Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन   

मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन   


  • 4.9K
    Shares

    मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन   

    हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ ।    
        
    बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ । अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त भएको चामे गाउँपालिका–४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताउनुभयो । “बाढीपहिरापछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौँ, घर बाढीपहिराले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ । गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ । यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो । एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो”, उहाँले भन्नुभयो, “यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन । राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन् ।”    
        
    उहाँले पुनः थप्दै भन्नुभयो, “न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले । अहिलेसम्म जसोतसो चलिरहेको छ । बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारले कुनै चासो देखाएन । सरकार नै नभएको महसुस भएको छ ।” आफैँले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ । यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन् । सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन् ।    
        
    यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरापीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताउनुभएको छ । बाढीपहिरापीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पनि बाढीपहिरापीडितलाई छुट्याएका छैनौँ । व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौँ । जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ । व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन । सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौँ ।”    
        
    गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले अर्बौँको भौतिक क्षति पु¥याएपछि यतिबेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ । नासों, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुवैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।रासस 

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १२:३१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij