Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

स्थानीय तह र प्रदेशको निर्वाचन

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे दलहरूबीच सहमति खोजिँदै

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे दलहरूबीच सहमति खोजिँदै


  • 309
    Shares

    • images
    स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्नेबारे दलहरूबीच सहमति खोजिँदै

    काठमाडौं । स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने विषयमा राजनीतिक दलहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने भएका छन्।

    शुक्रबार निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलका नेता र आयोगका पदाधिकारीबीच भएको छलफलमा निर्वाचनको मिति र प्रक्रियाबारे राजनीतिक सहमति खोज्ने विषयमा कुराकानी भएको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलका अनुसार स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्न सम्भव छ वा छैन भन्ने विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्किएको छैन।

    उनले यस विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर सहमति जुटाउने र सोहीअनुसार निर्वाचन आयोगलाई सुझाव दिने समझदारी बनेको जानकारी दिए।

    छलफलमा आगामी निर्वाचनका राजनीतिक, कानुनी, आर्थिक तथा प्राविधिक पक्षबारे पनि चर्चा भएको थियो। आयोगले मतदाता नामावली अद्यावधिकलगायत निर्वाचन तयारीका विषयमा दलका नेताहरूलाई जानकारी गराएको थियो।

    आयोग निर्वाचन गराउन तयार रहेको तर त्यसका लागि राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको खरेलले बताए।

    त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने तथा अन्तरजिल्ला मतदानको विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

    स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा भने राजनीतिक सहमतिपछि मात्रै टुंगो लाग्ने देखिएको छ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १४:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij