Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

आयात–निर्यात

चार महिनामा पेट्रोलियम पदार्थको आयात १ खर्ब ५७ अर्ब, खाने तेल निर्यातमा अग्रस्थानमा

चार महिनामा पेट्रोलियम पदार्थको आयात १ खर्ब ५७ अर्ब, खाने तेल निर्यातमा अग्रस्थानमा

images

  • 351
    Shares

    चार महिनामा पेट्रोलियम पदार्थको आयात १ खर्ब ५७ अर्ब, खाने तेल निर्यातमा अग्रस्थानमा
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ भने निर्याततर्फ खाने तेल तथा तेलजन्य पदार्थ अग्रस्थानमा देखिएका छन्।

    भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको तथ्यांकअनुसार नेपालले यस अवधिमा कुल ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यसमध्ये खनिज इन्धन अर्थात् पेट्रोलियम पदार्थको हिस्सा मात्रै १९.६२ प्रतिशत रहेको छ।

    चार महिनामा १ खर्ब ५७ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागले जनाएको छ। दोस्रो स्थानमा खाने तेल तथा तेलजन्य पदार्थ रहेका छन्। यस अवधिमा ८० अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बराबरको यस्तो वस्तु आयात भएको छ।

    त्यस्तै, ६७ अर्ब २८ करोड ८१ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ। बोइलर, मेसिनरी तथा यान्त्रिक उपकरण ५२ अर्ब ३१ करोड १३ लाख र फलाम तथा स्टिल ४९ अर्ब ३३ करोड ९ लाख रुपैयाँ बराबरको आयात भएका छन्।

    निर्याततर्फ भने खाने तेल तथा तेलजन्य पदार्थ सबैभन्दा अगाडि देखिएका छन्। चार महिनामा नेपालले कुल १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। त्यसमध्ये पशु वा वनस्पति बोसो तथा तेलजन्य वस्तुको हिस्सा ५१.३५ प्रतिशत रहेको छ।

    यस अवधिमा ६८ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको खाने तेल तथा तेलजन्य पदार्थ निर्यात भएको छ। दोस्रो स्थानमा मानवनिर्मित स्टेपल फाइबर अर्थात् कृत्रिम धागो तथा कपडाजन्य सामग्री रहेका छन्। यसको निर्यात ५ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ बराबरको भएको छ।

    त्यसैगरी, कफी, चिया तथा मसलाजन्य वस्तु ५ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। गलैँचा तथा भुइँ ओछ्याउने कपडाजन्य वस्तुको निर्यात ४ अर्ब ३६ करोड १३ लाख र खाद्य उद्योगका अवशेष तथा पशुपन्छीको दाना ४ अर्ब १८ करोड ५ लाख रुपैयाँ बराबरको रहेको छ।

    विभागको तथ्यांकअनुसार नेपालबाट फलाम तथा स्टिल, जुटजन्य वस्तु र तयारी पोसाकसमेत उल्लेख्य मात्रामा निर्यात भएका छन्।

    यसरी चालु आर्थिक वर्षको पहिलो चार महिनाको व्यापार तथ्यांकले नेपालको आयातमा पेट्रोलियम पदार्थ र निर्यातमा खाने तेल तथा तेलजन्य वस्तुको हिस्सा सबैभन्दा ठूलो रहेको देखाएको छ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १४:५५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij