२०८२ भाद्र १ गते आइतवार
बिषयप्रवेश –
धर्मरत्न यमी नेपाली समाजमा बहुपहिचान बनाएका ब्यक्तित्व हुन् । जीवनको पहिलो चरणमा प्रजातन्त्रको लागि संघर्ष गरेका यमी राष्ट्रिय पञ्चायतमा पनि छिरे । १९९७ मै प्रजा परिषद काण्डमा गिरफ्तार भएर सर्वस्वहरणसहित पन्ध्र बर्ष जेल सजाय पाएका उनी २००२ सालमा जेलमुक्त भएका थिए । २००४ सालमा उनी नेपाल डेमोक्रेटिक कांग्रेसको संस्थापक सदस्य समेत भए । यस लेखमा चाहिँ हामी यमीको कविता संग्रह जीवन सरिताको संक्षिप्त चर्चा गर्नेछौं ।
साहित्यिक रूपमा नेपाल भाषा र नेपाली भाषा दुबैमा उहाँको योगदान रहेको छ । झन्डै निरक्षर यमीले जीवनकालमा स्वअध्ययन मार्फत कला, साहित्य, राजनीति, धर्म, दर्शन, जीवनपद्धतिको अध्ययनमा गहकिलो ब्यक्तित्व बनाए । राजनीतिक ब्यक्तित्वको सन्दर्भमा उनलाई द्वन्द्ववादी तरिकाले बुझ्नुपर्छ भन्ने लाग्छ । मूलतः त्यस समयको राजनीति र त्यसको बाछिटा उनको जीवनमा परेकै हो । तत् समयले उनको ब्यक्तित्व बनायो ।
जीवन सरिता कविता संग्रहमा ७४ वटा कविता छन् । यी कविताहरूमा बौद्ध दर्शनको छाप स्पष्ट देखिन्छ । राहुल साँकृत्यायनसँगको लामो बसउठ गरेका कारण बौद्ध दर्शनलाई बुझ्न र पर्गेल्न उनलाई सहयोग पुगेको हुन सक्छ । उनका कविताहरूले तत्कालीन समाजको जात प्रथा, लिङ्गीय विभेद, सामाजिक बिसङ्गती , समान्तवाद र त्यसको आडम्बरी चरित्रको खुलेर बिरोध गरेको पाइन्छ । उनी प्रतिबद्ध बामपन्थी त होइनन् तर समाज सुधार हुनुपर्छ भन्ने कुरामा उनी स्पष्ट देखिन्छन् । पञ्चायतलाई बुझ्ने सन्दर्भमा चाहिँ उनी दोकला छन् । कतै पञ्चायतलाई धुस्न गाली गरिएको छ , कतै पूर्ण समर्थन । यसैले जीवन सरिता कविता संग्रह बुझ्न हामीले द्वन्द्वात्मक तरिका अपनाउनु पर्छ ।
कविताको सन्दर्भ –
कविता संग्रहमा भुमिका लेख्दै बाबुराम भट्टराई भन्छन् कविको द्वन्द्वात्मक बिश्वदृष्टिकोण र क्रान्तिप्रतिको बिश्वासको सटिक नमूना उनका कवितामा पाइन्छ । भट्टराईले भनेजस्तो बिश्व दृस्टिकोणमा यमीको उति प्रष्टता छैन । प्रजातन्त्रप्रति चाहिँ उनी बिश्वास गर्छन् ।
पृष्ठ ४१ मा प्रजातन्त्र शीर्षकको छोटो कवितामा उनी यसरी प्रस्तुत हुन्छन् –
प्रजाका लागि प्रजातन्त्र
जनगणका लागि जनवाद हो
त्यसो भए त्यो सफल हुने हो
नत्र निकम्मा ठहर हुने हो
उनको यही चेतनाको कारण हुन सक्छ, गणेशमान सिंहले उनलाई हृदयका सच्चा प्रजातन्त्रवादी भनेका । यमीको जीवन बामपन्थको मार्गमा होइन प्रजातन्त्रको तृष्णामय बाटोतिर हिँड्दै बितेको हो । यस कविता संग्रहमा उनी त्यही भावमा प्रस्तुत भएका छन् :
इतिहास बोल्छ शीर्षकको कविताको एक टुक्रालाई हामी हेर्न सक्छौ ।
लिन पाए मात्र प्रजातन्त्र
दिनु पर्यो कि अप्रजातन्त्र
लिनुदिनु श्रममा पनि होस् समान
तब हुन्छ प्रजातन्त्र महान्
यस्ता भावमय प्रजातान्त्रिक चेतनाले प्रबिष्ट यमी बिश्वको क्रान्तिकारी आन्दोलनप्रती स्पष्ट छैनन् । अब त उठ्छ समवाद शीर्षकको कविताको टुक्रा –
च्याङ र माओ, जार र लेनिन
जर्मन ब्रीटिस औं अमेरिकन
अफगान , पाक , उनु र नेविन
लडाइँ झगडा गरिरहे किन
कतिपयले धर्मरत्न यमीलाई पञ्चायत पसेको मान्छेको रूपमा हेर्छन् । उनको एउटा कविता छ पञ्चायतीतन्त्र । यस कवितामा उनी पञ्चायतको चरीत्रमाथि आलोचनात्मक रूपमा प्रस्तुत भएका छन् । माटो सुहाउँदो ब्यबस्था भनिएको पञ्चायतले अराष्ट्रिय तत्व घोषणा गरेको सन्दर्भलाई यसरी प्रस्तुत गर्छन् –
अनि प्रगति र प्रजातन्त्रवादी
भारतका चीनका पक्षपाती
भए देश बेचुवा अराष्ट्रिय
घुस्याहा लुटाहा राष्ट्रिय
यही कविताको अर्को पङक्ती पनि हेरौं –
छुल्याहा, जँड्याहा र डाँका
भँडुवा, चोर राष्ट्रिय नेता
सेक्सन अफिसर इन्सपेक्टरमा
नबिकेको पत्तुर र लफङ्गा
अब हेरौं यिनको काम र कुरा
भनेको हुन्छ कि हुन्न पुरा
तिनले भने देश कृषिप्रधान
खुब बनाए देश निर्माण
चोखी ठिटी जुठो पारी
रक्सी पिइ कुखुरो काटी
खाइवरि भरी खल्तीमा दाम
आउनु भयो गाउँ फर्क अभियान
पञ्चायत चलेदेखी यता
तीन चार अर्व यता न उता
दाम भयो भन्छ हिनामिना
पच्चीस सालमा महालेखा
पञ्चायतकै हुर्मत लिएको यो कविता कहिले लेखियो होला ? कवितामा मिति उल्लेख छैन । राजनीतिक चेतना बोकेको यो कविता संग्रह उत्कृष्ट ब्यंङ्य कविता हो । यमीका कविताहरूमा समसामयिक चेतनाप्रति असहमति छ । उनको खुवी त्यसमा व्यंग्यात्मक रूपमा प्रस्तुत गर्नु पनि देखिन्छ । हेरौं एक नमुना –
पाठ र किर्तन गरी गराइ
धर्मको ढोल खुब पिटाइ
जात भात छुत अछुत गराइ
सङ्गुर सवाल उठाइ
साम्प्रदायिक भाव जगाइ
शोषण गरेर बिषमता उठाइ
राष्ट्रवादको बिगुल फुकाइ
समताको गति ढिलो पारी
(हाम्रो कुरै भब्य पेज ७७)
उनका कवितामा मानवतावादी सोच, सामाजिक नैतिकता, उद्दात प्रकृतिप्रेम, माया, ममता र मानवीय प्रेमको उपस्थित छ ।
शब्द चयनमा उनले आफुलाइ थोरै क्लिस्ट पार्न खोजेको देखिन्छ । एक नमुना हेरौ –
ल्हासाको पेलिङ लिङ्खामा
हिमाली पिपलको छायामा
वासन्तिक मधुमय हावामा
हिसिला भेटेछु अचानकमा
फूल ममा छ तर सुगन्ध छैन
दुःख छ कतै दर्द छैन
सुख छ कतै शान्ति छैन
हृदय छ तर धुकधुकी छैन
( प्रेमको एकात्मता पेज १४)
र अन्तमा –
कवि धर्मरत्न यमीको समसामयिक चेत अब्बल छ । बुद्धको नास्तिकतावाददेखी स्वछन्द प्रेमभाव, मानवतावाद, प्रजातान्त्रिक चेतना, जनक्रान्ती, प्रकृतिप्रेम, राष्ट्रप्रेम आदी भावमा उनका कविता सलल बगेका छन् । समग्रमा नेपाल भाषा र नेपाली भाषामा यमीले दिएको योगदानलाई स्मरणीय बनाउन जीवन सरिता कविता संग्रहले प्रमुख भुमिका खेल्न सक्छ भन्ने लाग्छ ।
कमरेड हिसिला यमीले उहिल्यै पढ्नु भनेको यस कविता संग्रह भर्खरै पढें । भृकुटीमण्डपको सेकेन्ड हेण्ड किताब पसलमा तपाईं लाई काम लाग्ने किताब भन्दै मलाई पुस्तक उपलब्ध गराउने आदरणीय नारायण सरप्रति फेरि पनि आभार !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij