया र न्युजिल्यान्डले जसले जिते पनि पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जित्नेछ ।
चार हप्ताअघि न्युजिल्यान्ड र अष्ट्रेलियाले उपाधिका प्रतिस्पर्धा गर्नेछन् भनेर कमैले सोचेका थिए । तर, सबैको अनुमानलाई माथ खुवाउँदै यी दुई छिमेकी टोलीले उपाधि भिडन्तसम्मको यात्रा तय गरेका छन् । अरूले अनुमान नगरे पनि खेलाडीले फाइनलको सपना नदेखेका होइनन्, अष्ट्रेलियाका कप्तान एरोन फिन्चले शनिबार ठ्याक्कै त्यही भने ।
‘‘यसबाट म कत्ति पनि अचम्मित भएको छैन,’’ फिन्चले भने, ‘‘हामी यहाँ प्रतियोगिताको उपाधि जित्ने स्पष्ट योजनासहित आएका थियौँ । हामी विश्वस्त छौँ कि हाम्रो टोली त्यसका लागि सक्षम छ ।’’
अष्ट्रेलियन टिममा भएको खेलाडीको सूचीले पनि कप्तानको विश्वासलाई पुष्टि गर्छ । अष्ट्रेलियन टोलीमा मिचेल स्टार्क, डेभिड वार्नर, पाट कुमिन्स, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ र स्वयं फिन्चजस्ता एकसे एक प्रतिभावान् र अनुभवी खेलाडी छन् ।
त्यसमाथि एडम जम्माजस्ता खेलाडीले खारिएको प्रदर्शन गरेका छन् । जसले जारी प्रतियोगितामा १२ विकेट लिइसकेका छन् । त्यो सुपर–१२ मा अरू बलरको भन्दा धेरै हो । जसका कारण अष्ट्रेलिया वरीयताको माथि रहेका र उपाधि दाबेदार मानिएका टोलीलाई हराउन सफल भयो ।
अष्ट्रेलियाको जस्तै केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्यान्डको हकमा पनि लागु हुन्छ । आईसीसीको प्रतियोगितामा न्युजिल्यान्डलाई कहिल्यै पनि बलियो दाबेदारका रूपमा हेरिँदैनथ्यो । तर, ‘डार्क हर्स’को रूपमा उदाएको न्युजिल्यान्ड अब स्वाभाविक रूपमा बलियो प्रतिद्वन्द्वी बनेको छ । पछिल्लो समय न्युजिल्यान्डले असाधारण प्रदर्शन गरेको छ । र नतिजा पनि निकालेको छ ।
२०१९ को एकदिवसीय विश्वकपमा फाइनल खेलेको न्युजिल्यान्डले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । र, अहिले २०२१ मा ट्वान्टी–२० विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दै छ । विलियम्सनले नेतृत्व गरेको यो टोलीले आफूलाई अब्बल साबित गरिसकेको छ । फेरि एकपटक आफू विश्व क्रिकेटका तीनै स्वरूपमा उत्तिकै अब्बल रहेको प्रमाण पेस गरेको छ ।
आज ट्रफ्री क्याबिनेटमा ‘सेतो बल’को प्रतियोगिताको उपाधि सजाउने अवसर विलियम्सन नेतृत्वको टोलीलाई छ । जसले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचालेका थिए । उनीहरूलाई धेरैले हराए, तर आज न्युजिल्यान्डसमक्ष अरूलाई हराउने अवसर छ । त्यसका लागि बहादुरी प्रदर्शनको अवश्यकता छ ।
न्युजिल्यान्डले चोटका कारण डेभोन कोनवेलाई गुमाउने भएको छ । उनको स्थान टिम सेइफर्टले लिने सम्भावना छ । उनले विकेटकिपरको जिम्मेवारी सम्हाल्नेछन् ।
न्युजिल्यान्डको सम्भावित टिम
मार्टिन गुप्टिल, डरेल मिचेल, केन विलियम्सन (कप्तान), टिम सेइफर्ट, ग्लेन फिलिप्स, जेम्स नीशम, मिचेल सन्टनर, टिम साउथी, एडम मिल्ने, ट्रेन्ट बोल्ट, इश सोधी ।
अष्ट्रेलियाको सम्भावित टिम
डेभिड वार्नर, एरोन फिन्च (कप्तान), मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, म्याथ्यु वेड, पाट कुमिन्स, मिचेल स्टार्क, एडम जम्पा, जोश हाजलेउड ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सन भन्छन्–
दुवै टोलीले सामूहिक रूपमा राम्रो प्रदर्शन गरेका छन् । एकले नखेले अर्कोले, अर्को नखेले अर्कोले राम्रो खेलिरहेका छन् । र, हामीले सेमिफाइनलमा पनि रोमाञ्चक प्रदर्शन गर्यौँ । दुवै सेमिफाइनल एक हदसम्म समान थिए । र, फाइनलमा पनि त्यस्तै कुनै एक क्षणमा भएको प्रदर्शनले खेलको नतिजा पनि फरक पार्न सक्छ ।
अष्ट्रेलियाका कप्तान एरोन फिन्च भन्छन्–
हामी यो प्रतियोगिताको उपाधि जित्ने स्पष्ट योजनासहित यहाँ आएका छौँ । हाम्रो टिममा त्यो क्षमता भएका खेलाडी पनि छन् । हरेक पोजिसनमा उत्तिकै राम्रा खेलाडी छन् । न्युजिल्यान्डले सबै आईसीसी प्रतियोगिताको फाइनल खेलिरहेको छ । उनीहरू राम्रो टोली हो । उनीहरू तीनै स्वरूपमा राम्रो क्रिकेट खेलिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij