Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यी हुन् नेपालले साफमा ऐतिहासिक उपलब्धि हासिल गर्नुका तीन कारण

यी हुन् नेपालले साफमा ऐतिहासिक उपलब्धि हासिल गर्नुका तीन कारण


  • 5.5K
    Shares

    यी हुन् नेपालले साफमा ऐतिहासिक उपलब्धि हासिल गर्नुका तीन कारण

    काठमाडौँ । नेपाल पहिलो पटक दक्षिण एशियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपमा उपविजेता बनेर फर्किएको छ ।

    कतिपयले नेपाललाई फाइनलसम्म पुर्‍याउन राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल(मुताइरीको रणनीतिले काम गरेको बताएका छन्।

    फुटबल विज्ञहरू भने कुशल प्रशिक्षणसँगै समग्र फुटबल क्षेत्रमा आएको सुधार पनि नेपालको राम्रो नतिजाका लागि महत्त्वपूर्ण कारक रहेको बताउँछन् । खेलाडी, खेल विश्लेषक र व्यवस्थापकका नजरमा नेपालको प्रदर्शनमा सुधार हुनुका प्रमुख तीन कारण यस्ता छन्:

    १) प्रशिक्षकको लगाव

    नेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा आएको सुधारमा कुवेती प्रशिक्षक अल(मुताइरीको योगदानको धेरैले प्रशंसा गरेका छन्।

    नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी सुजल श्रेष्ठ भन्छन्, “टिमलाई एउटा परिवार जस्तो बनाएर राख्न, खेलहरूमा उत्प्रेरित गर्न र हामीले गोल गर्न र जित्न सकिन्छ भन्ने विश्वास दिलाउन प्रशिक्षकले हामीलाई आँट दिलाए। पहिले हाम्रो टिमबाट मुस्किलले मात्रै गोल हुन्थ्यो भने अहिले गोल हुन थालेको छ।”

    साफ च्याम्पियनसिपको तयारी समितिका संयोजक समेत रहेका राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि प्रशिक्षक अलमुताइरीको रणनीतिले टिमको प्रदर्शन सुधारमा सहयोग पुर्‍याएको स्वीकार्छन्।

    उपाध्याय भन्छन्, “हामीले साफको तयारीका लागि वैशाखमै कार्ययोजना बनायौँ । प्रतिस्पर्धी टिमहरूसँग मैत्रीपूर्ण खेलको योजना बन्यो र खेलाडीहरूको बन्द प्रशिक्षणका लागि पनि पर्याप्त समय लिइयो। पहिला यस्तो तयारी हुँदैनथ्यो।”

    प्रशिक्षकको रणनीतिमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले सहयोग गरेको उपाध्यायले बताए। साफ च्याम्पियनशिपमा टिमसँगै यात्रा गरेका फुटबल पत्रकार हिमेश बज्राचार्य पनि “प्रशिक्षकले टिमलाई प्राविधिक सीपसँगै जोस भरिदिँदा नतिजा राम्रो आएको” बताउँछन्।

    बज्राचार्य भन्छन्, “प्रशिक्षकको नयाँ शैली, टिम प्रतिको लगाव र खेलाडीहरूको मनोबल उच्च गराउने प्रयत्नले राम्रो काम गरेको देखियो।”

    २) घरेलु लीगले बढाएको अभ्यास

    नेपालमा व्यावसायिक फुटबल लीग पनि सुरु भएको छ। नेपाल सुपर लीगजस्ता प्रतियोगिताहरूले नयाँ खेलाडी उत्पादन, उनीहरूको अभ्यासमा निखार र पहिचानमा सहयोग गरिरहेको जानकारहरूको भनाइ छ।

    उपाध्याय भन्छन्, “नेपाल सुपर लीगले पनि प्रशिक्षकहरूलाई खेलाडीहरू पहिचान गर्न र छान्न सहयोग गरेको छ।”

    दक्षिण एशियाको भारत र बङ्गलादेशमा सञ्चालन भइरहेका व्यावसायिक फुटबल लीगले राम्रो प्रगति गरिरहेका कारण नेपालको लीगलाई पनि थप व्यवस्थित र व्यावसायिक बनाउने दबाव उत्तिकै रहेको पत्रकार बज्राचार्य बताउँछन्।

    ३) खेलाडीमा आएको सुधार

    पछिल्लो समय नेपालको राष्ट्रिय टिममा पर्न खेलाडीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको जानकारहरू बताउँछन्।

    जसले खेलाडीहरूलाई आफ्नो जीवनशैली व्यवस्थित गर्न र खेल कौशलमा सुधार गरिरहन दबाव बढेको छ।

    फुटबल विश्लेषक बज्राचार्य भन्छन्, “यसअघि कतिपय खेलाडीहरू प्रतियोगिता नचलेको मौका पारेर शारीरिक तन्दुरुस्तीमा ध्यान नदिने बानी परेका पनि थिए।”

    “अहिले कतिपय खेलाडीहरूले खाना पनि हिसाब गरेर खाने अनुशासन पालना गरिरहेका छन् ।”

    प्रशिक्षक अलमुताइरीले प्राविधिक सीपसँगै राष्ट्रिय टोलीका हरेक खेलाडीहरूलाई आफ्नो भूमिकामा प्रदर्शन गर्न बानी लगाएका कारण टिमको प्रदर्शन राम्रो देखिएको उनी बताउँछन् । विविसी

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १२:४७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij