२०८२ भाद्र २ गते सोमवार
काठमाडौ । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताएका छन्।
‘७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन भनिएको हो’, उनले भने। धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थनप्राप्त १४९ जना दलका नभई सभाका सदस्य रहेको उनले बताए।
बहस गर्दै वरिष्ठ अधिवक्ता यादवले सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने जिकिर गरेका हुन् । रिट निवेदक देउवाको तर्फबाट बहसमा भाग लिएका यादवले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरेका हुन् ।
यादवले भने, ‘पटक-पटक संविधानविरोधी काम प्रधानमन्त्रीबाट भएको छ । पटक-पटक संसद विघटन भैरहनुले दुराशयको कुरा उठ्छ । संविधानप्रति बारम्बार प्रहार गर्ने काम भयो । त्यसैले परमादेश दिनुपर्छ । प्रधानमन्त्रीमा देउवाको दावी पुगेको छ ।’
यादवले बहुमत सांसदको हस्ताक्षर भन्दा बलियो दावी अरु हुन नसक्ने भन्दै देउवालाई अदालतबाटै प्रधानमन्त्रीको पदमा नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने बताए । उनले प्रधानमन्त्री नियुक्तिका लागि सांसदहरू स्वतन्त्र हुने भन्दै दलीय ह्वीप नलाग्ने दावी गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij