२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशका विभिन्न १० वटा निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ ।
प्राप्त तथ्यांकअनुसार नेकपाका तर्फबाट सबैभन्दा धेरै मतसहित रूकुम पूर्वमा संयोजक पुष्प कमल दाहाल ’प्रचण्ड’ ले अग्रता लिइरहेका छन्। उनले ८ हजार ७ सय ४७ मत प्राप्त गर्दै फराकिलो लिड गरेका हुन्। यसैगरी, कालिकोट क्षेत्र नम्बर १ मा महेन्द्र बहादुर शाहीले ६ हजार ८ सय ८३ मतसहित आफ्नो अग्रस्थान सुरक्षित राखेका छन् ।
त्यस्तै, कैलाली क्षेत्र नम्बर ३ मा विरमान चौधरी १ हजार ८ सय १५ मतका साथ अगाडि छन् भने कपिलवस्तु क्षेत्र नम्बर २ मा बृजेश कुमार गुप्तले १ हजार ३ सय ९८ मत ल्याएर अग्रता कायम गरेका छन्। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा दिन नाथ गौतमले १ हजार ३ सय ४१ मत र धादिङ क्षेत्र नम्बर २ मा राम बहादुर भण्डारीले १ हजार १ सय ४४ मतसहित आ–आफ्नो निर्वाचन क्षेत्रमा सुरुवाती अग्रता लिइरहेका छन्। उता सल्यान क्षेत्र नम्बर १ मा रमेश कुमार मल्लले १ हजार ८६ मतसहित अग्रता बनाएका छन् ।
हजार मतभन्दा तलको प्रतिस्पर्धा भइरहेका क्षेत्रमा पनि नेकपाका चर्चित नेताहरूले अग्रता लिइरहेका छन् । अछाम क्षेत्र नम्बर १ मा भीम बहादुर रावल ९ सय ५२ मत र रोल्पा क्षेत्र नम्बर १ मा वर्षमान पुन ६ सय ५८ मतका साथ पहिलो स्थानमा देखिएका छन् । यसैगरी, दोलखा क्षेत्र नम्बर १ मा विशाल खड्काले २ सय ८४ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij