२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको ईभी दुर्घटनामा चालकको थकान र क्षमताभन्दा बढी यात्रु बोक्नु मुख्य कारण रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन बुझाउँदै दुर्घटनाका कारण सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार चालकले करिब ४८ घण्टा ४५ मिनेटको अवधिमा ३३ घण्टा ४५ मिनेट सवारी चलाएका थिए। यस अवधिमा उनले १५ घण्टा मात्र आराम पाएका थिए। लगातारको थकान र निद्राको कमीले चालकको निर्णय क्षमता तथा एकाग्रतामा असर पारेको हुन सक्ने समितिको निष्कर्ष छ।
त्यस्तै, ११ जना यात्रु बोक्ने क्षमता भएको ईभीमा चालकसहित २० जना सवार रहेको पाइएको छ। सडकको भौगोलिक बनावट, तीखा घुम्ती र पर्याप्त सुरक्षा बार तथा चेतावनी संकेतको अभावलाई पनि दुर्घटनाका कारण मानिएको छ।
समितिले पीडित परिवारलाई विशेष राहत प्याकेज उपलब्ध गराउन, चालकको कार्यअवधि र विश्रामसम्बन्धी मापदण्ड बनाउन तथा जोखिमयुक्त सडकमा सुरक्षा संरचना थप्न सरकारलाई सुझाव दिएको छ।
गत कात्तिक २६ गते भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij