Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

आज दिनभरको ३५ खबर एकै ठाउँमा

आज दिनभरको ३५ खबर एकै ठाउँमा


  • 78
    Shares

    आज दिनभरको ३५ खबर एकै ठाउँमा
    images

    १. सरकारलाई सशस्त्र प्रहरी बलको सुझावः बाढी–पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणमा ‘फ्लड लाइन’ भन्दा माथि बस्ती बसाउने गरी होस्

    सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोवास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले यस्तो सुझाव दिनुभएको हो ।

    २. विपद् प्रभावितका लागि राहत र दीर्घकालीन पुनर्निर्माणमा प्रविधिको प्रयोग गर्न सांसदहरूको जोड

    सांसदहरूले विपद्पीडितको तत्काल उद्धार, राहत वितरण र दीर्घकालीन पुनस्र्थापनाका लागि प्रविधिको प्रयोगमा जोड दिएका छन् । उनीहरूले रसुवा र नुवाकोटका दुर्गम क्षेत्रमा देखिएको मानवीय संकट टार्न सरकारसँग ठोस कार्ययोजना माग गरेका हुन् । शुक्रवार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद तथा विपद् जोखिम न्युनिकरणका जानकार डा. अर्जुन कार्कीले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत वितरण र दीर्घकालीन पुनर्निर्माणका लागि प्रविधिको प्रयोगमा जोड दिनुभयो ।

    ३. विपद् प्रभावितका लागि बस्ती स्थानान्तरण र राहतको तयारी तिब्रः नापी विभागको नेतृत्वमा ४४ स्थान छनोट

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्बाट प्रभावित नागरिकको पुनस्र्थापना र राहत कार्यलाई तिब्रता दिएको छ । प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलकाअनुसार विपद् प्रभावित क्षेत्रको अध्ययन गरी हाल ४४ वटा सुरक्षित स्थानको पहिचान गरिएको छ भने प्रभावितहरूलाई दीर्घकालीन रूपमा बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले विपद्का कारण विस्थापित र समस्यामा परेका नागरिकका लागि विशेष राहत प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ ।

    ४. विपद् प्रभावितका लागि एकीकृत राहत र पुनर्निर्माणमा जोड दिन संसदीय विशेष समितिद्वारा अल्पकालीन सुझाव पेश

    हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद् अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद् प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ । रोल... 
    समितिका सचिव डा. रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली, पीडितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकारसमक्ष पेश गर्नुपर्ने बताउनुभएको हो । शुक्रवार सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद् व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको छ । समितिको प्रतिवेदनमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तहमा समन्वय अधिकारीहरू सक्रिय बनाउनुपर्ने उल्लेख छ । हाल देखिएका राहत वितरणका दोहोरोपन हटाउन पीडितको वास्तविक विवरणलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडेर एकीकृत डाटाबेस तयार पार्न समितिले जोड दिएको छ । 
    पारदर्शिताका लागि राहत रकम पीडितको बैंक खातामा प्रत्यक्ष पठाउने व्यवस्था मिलाउन र स्थानीय स्तरमै द्रुत गुनासो सुनुवाई संयन्त्र स्थापना गर्न समितिले सुझाएको छ । बेपत्ता व्यक्तिहरूको खोजीका लागि भइरहेको प्रयासलाई तिब्रता दिँदै शव पहिचानका लागि डीएनए परीक्षणलाई द्रुत बनाउन आग्रह गरिएको छ । साथै, विद्यमान कानुनमा बेपत्तालाई मृत घोषणा गर्न वर्षौँ कुर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई अध्यादेशमार्फत तत्काल सम्बोधन गरी कानुनी प्रक्रिया छोटो बनाउन समितिले सरकारको ध्यानाकर्षण गराएको छ । 
    विपद्ले नष्ट गरेका नागरिकता, जग्गाधनी प्रमाणपुर्जा र शैक्षिक प्रमाणपत्रहरू निःशुल्क पुनःप्राप्तिका लागि ‘एकद्वार प्रणाली’ अपनाउन समितिले सुझाव दिएको छ । आश्रयस्थलमा रहेका नागरिकहरूको तथ्याङ्क प्रमाणीकरण र उनीहरूको सीपअनुसारको स्थायी पुनःस्थापनाका लागि ठोस कार्ययोजना आवश्यक रहेको समितिको निष्कर्ष छ । विशेषगरी चिसो मौसम र चाडपर्वलाई मध्यनजर गर्दै आश्रयस्थलमा न्यानो कपडा, स्वास्थ्य र पोषणयुक्त खाद्यान्नको प्रबन्ध मिलाउन समितिले जोड दिएको छ । 
    बाइट...डा. रोजनाथ पाण्डे, सचिव, हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति 
    भौतिक पूर्वाधार पुनर्निर्माणका सम्बन्धमा समितिले सडक विभाग र नेपाली सेनाको तत्परताको प्रशंसा गर्दै सडक र पुलको पुनर्निर्माणलाई ‘युद्धस्तर’मा लैजानुपर्ने जनाएको छ । गल्छी–स्याफ्रुबेँसी र पृथ्वी राजमार्गका जोखिमपूर्ण खण्डहरूको भूगर्भविद् र इन्जिनियरहरूद्वारा प्राविधिक परीक्षण गर्न समितिले सरकारलाई सुझाव दिएको छ । बाढीले भत्काएका पक्की पुलहरूको स्थानमा बेली ब्रिज वा झोलुङ्गे पुल तत्काल जडान गरी सडक सम्पर्क पुनःस्थापित गर्नुपर्ने समितिको सुझाव छ । –न्युज एजेन्सी नेपाल

    ५. लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आवद्ध भएँः भण्डारी
    नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनुभएको छ । रोल...
    शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताउनुभएको हो । भण्डारीको भनाइ उद्धृत गर्दै पार्टीकी सचिव पद्या अर्यालले भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा मडराइरहेकाले पार्टीमा आवद्ध भएको जिकिर गर्नुभएको बताउनु भयो । अर्यालकाअनुसार भण्डारीले लोकतन्त्रको रक्षा लोकतन्त्र ल्याउने राजनीतिक दलहरुले नै गर्नुपर्ने भन्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि धेरै योगदान गरेकाले पार्टीमा आवद्ध भएर लोकतन्त्रलाई अझै सुदृढ बनाउने चाहना रहेको बताउनुभएको जानकारी दिनुभयो ।
    अर्यालले भन्नुभयो, ‘आजको बैठकमा मूलभुत रुपमा पार्टीको केन्द्रिय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरुको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धी बैठकका स्थायी कमिटीका सदस्यहरुले आफ्नो सुझावहरु प्रकट गर्नुभयो । बैठक समापन हुनुपूर्व पार्टीका वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब ११ वर्षपछि आफू पार्टी जीवनमा फर्किएको र आजको मुलुकमा जुन लोकतन्त्र र संविधानप्रति जुन खतरा देखिरहेको छ, यसको रक्षा गर्ने भनेको जसले लोकतन्त्र ल्याए तिनै राजनीतिक दलहरुले नै यसको रक्षा गर्ने हो । म पनि त्यो आन्दोलनमा सरिक भएँ, त्यसप्रतिको आघात माया र विश्वास छ, पार्टीमा आवद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्नसक्छु भन्ने मनशायका साथ पार्टीको जीवनमा फर्किएको कुरा बताउनु भयो ।’
    बाइट...पद्या अर्याल, सचिव, नेकपा एमाले
    बैठकमा पार्टीको केन्द्रिय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरुको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धी बैठकका स्थायी कमिटीका सदस्यहरुले आफ्नो सुझावहरु प्रकट गरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल


    ६. मन्त्रिपरिषद्को निर्णयः विटौरी जग्गा दर्ताका लागि समिति गठन, एशियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार
    सरकारले विटौरी जग्गामा बसोवास गर्दै आएका नागरिकहरूको हक सुरक्षित गर्न समिति गठन गर्ने निर्णय गरेको छ । रोल... 
    शुक्रवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाकाअनुसार सरकारले लामो समयदेखि विटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने प्रक्रियालाई सहज बनाउन ‘विटौरी जग्गामा बसोवास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ । आर्थिक क्षेत्रमा सरकारले नेपालको भूकम्पीय जोखिम व्यवस्थापनका लागि विश्व बैंकसँग सम्झौता अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वन’ सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । खेलकुद क्षेत्रको प्रोत्साहनका लागि सरकारले जापानको आइची नागोयामा सम्पन्न २० औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसले राष्ट्रिय गौरव बढाउने खेलाडीहरूको मनोबल उच्च राख्ने अपेक्षा गरिएको छ । 
    उहाँले भन्नुभयो, ‘विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वनसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने । 
    बिटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने । 
    जापानको आइची–नागोयामा आयोजित २० औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने । 
    नेपाल न्याय सेवाको सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।’
    प्रशासनिक क्षेत्रमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरिएको छ । बढुवासँगै उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । –न्युज एजेन्सी नेपाल

    ७. बाढी प्रभावित क्षेत्रमा ‘प्रो–एक्टिभ पुलिसिङ’ः पुनर्निर्माणका लागि भू–उपयोग नीतिको आवश्यकता
    नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोईरालाले बाढी प्रभावित क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि ‘प्रो–एक्टिभ पुलिसिङ’ (सक्रिय प्रहरी परिचालन) शुरु गरिएको बताउनुभएको छ । रोल... 
    हाल होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूको सुरक्षा र मनोसामाजिक स्वास्थ्यमा विशेष ध्यान दिँदै उहाँले भविष्यमा बाढीको जोखिम न्युनिकरणका लागि भू–उपयोग नीतिअनुसार बस्ती र सरकारी संरचनाको पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभएको हो । डीआईजी कोईरालाकाअनुसार हाल होल्डिङ सेन्टरहरूमा बस्ने नागरिकहरूको संख्या क्रमशः घट्दो क्रममा रहे पनि त्यहाँ हुन सक्ने सम्भावित अपराध नियन्त्रणका लागि सुरक्षाकर्मीहरू सक्रिय छन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षाका लागि महिला प्रहरीको टोली नै खटाइएको उहाँले जानकारी दिनुभयो । प्रभावितहरूका लागि मनोसामाजिक परामर्श सेवा अनिवार्य रहेको बताउँदै उहाँले विगतका अनुभवहरूबाट सिकेर थप प्रभावकारी सेवा प्रवाहमा प्रहरी जुटेको स्पष्ट पार्नुभयो । 
    रसुवा बाढीबाट भएको क्षतिबारे चर्चा गर्दै उहाँले प्रहरीका ६ वटा भवनहरूमा पूर्ण रूपमा क्षति पुगेको उल्लेख गर्नुभयो । दीर्घकालीन समाधानका लागि उहाँले सरकारलाई ‘भू–उपयोग नीति’ कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो । जोखिमयुक्त नदी किनार वा बाढीको उच्च सम्भावना भएका स्थानमा बस्ती बसाल्ने कार्य निरुत्साहित गर्दै वैज्ञानिक तवरले जग्गा वर्गीकरण गरी सुरक्षित स्थानमा मात्रै पुनःस्थापना र पुनःनिर्माणको काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । 
    उहाँले भन्नुभयो, ‘होल्डिङ सेन्टरमा अहिले करिब एक हजार व्यक्ति रहेका छन् र संख्या क्रमशः घट्दै गएको छ । त्यहाँ हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सक्रिय प्रहरी परिचालन गरिएको छ । महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको सुरक्षाका लागि महिला प्रहरीसमेत खटाइएको छ । साथै, प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन आवश्यक छ । दीर्घकालीन पुनस्र्थापनाका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ। बाढीको जोखिम क्षेत्रभन्दा माथि सुरक्षित स्थानमा बस्ती बसाल्ने तथा सरकारी कार्यालय र भवनहरू पनि जोखिम क्षेत्रबाट टाढा निर्माण गर्ने व्यवस्था गर्नुपर्छ । यसपटक बाढीमा तीनवटा भवन पूर्ण रूपमा क्षति भएका छन् । त्यसैले भू–उपयोग नीतिअनुसार सरकारी भवन तथा निजी आवासको वर्गीकरण गरी सुरक्षित स्थानमा निर्माण गर्ने व्यवस्था गर्न आवश्यक छ । पुनस्र्थापना र पुनर्निर्माणका कामलाई अल्पकालीन तथा दीर्घकालीन योजनाअनुसार व्यवस्थित रूपमा अघि बढाउन आग्रह गर्दछु ।’
    बाइट...सुदर्शनप्रसाद कोईराला, प्रहरी नायव महानिरीक्षक (डीआईजी), नेपाल प्रहरी
    छोटो र लामो अवधिका योजनामार्फत प्रभावितहरूको जीवनस्तर सुधार र सुरक्षित बसोबास सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

    ८. पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन, दोषीमाथि कारबाहीको प्रतिवद्धता
    पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रोल... 
    उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रवार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरबाट खस्दा ५ जनाले ज्यान गुमाएका छन् । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घटनालगत्तै उद्धार कार्य शुरु गरिए पनि ५ जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।  
    दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहनुभएको छ । उक्त समितिलाई ५ दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मेयर आचार्यले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । 
    घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले भन्नुभयो, ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो । छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ ।’
    बाइट...धनराज आचार्य, मेयर, पोखरा महानगरपालिका
    यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भएपनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ । विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्डको पालना भए–नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताउनु भयो । प्रतिवेदन प्राप्त भएपछि दोषीउपर कडा कारबाही प्रक्रिया अघि बढाउने महानगरको तयारी छ । –न्युज एजेन्सी नेपाल

    ९.पोखरामा कालिका बोर्डिङको बस दुर्घटनाः पाँच जनाको मृत्यु
    कास्कीको पोखरा महानगरपालिका–२८ माझथानास्थित ओख्लेभीरमा शुक्रवार बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । रोल... 
    शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको उक्त बस विद्यार्थी तथा अन्य यात्रु लिएर पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्कने क्रममा ओख्लेभीर भन्ने स्थानमा सडकबाट खसेर दुर्घटनामा परेको थियो । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार कार्य अघि बढाउँदै घाइतेहरूलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएका थिए । दुर्घटनास्थलबाट उद्धार गरी ल्याइएका कुल १७ जनामध्ये पाँच जनालाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनामध्य एकको अवस्था गम्भीर रहेकाले उनलाई आईसीयूमा राखेर सघन उपचार गरिँदैछ । बाँकी घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले पुष्टि गरेको छ । –न्युज एजेन्सी नेपाल

    १०. नेपाली काँग्रेसको १५ औँ महाधिवेशनः मतदान प्रक्रिया शुरु, आजै मतगणना गर्ने तयारी
    नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि शुक्रवार बिहानैबाट मतदान शुरु भएको छ । रोल... 
    प्राविधिक तयारी र प्रतिकूल मौसमका कारण बिहीवार स्थगित गरिएको मतदान प्रक्रिया शुक्रवार बिहानबाट सुचारु भएको हो । करिव ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा लामवद्ध भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार मतदान आज अपराह्न ३ बजेसम्म जारी रहनेछ । मतदानलाई व्यवस्थित बनाउन सातवटा प्रदेश र विभिन्न समूहका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । गण्डकी प्रदेशका प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेर शुरु भएको मतदान प्रक्रियालाई पारदर्शी बनाउन निर्वाचन समितिले कडा सुरक्षा र आचारसंहिता लागू गरेको छ । 
    निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काकाअनुसार मतदाताको सहजता र सुरक्षालाई मध्यनजर गर्दै मतदानको समय सारिएको हो । मतपत्रको संख्या ठूलो भएकाले ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । यस्तै स्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र नामावली अनिवार्य रूपमा रुजु गरिनेछ । महाधिवेशन एक दिन लम्बिएपछि उत्पन्न हुनसक्ने खर्चको भारलाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापन समितिले शुक्रवारको आवास र खाना खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरेको छ । यसले प्रतिनिधिहरूमा थप उत्साह थपेको छ । १५ औँ महाधिवेशनमार्फत काँग्रेसले विधान संशोधन गरी २९७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चुन्न लागेको हो । मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा व्यवस्थापन गरी आजै मतगणना शुरु गर्ने समितिले तयारी गरेको छ । सभापतिलगायतका पदाधिकारीमा कडा प्रतिष्पर्धा रहेकाले यसपटकको महाधिवेशनको नतिजालाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।–न्युज एजेन्सी नेपाल

    ११. दशैँ–तिहार लक्षित बजार अनुगमनः काठमाडौं महानगरद्वारा बागबजारका पसलमा छापा
    विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्री नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अनुगमन अभियानलाई तिब्रता दिएको छ । रोल... 
    सोही क्रममा शुक्रवार महानगरको टोलीले बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक अनुगमन गरेको हो । चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने र सोही मौका छोपी अस्वस्थ प्रतिष्पर्धा गर्ने प्रवृत्तिलाई रोक्न महानगरले अनुगमनको दायरा फराकिलो बनाएको हो । बागबजारका पसलहरूमा पुगेको महानगरको टोलीले खाद्यान्नको गुणस्तर, मूल्य सूची, र म्याद सकिएका सामग्रीहरूको अवस्थाबारे स्थलगत जाँच गरेको थियो । अनुगमनका क्रममा महानगरले व्यापारीहरूलाई उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न र तोकिएको मूल्यभन्दा बढी मूल्य नलिन सचेत गराएको छ । चाडपर्वमा उपभोक्ताहरू ठगिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले यस्तो कदम चालेको जनाएको छ । महानगरका अधिकारीहरूकाअनुसार अनुगमन टोलीले विशेषगरी दैनिक उपभोग्य वस्तुको शुद्धता, भण्डारण अवस्था र लेबलमा हुने त्रुटिहरूलाई केन्द्रित गरेको छ । नियमविपरित पाइएका पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने बारम्बार लापरबाही गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । यो अभियान दशैँ, तिहार र छठसम्मै निरन्तर जारी रहने महानगर स्रोतले जनाएको छ । –न्युज एजेन्सी नेपाल

    १२. चाडबाड लक्षित सुरक्षाः पोखराका नाकाहरूमा कुकुरसहितको छड्के जाँच 
    नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ । रोल...
    आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध ओसारपसार रोक्ने उद्देश्यका साथ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक (सप्र्राइज) जाँचलाई तिब्र बनाएको हो । पोखरा अन्य जिल्लाहरूसँग जोड्ने प्रमुख ट्रान्जिटका रूपमा रहेको हुनाले चाडबाडको मौका छोपी हुनसक्ने गैरकानूनी गतिविधि रोक्न प्रहरीले उच्च शतर्कता अपनाएको छ । यसै सिलसिलामा पोखरा महानगरपालिका–२५, हेम्जास्थित सुइखेतमा विशेष सुरक्षा जाँच गरिएको छ । उक्त जाँच अभियानमा गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ । कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानकाअनुसार यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र कुनैपनि आपराधिक घटना हुन नदिन यो अभियान सञ्चालन गरिएको हो । 
    जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी पोखराका विभिन्न संवेदनशील क्षेत्रमा यस्तो जाँच भइरहेको छ । चाडपर्वको अवधिभर यो आकस्मिक सुरक्षा अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । नागरिकलाई निर्धक्क भई यात्रा गर्न र सुरक्षा निकायलाई सहयोग पु¥याउन प्रहरीले आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल

    १३. काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२, भङ्गालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रोल... 
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा छापा मार्दै करिव ५४ करोड ६० लाख रुपैयाँ बराबरको २१ किलो ७५० ग्राम सुन र प्रशोधनका लागि प्रयोग हुने मेसिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पक्राउ परेकाहरूमा हान फेइ, झोउ लोङ कुइन र वाङ ज्याङ जेन रहेको बताउनु भयो । उनीहरूले बुढानिलकण्ठस्थित एक घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिई अवैध सुन प्रशोधन कारखाना सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ । 
    प्रहरीकाअनुसार बरामद गरिएको सुन बिस्कुट र लेसिलो (पेस्ट) अवस्थामा छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षणबाट सो धातु सुन नै भएको पुष्टि भएको छ । पक्राउ परेकाहरूको साथबाट सुन तौलने तराजु, प्रशोधन गर्ने मेसिन, विभिन्न आकार दिने मोल्डिङ उपकरण, नगद (नेपाली र चिनियाँ), मोबाइल, सिमकार्ड तथा एटीएम कार्डहरू पनि बरामद गरिएको छ । 
    प्रारम्भिक अनुसन्धानले यो गिरोह चीनमा रहेका ‘जेन जिया ल’ नामक व्यक्तिको निर्देशनमा सञ्चालित रहेको देखाएको छ । मुख्य योजनाकार मानिएका सु क्यानले घर भाडामा लिएर चीन फर्केपछि अन्य व्यक्तिहरूलाई नेपाल पठाएको र उनीहरूले ‘वी–च्याट’ मार्फत निर्देशन लिँदै सुन प्रशोधन र ओसारपसार गर्ने गरेको पाइएको छ । गिरोहले कच्चा सुनलाई केमिकलको प्रयोगबाट विभिन्न आकारमा ढाल्ने गरेको प्रहरीको भनाइ छ । 
    बाइट...सन्तोष खड्का, प्रहरी वरिष्ठ उपरीक्षक
    प्रहरीले गाडीमा डेलिभरीका लागि लैजान लागिएको अवस्थामा समेत केही सुन बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिकहरू असोज महिनाको विभिन्न मितिमा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । –न्युज एजेन्सी नेपाल

    १४. काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै महानगरः अमूर्त सम्पदा संरक्षणमा जोड
    काठमाडौं महानगरपालिकाले आफ्नो अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सम्यक महादान’ कार्यक्रमलाई पुनर्जीवित गर्ने भएको छ । रोल...
    महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भौतिक संरचनाको पुनर्निर्माणसँगै त्यसको मर्मका रूपमा रहेका अमूर्त परम्पराहरूको निरन्तरता अपरिहार्य रहेको बताउनुभएको हो । उहाँले महानगरले यसको नीतिगत र व्यावहारिक नेतृत्व गर्ने जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले प्राचीन सांस्कृतिक परम्परा सम्यक महादानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्ययोजना अघि सारेको छ । कार्यवाहक मेयर डंगोलकाअनुसार हालसम्म महानगरले धेरै भौतिक सम्पदा र मठ–मन्दिरको पुनर्निर्माण गरिसकेको छ, तर शरीर जस्तै भौतिक संरचनामा ‘प्राण’ भर्न अमूर्त संस्कृति जीवित रहनुपर्छ  ।
    सम्यक महादानलाई भव्य रूपमा सञ्चालन गर्न महानगरले ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । यो समितिले सम्यक महादानको धार्मिक, ऐतिहासिक र सांस्कृतिक मूल्यलाई जोगाउँदै यसलाई व्यवस्थित बनाउनेछ । महानगरले यस कार्यमा सुरक्षा व्यवस्थादेखि नीतिगत र आर्थिक सहजीकरणसम्मको जिम्मेवारी लिने भएको छ ।
    पछिल्लो समय युवा पुस्तालाई यस्ता परम्परासँग जोड्न महानगर सफल भएको छ । उदाहरणका लागि, मुहाली बाजाको परम्परा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाहरूको सहकार्यमा त्यसलाई पुनर्जीवित गरिएको छ । यही मोडललाई अपनाउँदै सम्यक महादानलाई पनि नयाँ पुस्तामाझ पु¥याउने लक्ष्य राखिएको डंगोलले बताउनु भयो । 
    बाइट...सुनिता डंगोल, कार्यवाहक प्रमुख, काठमाडौं महानगरपालिका
    यस अभियानमा विभिन्न उप–समितिहरू गठन गरी काम शुरु भइसकेको छ । सम्बन्धित समुदायका गुठियारहरू, द्यः (देवता) थुवाहरू र स्थानीय बुद्धिजीवीहरूसँगको समन्वयमा महादानलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता महानगरले व्यक्त गरेको छ । सम्पदा संरक्षण केवल संरचना निर्माणमा सीमित नभएर संस्कारको निरन्तरतामा केन्द्रित हुनुपर्ने महानगरको स्पष्ट नीति छ । –न्युज एजेन्सी नेपाल

    १५. ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ (फोटो फिचर)
    बिहान झिसमिसेदेखि नै गोंगबु बसपार्कमा सुदूरपश्चिम र कर्णालीका लामो दूरीका टिकट काट्न सयौँ यात्रु लामवद्ध थिए । भीड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष खटिए पनि झ्यालहरूमा टाँसिएको ‘नो अनलाइन, वान्ली क्यास’ को सूचनाले प्रविधिको युगमा यात्रुलाई पकेटमारी र नगद बोक्ने अतिरिक्त जोखिम थोपरेको छ । गोंगबुस्थित नयाँ बसपार्कमा पहिलो दिनको पहिलो दृश्य नै उत्साह र अनिश्चितताको समिश्रण थियो । राजधानीमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, निजी तथा सरकारी जागिरे र दैनिक ज्यालादारी गर्ने सर्वसाधारण बिहानको चिसो नभनी लाममा उभिएका थिए । रातो इँटाको पर्खालमा टाँसिएको ब्यानरमा विचिन्न स्थानको भाडादर तोकिएको छ । यद्यपि सूचनाको सबैभन्दा तल लेखिएको एउटा सानो वाक्यांशले यात्रुलाई झस्काउँछ– ‘नगदमा कारोबार गरिदिनुहोला ।’
    वर्षभरिको परदेशको पसिना र व्यस्तता बिर्सेर गाउँ फर्किने उमंग त छ, तर लाइनमा ४ घण्टा उभिँदासम्म आफूले चाहेको दिनको सिट पाइन्छ कि पाइँदैन भन्ने ढुकढुकी प्रत्येक यात्रुको अनुहारमा प्रस्ट पढ्न सकिन्छ । बसपार्कको मुख्य टिकेटिङ हलमा पस्नेबित्तिकै रातो डिजिटल एलईडी बोर्डले यात्रुको ध्यान खिच्छ । त्यहाँ पोखरा, बागलुङ, बुर्तिबाङ, रुकुम, बेनी, दरबाङ, फलेबास, मुक्तिनाथ, नेपालगञ्ज, राजापुर, धनगढी, बझाङ र बाजुरा लगायतका दर्जनौँ गन्तव्यहरू निरन्तर स्क्रोल भइरहेका छन् । 
    स्टीलको मजबुत ब्यारिकेडभित्र यात्रुहरू धैर्यतापूर्वक अघि बढिरहेका छन् । हलभित्रको यो व्यवस्थापनले बाहिरको जस्तो अस्तव्यस्ततालाई केही हदसम्म कम गरेको छ । काउन्टरका कर्मचारीहरू डेस्कटप मनिटरमा हेर्दै सिट खाली भए–नभएको जानकारी दिइरहेका छन् । 
    सुदूरपश्चिम जाने यात्रुका लागि हवाई भाडा आकासिएको छ भने कर्णाली करिडोर र सुदूरपश्चिमका राजमार्गहरूको अनिश्चित अवस्थाले गर्दा भरपर्दो मानिएका एसी र डिलक्स गाडीहरूका सिट पहिलो दिननै धेरै टिकट काटिसकिएको छ । आज नेपालमा साना चिया पसल, तरकारी पसलदेखि सपिङ मलसम्म क्युआर कोडबाटै कारोबार हुन्छ । तर राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय स्तरको भनिएको नयाँ बसपार्कमा एउटा टिकटको ३ देखि ५ हजार रुपैयाँ नगदै बुझाउनुपर्ने व्यवस्था किन ? 
    यात्रुहरूले गोजीमा मोटो रकम बोकेर हिँड्नुपर्दा पकेटमारहरूको जोखिम बढ्छ । अर्कोतर्फ, नगद कारोबारले राजश्व र लेखा प्रणालीलाई पारदर्शी नबनाउने पुरानै सिन्डिकेट सोचलाई मलजल गरिरहेको देखिन्छ । यद्यपि पछाडि सुरक्षाकर्मीको उपस्थिति देखिएकाले सुरक्षाको वातावरण भने बनाइएको छ । विद्यार्थीकाअनुसार कलेज र जागिरबाट फूलपाती (असोज २४) वा महाअष्टमीको अघिल्लो दिन मात्रै बिदा पाइन्छ । त्यसैले ती २–३ दिनका सिटहरू बुकिङ खुलेको केही मिनेटमै सकिने भय छ । लाइनमा साथीहरूसँग फोनमा गफिँदै वा पालो कहिले आउला भनी घडी हेर्दै उभिएका यी अनुहारहरूले देखाउँछन्ः नेपालमा चाडपर्व भनेको परिवारसँगको पुनर्मिलनको सुखद् पर्व मात्र होइन, घर पुग्न गरिने एउटा कडा परीक्षा पनि हो । ब्यानरमा तीन महत्वपूर्ण शर्तहरू प्रस्ट लेखिएका छन्ः पहिलो, टिकट लिएपछि जाने ठाउँ, मिति र समय राम्ररी जाँच्नुपर्ने । दोस्रो, बस नम्बर थाहा पाउन बस छुट्ने दिनको आधा घण्टा अघि मात्र काउन्टर २२–२३ मा सम्पर्क गर्नुपर्ने । र तेस्रो, सबै यात्रु अनिवार्य बसपार्कबाट मात्र चढ्नुपर्ने । कलङ्की वा कोटेश्वरबाट बाटोमा गाडी कुर्ने पुरानो बानीले ट्राफिक जाम र सिट गडबडी हुने भएकाले बसपार्कलाई नै एकमात्र प्रस्थान बिन्दु बनाउन खोजिएको यो सकारात्मक प्रयास हो । तर बस नम्बर आधा घण्टा अगाडि मात्र दिने व्यवस्थाले यात्रुहरूमा अन्तिम क्षणसम्म अन्योल रहने समस्या भने यथावत छ । कर्मचारीहरूकाअनुसार शुक्रवारबाट शुरु भएको यो चटारो दशैँसम्म चल्छ । सिमित बस र सिट संख्या भएकाले यात्रुको रोजाइको अघिल्लो सिट मिलाउनु र प्रणालीमा दोहोरो बुकिङ हुन नदिनु उनीहरूका लागि चुनौतीपूर्ण कार्य हो । –न्युज एजेन्सी नेपाल
    तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल

    १६. अमेरिका र ग्रिसबीच नयाँ सुरक्षा समझदारीः रक्षा र ऊर्जा क्षेत्रमा थप बलियो सहकार्य
    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ग्रिस भ्रमणका क्रममा दुई देशबीच आतंकवाद विरोधी अभियान र सूचना आदानप्रदानलाई थप व्यवस्थित बनाउने नयाँ सुरक्षा समझदारीको घोषणा गर्नुभएको छ । एथेन्समा आयोजित छैटौं चरणको ‘यूएस–ग्रिस स्ट्र्याटेजिक डायलग’ (सामरिक संवाद) को उद्घाटन सत्रमा बोल्दै दुवै पक्षले रक्षा, ऊर्जा र क्षेत्रीय स्थायित्वका लागि सहकार्यलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री रुबियोले ग्रिसलाई एक भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतको संज्ञा दिनुभयो । वर्तमान विश्वमा देखिएका विभिन्न द्वन्द्वहरू जस्तै इरान–हर्मुज जलडमरू, रेड सी (लाल सागर) को संकट र युक्रेन–रुस युद्धको पृष्ठभूमिमा ग्रिससँगको ऐतिहासिक गठबन्धन झनै महत्वपूर्ण बनेको उहाँको भनाइ छ । 
    यता, ग्रिसका विदेशमन्त्री जर्ज गेरापेट्रिटिसले ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्य अभूतपूर्व स्तरमा पुगेको बताउनु भयो । उहाँले विशेष गरी मध्य र पूर्वी युरोपमा अमेरिकी प्राकृतिक ग्यास आपूर्ति गर्ने ‘भर्टिकल करिडोर’ मा ग्रिसको भूमिका निर्णायक रहेको उल्लेख गर्नुभयो । 
    रक्षा क्षमता सुदृढीकरणका सन्दर्भमा ग्रिसले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत हिस्सा रक्षामा खर्च गर्ने लक्ष्य राखेको छ, जसको रुबियोले प्रशंसा गर्नुभयो । गेरापेट्रिटिसले ग्रिसको एफ–१६ फ्लीटको आधुनिकरण र एफ–३५ फाइटर जेटको खरिदले द्विपक्षीय रक्षा सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, ग्रिसले शान्ति प्रक्रिया अघि बढेको खण्डमा हर्मुज जलडमरूमा आवश्यक परेको अवस्थामा नौसैनिक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेको छ । 
    यद्यपि, रुबियोको भ्रमणको विरोधमा एथेन्समा प्रदर्शन पनि भएको छ । भ्रमणका क्रममा प्रदर्शनकारीहरूले इरानमा जारी युद्धको विरोध गर्दै अमेरिकी दुतावास अगाडि प्रदर्शन गरेका थिए, जसका कारण राजधानीका केही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    १७. इजरायलको आदेशमा बेलायती कन्सुलेटको कामकारबाही बन्द, कुटनीतिक विवाद चुलियो
    इजरायलले पूर्वी जेरुसेलममा रहेको बेलायती कन्सुलेटको आधिकारिक कुटनीतिक कार्य बिहीवारदेखि बन्द गराएको छ । इजरायली विदेशमन्त्री गिदोन सारले बेलायतले इजरायलविरुद्ध चालेका कदमहरूको ‘प्रतिउत्तर’ स्वरूप सो कन्सुलेटको कार्य सञ्चालन बन्द गरिएको घोषणा गरेका छन् । इजरायली विदेश मन्त्रालयकाअनुसार सेप्टेम्बर महिनामा नै घोषणा गरिएको यो निर्णय बिहीवारबाट कार्यान्वयनमा आएको छ । यसअघि कन्सुलेटमा कार्यरत महावाणिज्यदूतसहित १९ जना कुटनीतिज्ञलाई देश छोड्न आदेश दिइएको थियो । यद्यपि, दुई सरकारबीचको वार्ता पश्चात सातजना बेलायती कुटनीतिज्ञलाई उक्त भवनमा सिमित अधिकारसहित काम गर्न अनुमति दिइएको छ ।
    यो विवादको जडमा बेलायतले इजरायली सेटलमेन्ट र रक्षा निर्यातमाथि लगाएको प्रतिवन्ध रहेको छ । इजरायली विदेशमन्त्री सारले बेलायतको पछिल्लो नीतिविरुद्ध यस्तो ‘प्रतिशोधात्मक’ कदम चालिएको स्पष्ट पारेका छन् । उक्त भवन बेलायती सरकारको स्वामित्वमा रहे पनि अब यसले आधिकारिक कन्सुलेटका रूपमा काम गर्नेछैन । 
    अर्कोतर्फ, बेलायती विदेश सचिव एड मिलिब्यान्डले इजरायलको निर्णयलाई ठाडै अस्वीकार गरेका छन् । सन् १९६७ को युद्धपछि इजरायलले पूर्वी जेरुसेलमलाई आफ्नो अविभाज्य राजधानी दाबी गरे पनि अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्यता दिएको छैन । मिलिब्यान्डले पूर्वी जेरुसेलम ‘अधिकृत भूभाग’ भएको बताउँदै करिव २०० वर्षदेखि सञ्चालनमा रहेको कन्सुलेट बन्द गराउने कानूनी अधिकार इजरायलसँग नभएको जिकिर गरेका छन् । 
    बेलायती पक्षले उक्त भवन ‘यूके मिसन, जेरुसेलम’ का रूपमा कायमै रहने र प्यालेस्टिनीहरूसँगको काम जारी राख्ने जनाएको छ । सुरक्षाका कारण केही कर्मचारीलाई फिर्ता बोलाइए पनि भविष्यमा कुटनीतिक उपस्थिति पुनर्गठन गर्ने लन्डनको योजना छ । हाल दुवै मुलुकबीच वार्ता जारी राख्ने सहमति भएको छ भने बेलायतले तत्कालका लागि कुनै प्रतिशोधात्मक कदम नचाल्ने प्रतिवद्धता जनाएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    १८. केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टिः उच्च शतर्कता र निगरानी तिब्र
    केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च पारिएको छ । बन्डिबुग्यो प्रजातिको इबोला संक्रमणबाट एक बिरामीको मृत्यु भएपछि केन्याली स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ र निगरानीलाई युद्धस्तरमा अगाडि बढाएको छ । केन्याका स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलवार इबोलाको पहिलो संक्रमण पुष्टि भएको हो । उक्त भाइरसबाट संक्रमित व्यक्तिको सोमवार राति मृत्यु भइसकेको छ र विश्व स्वास्थ्य संगठनको ‘सुरक्षित र मर्यादित अन्त्येष्टि’ प्रोटोकलअनुसार मंगलवार नै उनको शव व्यवस्थापन गरिएको छ । स्वास्थ्य मन्त्रालयका क्याबिनेट सेक्रेटरी एडेन डुएलेकाअनुसार हालसम्म ५७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । तीमध्ये १० जनालाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वास्थ्य अवस्थाबारे दैनिक निगरानी भइरहेको छ । बाँकी रहेका अन्य सम्पर्क व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । सार्वजनिक स्वास्थ्य सचिव मेरी मुथोनीले देशभरका स्वास्थ्य अधिकारीहरूलाई उच्च शतर्क रहन निर्देशन दिइएको बताउनु भयो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप क्वारेन्टाइन केन्द्रहरूको व्यवस्था र संक्रमितको यातायातका लागि विशेष टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक प्याट्रिक अमोथकाअनुसार संक्रमणको जोखिम छिटो फैलन सक्ने भएकाले आगामी केही दिन निकै संवेदनशील छन् । उहाँले थप संक्रमण रोक्न सम्पर्कमा आएका व्यक्तिहरूलाई तत्काल एउटै केन्द्रमा ल्याउनु अनिवार्य रहेको बताउनु भयो । हाल केन्याले छिमेकी मुलुकहरूसँगको १५ वटा सीमा नाकाहरूमा निगरानी कडा पारेको छ । सीमावर्ती क्षेत्रका जिल्लाहरूमा उपचार केन्द्रहरू स्थापना गरिएको छ भने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअनुसार विश्व स्वास्थ्य संगठनलाई आधिकारिक रूपमा जानकारी गराइएको छ । केन्याको यो सक्रियता छिमेकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा भइरहेको इबोलाको निरन्तर प्रकोपसँग जोडिएको छ । 
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    १९. नासाको स्पेस–एक्स क्रु–१२ मिसन पृथ्वीमाः चार अन्तरिक्ष यात्रीसहितको यान बिहीवार अवतरण
    नासा र स्पेस–एक्सको संयुक्त अभियान ‘क्रु–१२’ मिसनका अन्तरिक्ष यात्रीहरूले आफ्नो लामो अन्तरिक्ष बसाइ समाप्त गर्दै पृथ्वीतर्फको फिर्ती यात्रा गरेका छन् । चार सदस्यीय टोली सवार स्पेस–एक्सको ड्रयागन अन्तरिक्ष यान बुधवार बिहान ८ः०५ बजे अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अलग भएको थियो । 
    गत फेब्रुअरी १३ मा फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको यस मिसनमा संलग्न टोली आफ्नो निर्धारित गन्तव्यमा फर्किएको हो । नासाकाअनुसार यो यान बिहीवार बिहान करिव ११ः३४ बजे क्यालिफोर्नियाको तटीय क्षेत्रमा ‘स्प्लासडाउन’ (समुन्द्रमा अवतरण) भएको छ । 
    यस मिसनमा नासाका अन्तरिक्ष यात्री जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीका सोफी एडनोट तथा रोस्कोस्मसका कस्मोनाट आन्द्रे फेड्याएभ सहभागी थिए । केही महिनाको निरन्तर वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष स्टेशनको सञ्चालन कार्यमा सक्रिय रहेका यी यात्रीहरूले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाको चुनौतीपूर्ण यात्रा पूरा गरेका छन् । 
    अन्तरिक्षबाट सुरक्षित फिर्तीका लागि नासा र स्पेस–एक्सले आवश्यक सबै तयारी पूरा गरेको र यानको स्थिति सामान्य रहेको प्राविधिक टोलीले जनाएको छ । यो मिसनको सफलताले भविष्यका व्यावसायिक अन्तरिक्ष यात्रा र अनुसन्धानमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २०. पूर्वी कंगोमा शान्ति बहालीका लागि अफ्रिकी युनियनको जोड, युद्धविराम पालना गर्न विद्रोहीलाई आग्रह
    अफ्रिकी युनियन (एयू) को सहजकर्ता टोलीले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा जारी द्वन्द्व अन्त्यका लागि युद्धविरामको पूर्ण पालना र कुटनीतिक वार्तालाई निरन्तरता दिन आग्रह गरेको छ । एम २३ विद्रोही समूहको नियन्त्रणमा रहेको प्रमुख शहर गोमामा भएको उच्चस्तरीय परामर्शपछि टोलीले हिंसा रोक्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सम्बन्धित पक्षहरूलाई आह्वान गरेको हो । इथियोपियाकी पूर्वराष्ट्रपति साले–वर्क जेवदेको नेतृत्वमा रहेको टोलीमा केन्याका पूर्वराष्ट्रपति उहुरु केन्याटा र बोत्स्वानाका पूर्वराष्ट्रपति मोकग्वेत्सी मासिसी सहभागी थिए । टोलीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (मोनुस्को), मानवीय सहायता नियोगहरू र विद्रोही समूह एम२३ का प्रतिनिधिहरूसँग विस्तृत छलफल गरेको थियो । सन् २०२५ को मार्चदेखि कतारको मध्यस्थतामा दोहा शान्ति प्रक्रिया अन्तर्गत कंगो सरकार र विद्रोही समूहबीच वार्ता जारी छ । यस प्रक्रियाले जुलाईमा सिद्धान्तहरूको घोषणापत्र र नोभेम्बरमा एउटा विस्तृत ढाँचा सम्झौतामा हस्ताक्षर गर्न दुवै पक्षलाई सहमत गराएको थियो । सम्झौतामा विश्वासको वातावरण निर्माण गर्ने, चरणवद्ध रूपमा स्थिरीकरण गर्ने र द्वन्द्वका मूल कारणहरू सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । यसैबीच, कंगो रिभर एलायन्स (एएफसी) का नेता कोर्नेइल नाङ्गाले मध्यस्थकर्ताहरूलाई केवल औपचारिक विज्ञप्तिमा सीमित नभई व्यावहारिक र निष्पक्ष भुमिका खेल्न आग्रह गरेका छन् । नाङ्गाले शान्ति प्रक्रियामा अवरोध पु¥याउने पक्षहरूलाई पहिचान गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा एयू टोलीले नागरिकको सुरक्षा र मानवीय सहायताको निर्बाध पहुँचको सुनिश्चिततालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । जनवरी २०२५ यता उत्तर र दक्षिण किभु प्रान्तमा एम २३ विद्रोहीले आक्रामक गतिविधि बढाउँदै गोमा र बुकाभु जस्ता रणनीतिक सहरहरू आफ्नो नियन्त्रणमा लिएका छन् । एयूको टोलीले यस परामर्शको नतिजालाई मध्यस्थकर्ता र कंगो सरकारसमक्ष प्रश्तुत गर्ने जनाएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २१. फिलिपिन्सको ताल ज्वालामुखीमा विस्फोटः ४ हजार मिटर माथिसम्म फैलियो खरानी
    फिलिपिन्सको राजधानी मनिनाको दक्षिणी क्षेत्रमा रहेको ताल ज्वालामुखीमा बिहीवार साँझ विस्फोट भएको छ । स्थानीय समयअनुसार साँझ ६ः०६ बजे भएको यो ‘माइनर फिएटोम्याग्मेटिक’ विस्फोटले करिव ४ हजार मिटरको उचाईसम्म खरानीको मुस्लो फालेको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । संस्थानकाअनुसार पाँच मिनेटसम्म चलेको उक्त विस्फोटपछि ज्वालामुखीको मुखबाट निस्किएको खरानीको मुस्लो दक्षिण–पश्चिमी क्षेत्रतर्फ फैलिएको छ । संस्थानले यस घटनालाई सानो स्तरको विस्फोटका रूपमा वर्गीकरण गरे पनि वरपरका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ । फिलिपिन्सको पाँच तहको ज्वालामुखी शतर्कता मापदण्डमध्ये हाल तह १ कायम राखिएको छ । ताल ज्वालामुखी फिलिपिन्सको सबैभन्दा सक्रिय ज्वालामुखीहरूमध्ये एक हो । यसअघि सन् २०२० को जनवरीमा भएको ठूलो विस्फोटका कारण करिव ३ लाख ८० हजार स्थानीय बासिन्दा विस्थापित हुनुपरेको थियो भने सयौं घर, कृषि फार्म र सडकमा क्षति पुगेको थियो । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले फिलिपिन्स भौगर्भिक दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिन्छ । यस क्षेत्रमा बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटका घटनाहरू भइरहने गर्छन् । हालको विस्फोटपछि कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले निरन्तर अनुगमन गरिरहेको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २२. संयुक्त राष्ट्रसंघमा ‘ग्रुप अफ फ्रेण्ड्स’ को आह्वानः अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकताको सम्मान गरौँ
    संयुक्त राष्ट्रसंघको महासभामा ‘ग्रुप अफ फ्रेण्ड्स अफ ग्लोवल गभर्नेन्स’ले बढ्दो विश्वव्यापी अस्थिरता र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालनाका लागि विश्व समुदायलाई आह्वान गरेको छ । चीनले उक्त समूहको तर्फबाट जारी गरेको संयुक्त वक्तव्यमा अन्तर्राष्ट्रिय व्यवस्थाको आधारस्तम्भका रूपमा रहेको राष्ट्रसंघीय बडापत्रको सम्मान र शक्ति राजनीतिभन्दा माथि उठेर सार्वभौमिक समानताको पक्षमा वकालत गरिएको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका उप–स्थायी प्रतिनिधि सुन लीले समूहको तर्फबाट वक्तव्य प्रश्तुत गर्दै पछिल्लो आठ दशकयता विश्व व्यवस्था फेरि एकपटक ठूलो उथलपुथल र अस्थिरताको सामना गरिरहेको बताउनु भयो । उहाँले क्षेत्रीय द्वन्द्व, बढ्दो एकपक्षीयता र शक्ति प्रदर्शनले विश्व शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याएको औंल्याउनु भयो । वक्तव्यमा अन्तर्राष्ट्रिय कानूनको समान र एकीकृत प्रयोगमा जोड दिँदै कुनैपनि प्रकारका दोहोरो मापदण्ड वा छनौटपूर्ण प्रयोगलाई अस्वीकार गरिएको छ । समूहले विकासोन्मुख राष्ट्रहरूको आर्थिक र सामाजिक विकासमा अवरोध पुग्ने गरी लादिएका एकपक्षीय आर्थिक तथा व्यापारिक प्रतिवन्धहरू राष्ट्रसंघीय बडापत्रको मर्म विपरीत भएको उल्लेख गरेको छ । विवाद समाधानका लागि राष्ट्रसंघीय बडापत्रको धारा ३३ बमोजिमका शान्तिपूर्ण माध्यमहरू रोज्न सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ । यसका साथै, समूहले नयाँ प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर स्पेस, र अन्तरिक्ष जस्ता उदीयमान क्षेत्रहरूमा प्रतिष्पर्धाभन्दा पनि सहकार्यलाई प्राथमिकता दिँदै विश्वव्यापी सुशासन कायम गर्नुपर्नेमा जोड दिएको छ । अन्त्यमा, सो समूहले संयुक्त राष्ट्रसंघको नेतृत्वमा आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई सुदृढ पार्दै न्यायपूर्ण विश्व निर्माण गर्ने प्रतिवद्धता दोहो¥याएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २३. ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि
    काठमाडौं महानगरपालिकाले अगामी कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौं फिल्म फेस्टिबल’ आयोजना गर्ने भएको छ । रोल...
    महानगरपालिकाले शुक्रवार  पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फिल्म फेस्टिबलमा विधागत रुपमा विभिन्न १० देशका ४० भन्दा बढी चलचित्र प्रदर्शन गरिने बताउनु भयो । उहाँकाअनुसार फिल्म फेस्टिभलका लागि दुई विधामा २७ वटा लघु चलचित्र समेत छनोट भएका छन् । युथ भिडियो च्यालेन्जअन्तर्गत १२ वटा र नेपाल पानोरमाअन्तर्गत १५ वटा चलचित्र छनोट भएको प्रवक्ता मानन्धरले बताउनु भयो । युथ भिडियो च्यालेन्जअन्तर्गत ४० वर्षसम्मका युवालाई लक्षित गरी ‘माइ कल्चर, माइ हेरिटेज’ शिर्षकमा पाँच मिनेटसम्मका भिडियो निर्माण गर्न आह्वान गरिएको थियो । यस विधामा ३५ वटा भिडियो प्राप्त भएकामा १२ वटा छनोट भएका हुन् । त्यस्तै, नेपाल पानोरमाअन्तर्गत खुला वृत्तचित्र, फिक्सन, एनिमेसन तथा प्रयोगात्मक विधाका तीन मिनेटसम्मका भिडियोमध्ये ७५ वटा प्राप्त भएकामा १५ वटा छनोट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले युथ भिडियो च्यालेन्जमा उत्कृष्ट हुने पहिलो चलचित्रलाई एक लाख ५० हजार रुपैयाँ, दोस्रोलाई एक लाख रुपैयाँ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताउनु भयो । उहाँले नेपाल पानोरमा विधामा छनोट भएका चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइने बताउनु भयो । प्रवक्ता मानन्धरले फेस्टिभलमा नेपाली पुराना चलचित्रको ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दुर’ चलचित्र समेत प्रदर्शन गरिनेछन् ।
    बाइट...नविन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका
    काठमाडौंको मौलिक पहिचान, सम्पदा र रचनात्मक उद्योगको प्रवद्र्धन गर्नुका साथै स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको समेत प्रवक्ता मानन्धरले बताउनु भयो । –न्युज एजेन्सी नेपाल


    २४. चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
    सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । रोल...
    शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो निर्देशन दिइएको जनाएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताउनु भयो । उहाँकाअनुसार नागरिकलाई अत्यावश्यक सेवा लिन अनावश्यक सास्ती नदिन समेत निर्देशना दिइएको छ । यसैगरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयवद्ध र पूर्वानुमानयोग्य बनाउन कार्यविधिको मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताउनु भयो । स्वेदशी तथा विदेशी लगानी अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘स्वास्थ्य, खानेपानी, विद्युत्, दुरसञ्चार, विमानस्थल, यातायात, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरुमा चाडपर्वको बेला पनि निरन्तर रुपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकलाई अत्यावश्यक सेवाका लागि अनावश्यक सास्ती नदिने भन्ने निर्णय भएको छ । यो विषयमा हामीले पत्रारचार गरेर सम्बन्धीत  निकायमा पठाएका छौँ । यी लगायतका निर्णयहरु केन्द्रीय अनुगमन समितिबाट भएका छन् । त्यसैगरी  स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गर्ने, लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी र पूर्वानुमानयोग्य, समयबद्ध बनाउन एउटा ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा हुँदैछ । यसले लगानी गर्ने प्रणालीलाई सुधार गर्ने र जसको कारणले गर्दा स्वदेशी तथा विदेशी लगानीमा अभिवृद्धि हुने अपेक्षा र विश्वसा गरिएको छ ।’
    बाइट...हेमराज अर्याल, सहसचिव एवं प्रवक्ता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    उक्त कार्यविधिले लगानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता अर्यालको भनाइ छ । –न्युज एजेन्सी नेपाल

    २५. तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
    तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रोल...
    शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताउनु भयो । गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका बन्द भएको थियो । नाका बन्द हुँदा नेपाल–चीनबीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ । प्रवक्ता क्षेत्रीले सरकारले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने तथा संरक्षण र प्रवद्र्धन गर्ने कामलाई पनि अघि बढाएको बताउनु भयो । सोहीअनुसार जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सय भन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूमा नेपालको सहभागिता, नेतृत्व र प्रतिनिधित्वलाई राष्ट्रिय हितअनुकूल बनाउँदै आपसी हित प्रवद्र्धन गर्ने कामलाई समेत अघि बढाइएको बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात रसुवागढी नाका बन्द भएको विषय अवगत नै छ । नेपाल–चीनबीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी–झाङमु र लिजी– कोराला लगायतका नाकाहरु खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको छ । रसुवागढी नाका बन्द चीनसँगको व्यापार बन्द नहोस् भन्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको छ । विभिन्न समयमा विभिन्न कारणले विदेश पुगेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेजहरु स्वदेश फिर्ता ल्याई तिनको संरक्षण तथा प्रवर्धन गर्ने दिशामा सरकारबाट आवश्यक कार्यहरु हाल भइरहेको छ । जर्मन नागरिक स्वर्गी य जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँ देखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी लिखित कागजातहरु २ अक्टोबर २०२६ मा नेपालको राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा जर्मनीको हाइडेलबर्ग युनिभर्सिटीका प्रोफेसर डाक्टर एक्सल मिखाएल्स, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु, शोधकर्ताहरु डाक्टर माणिक वज्राचार्य र डाक्टर राजन खतिवडाले संयुक्त रुपमा माननीय परराष्ट्र मन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको छ । क्षेत्रीय सहकार्य प्रवर्धन गर्ने नीति अनुरुप नेपाल आबद्ध रहेका क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरुमा नेपालको राष्ट्रिय हित अनुकूल हुनेगरी तथा सरोकारवाला सबैसँग समन्वय गर्दै नेपालको नेतृत्व, प्रतिनिधित्व तथा आपसी हितलाई प्रवर्धन गर्ने विषय समेत अगाडि बढाइएको छ ।’  
    बाइट...लोकबहादुर पौडेल क्षेत्री, प्रवक्ता, परराष्ट्र मन्त्रालय
    उहाँले परराष्ट्रमन्त्री शिशिर खनालको अष्टे«लिया भ्रमणबारे समेत जानकारी गराउनु भयो । –न्युज एजेन्सी नेपाल

    २६. नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक
    नेपाली कम्युष्टि पार्टीले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । रोल...
    शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रिय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन स्थानीय तह अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँकाअनुसार अगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडास्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी, अगामी माघ १५ पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो । उहाँले जिल्ला, प्रदेश र केन्द्रिय महाधिवेशन भने स्थानीय तह निर्वाचनपश्चात गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो,‘अगामी पुस ११ गते देशभरका सबै वडामा वडास्तरका अधिवेशनहरु आयोजना गर्नेछौँ । माघ १५ गते पालिकास्तरीय अधिवेशन आयोजना गर्ने गर्नेछौँ । सबै पालिकामा एकै दिन अधिवेशन आयोजना गर्ने निर्णय भएको छ । अनि स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्नेछौँ । बैठकले युवाहरुलाई विशेष प्राथमिकता दिने र ५० प्रतिशत युवा सहभागिताको सुनिश्चितता गर्ने निर्णय पनि गरेका छौँ ।    ’
    बाइट... प्रकाश ज्वाला, प्रवक्ता, नेकपा
    उहाँले तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढाउने निर्णय पनि पार्टीले गरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल


    २७. नेकपाले अगामी कात्तिक ७ देखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ चलाउने
    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । रोल...
    शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रिय संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँकाअनुसार अगामी  कात्तिक ७ गते बृहत पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले अभियानको उद्घाटन गर्नेछ । ‘राष्ट्रिय जागरण अभियान’को कार्यविधि समेत बैठकले पारित गरेको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको महाधिवेशनको तयारी, सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणका काम अघि बढाइने बताउनु भयो । त्यसैगरी, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि अभियानकै क्रममा गरिने जानकारी दिनुभयो । उहाँले यही अभियानमार्फत सरकारका जनविरोधी क्रियाकलाप र अराजकताविरुद्ध आन्दोलनका कार्यक्रम समेत गरिने जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘आजको बैठकले अबको दुई महिना राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अगामी कात्तिक ७ गते बृहत पत्रकार सम्मेलन गरेर हामी राष्ट्रिय जागरण अभियानकामे उद्घाटन गर्नेछौँ । र मंसिर २५ गतेसम्म यो अभियान सञ्चालन हुनेछ । यो राष्ट्रिय जागरण अभियानको कार्यविधि समेत आजको बैठकले पारित गरेको छ । राष्ट्रिय जागरण अभियानको मुख्य महत्व एवं उद्देश्य भनेको  यस अभियानमार्फत पार्टीको महाधिवेशनको तयारी पनि गर्छौँ । सदस्यता नवीकरण, संगठन सुदृढिकरण, भेला र बैठकहरुमार्फत महाधिवेशनको तयारी अगाडि बढाउँछौँ । दोस्रो, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियानमार्फत हामी अगाडि बढाउँछौँ । र तेस्रो, सरकारले गरेको जनविरोधी क्रियाकलापका विरुद्धमा, अरजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ । हामी यही अभियानमार्फत सरकारका विरुद्ध संघर्षको तयारी पनि गर्छौँ ।’
    बाइट...प्रकाश ज्वाला, प्रवक्ता, नेकपा
    बैठकले ग्रे जोन पत्रिकाको आर्टिकलबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित विशेष प्रश्ताव समेत पारित गरेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल


    २८. नेपाली मौलिकता र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न फिल्म फेस्टिबल महत्वपूर्णः कार्यवाहक प्रमुख डंगोल
    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंसहित देशभरका भाषा, साहित्य, खानपान र पोसाकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ‘काठमाडौं फिल्म फेस्टिबल’ प्रभावकारी मञ्च हुनसक्ने बताउनुभएको छ । रोल...
    शुक्रवार फिल्म फेस्टिबलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले यस्तो बताउनुभएको हो । डंगोलले फिल्म नेपाली मौलिकता, संस्कृति र सम्पदालाई विश्वमाझ चिनाउने प्रभावकारी माध्यम भएको बताउनु भयो । उहाँले नेपाली खानपान, पोसाक, भाषा र साहित्यको प्रवद्र्धनमा फिल्मले महत्वपूर्ण भुमिका खेल्नसक्ने समेत बताउनु भयो । उहाँले काठमाडौंका मठमन्दिर, रानीपोखरीलगायत सम्पदा र स्थानसँग जोडिएका कथालाई विश्वसामु प्रस्तुत गर्नेगरी नेपाली संस्कृतिमा आधारित चलचित्र निर्माण हुनुपर्नेमा समेत जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘यहाँको खाना हामीले अन्तर्राष्ट्रि जगतमा कसरी देखाउँछौँ त ? फिल्म एउटा यस्तो माध्यम हो जसले हाम्रो खाना अरुलाई पनि खान मन लाग्ने बनाउन सक्छ । हाम्रो पोसाकको पहिचान फिल्मबाट दिन सकिन्छ । हाम्रो भाषा, हाम्रो साहित्य सबै कुराको प्रवद्र्धन गर्ने एउटा सशक्त माध्यम हो फिल्म । त्यसकारण हामीले यो फेस्टिबल आयोजना गर्न लागेका हौँ । यो फिल्म फेस्टिबलबाट हामीले काठमाडौं मात्र नभएर देशभरकेो कथा बोकेका फिल्म प्रदर्शन गर्नेछौँ । अझ काठमाडौं त कथा नै कथा बोकेको शहर हो । काठमाडौंमा एक पाइला सर्ने बित्तिमै मन्दिर भेट्छौँ, मन्दिरको आफ्नै कथा हुन्छ । अलिकति पर जाँदा रानी पोखरीको आफ्नै कथा छ । त्यसकारण हामी नदेखिएका र नसुनिएका कुराहरु विश्वलाई देखाउन र सुनाउनको लागि यो फेस्टिबलको आयोजना गर्न लागेका हौँ ।’
    बाइट...सुनिता डंगोल, कार्यवाहक प्रमुख, काठमाडौं महानगरपालिका
    काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत अगामी कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिबल आयोजना गर्ने भएको हो । –न्युज एजेन्सी नेपाल

    २९. प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ, मिति तय भइसकेको छैनः परराष्ट्र मन्त्रालय
    प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रोल....
    शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्तो जानकारी दिनुभएको हो । उहाँले प्रधानमन्त्री साहको उच्चस्तरीय भ्रमणबारे मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिनुभयो । नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिरहेको जनाएको छ ।
    उहाँले भन्नुभयो, ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्युको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइरहेको छैन ।  मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ । ’  
    बाइट...लोकबहादुर पौडेल क्षेत्री, प्रवक्ता, परराष्ट्र मन्त्रालय
    परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेण्डामाथि काम गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल


    ३०. भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयनमा कडाइ गरिएको छः प्रधानमन्त्रीको कार्यालय
    सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयनमा कडाइ गरिएको जनाएको छ । रोल...
    शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्थाबारे दोलखा र रामेछाप जिल्लाहरुमा अनुगमन गरेको जानकारी दिनुभयो । महासन्ध कार्यान्वयनको अवस्थाबारे क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिने जानकारी दिनुभयो । उहाँले धनकुटा, सुनसरी र मोरङका कारागार तथा केही हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थाबारे समेत सरकारले निरीक्षण गरेको बताउनुभयो । कैदी तथा थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गरिएको समेत बताउनु भयो । यसैबीच, सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारस्थित सबै मन्त्रालय र मन्त्रालय परिसरमा सरसफाइ सप्ताह सञ्चालन गरेको छ । अभियानअन्तर्गत प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी कामको अनुगमन तथा निरीक्षण गर्न एक जना फोकल पर्सन तोकिएको प्रवक्ता अर्यालले बताउनु भयो । सरसफाइसम्बन्धी गतिविधिको नियमित अनुगमन गरी त्यसको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनसमेत मन्त्रालयहरूलाई निर्देशन उहाँले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो,‘यही असोज २२ गतेदेखि २८ गतेसम्म सिंहदरबारका सबै मन्त्रालयभित्र र मन्त्रालयको परिसरमा सरसफाई गर्नको लागि अभियान स्वरुप सरसफाई सप्ताह शुरु गरिएको छ । हरेक मन्त्रालयमा एक जना सरसफाई फोकस पर्सन तोक्ने र उहाँमार्फत सरसफाई भए–नभएको नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्ने, तथा सरसफाईसम्बन्धी हुने गरेका कामहरु ब्रिफिङ प्रधानमन्त्री कार्यालयलाई गर्नेगरी लेखि पठाइएको छ । यो बीचमा अनुगमनसम्बन्धी कामहरु समेत भएका छन् । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयनको अवस्था कस्तो छ भनेर दोलखा र रामेछाप जिल्लामा अनुगमन कार्य सम्पन्न गरिएको छ । त्यसैगरी, धनकुटा, सुनसरी र मोरङका कारागार र केही हिरासतमा पनि अनुगमन गरेर त्यहाँ रहेका थुनुवा तथा कैदीबन्दीहरुको मानव अधिकारसम्बन्धी विषयवस्तुमा पनि अनुगमन तथा निरीक्षण गरिएको छ ।’
    बाइट...हेमराज अर्याल, सहसचिव एवं प्रवक्ता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    उहाँले नागरिकका गुनासाहरुको प्रभावकारी रुपमा सम्बोधन गर्नको लागि समेत काम भइरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    ३१. २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
    राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदैछ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
    राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुनेगरी निक्षेप संकलनको सूचना जारी गरेको छ । यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने जनाएको छ । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । दुई महिनाका लागि जारी गरिएको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यस उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम खिचेर बजारमा उपलब्ध तरलता व्यवस्थापन गर्ने गरिएको छ । –न्युज एजेन्सी नेपाल


    ३२. दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै परिवार राष्ट्रिय मानव अधिकार आयोगमा
    विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उहाँका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ । रोल...
    चतुर्भुजले शुक्रवार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र छोरालाई सिन्धुपाल्चोक कारागारबाट नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गर्दै निवेदन दिनुभएको हो । उहाँले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पु¥याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको दाबी गर्नुभएको छ । विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उहाँले आपत्ति जनाउनुभएको छ । विचाराधीन मुद्दामा न्यायिक प्रक्रिया जारी रहेको अवस्थामा यस्ता सामग्रीले निष्पक्ष न्याय पाउने अधिकारमा अवरोध पुग्न सक्ने उहाँको भनाइ छ । दीपक भट्टलाई गत असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको थियो । उहाँका बुवा चतुर्भुजले सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूलाई जानकारी नदिइएको बताउनु भयो ।  दीपकविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले मुद्दा दायर नभएको जिल्लाको कारागारमा स्थानान्तरण गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।  सरुवाले विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्ने र परिवारको मानसिक पीडा बढाएको उहाँको दाबी छ ।
    उहाँले दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार तथा नख्खु कारागारमा रहँदाको आचरणबारे जानकारी माग गर्दै नख्खु कारागार र कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको तर, हालसम्म जानकारी प्राप्त नभएको बताउनु भयो ।
    चतुर्भुज भट्टले भन्नुभयो,‘मेरो छोरा दीपक भट्ट विगत छ महिनादेखि विभिन्न कारागारमा थुनुवाका रूपमा राखिएको छ । उनलाई के कारणले थुनामा राखिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । बिना कारण एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दै ल्याइएको छ । अहिले मिडिया ट्रायल गराएर बिना कारण असम्बन्धित व्यक्तिहरू, पूर्वप्रधानन्यायाधीशलगायत अन्य व्यक्तिसँग पनि जोडेर मेरो छोरालाई मात्रै प्रताडित गर्ने, दुःख दिने र बदनाम गर्ने हिसाबले प्रचार गरिएको छ । यसै विषयमा आज म राष्ट्रिय मानव अधिकार आयोगमा आएर निवेदन दिएको छु । आयोगबाट यस विषयमा यथोचित कारबाही र सुनुवाइ हुनेछ तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइनेछ भन्ने आशा लिएको छु । यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगबाट सत्यतथ्य छानबिन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइनेछ भन्ने विश्वासका साथ म यहाँ उपस्थित भएको हुँ ।’
    बाइट...चतुर्भुज भट्ट
    उहाँले कारागारबाट फोन गरेकोलगायतका विषयमा प्रकाशित समाचारबारे प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिएको समेत बताउनु भयो ।  नेपालको संविधान, प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल


    ३३. दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रश्ताव 
    दुर्गम गाउँ, विपद् प्रभावित क्षेत्र र विपन्न समुदायसम्म नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न सरकारले दिगो ऊर्जा कोष स्थापना गर्ने र प्राथमिकताका आधारमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था प्रश्ताव गरेको छ ।
    ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा वचत र परम्परागत ऊर्जामाथिको निर्भरता घटाउने उद्देश्यसहित वित्तीय स्रोत परिचालन तथा सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था अघि सारेको हो । विधेयकको दफा ३० मा दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ । उक्त कोषमा नेपाल सरकार, व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त रकम, विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको अनुदान, कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी कार्यक्रमबाट प्राप्त रकम र विभिन्न सेवा तथा अनुमतिपत्रबापत प्राप्त शुल्क जम्मा गरिनेछ । ऊर्जा वचतको तोकिएको लक्ष्य पूरा गर्न नसक्ने प्रतिष्ठानबाट प्राप्त हुने क्षतिपूर्तिसमेत कोषमा जम्मा हुनेछ । यसअघि सञ्चालनमा रहेको केन्द्रीय नवीकरणीय ऊर्जा कोषको रकम पनि नयाँ कोषमा समाहित हुने व्यवस्था प्रश्ताव गरिएको छ । विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट रकम लिन भने अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुनेछ ।
    कोषमा जम्मा भएको रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न वित्तीय आधारका रूपमा उपयोग गर्ने परिकल्पना विधेयकले गरेको छ । कोषको रकम ‘क’ वर्गको वाणिज्य बैंकमा जम्मा गरिनेछ । केन्द्रको नामबाट हुने खर्च यही कोषबाट व्यहोरिनेछ भने यसको आन्तरिक तथा अन्तिम लेखापरीक्षण क्रमशः कोष तथा लेखा नियन्त्रकको कार्यालय र महालेखा परीक्षकबाट हुनेछ । 
    विधेयकको दफा २५ ले व्यावसायिक कर्जाका आधारमा सञ्चालन गर्न कठिन भएपनि आर्थिक तथा सामाजिक दृष्टिले आवश्यक आयोजनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ ।
    यस्तो कर्जा भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्र, आर्थिक र सामाजिक रूपमा पछाडि परेका तथा विपन्न समुदायको बसोवास भएका क्षेत्र, विपद् प्रभावित क्षेत्र, परम्परागत ऊर्जाको अधिक उपयोग भइरहेका क्षेत्र, ऊर्जा बचत तथा दक्षताको सम्भावना बढी भएका क्षेत्र र मौलिक तथा परम्परागत सीप एवं प्रविधिमा आधारित उद्यमलाई प्राथमिकतामा राखेर प्रवाह गरिनेछ ।
    यो व्यवस्थाले बजारमा सहजै कर्जा प्राप्त गर्न नसक्ने तर सामाजिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण ऊर्जा आयोजनालाई वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ । विशेषगरी ग्रामिण तथा दुर्गम क्षेत्रमा ऊर्जा प्रविधिको विस्तार र ऊर्जा दक्षतासम्बन्धी उद्यम प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जालाई माध्यम बनाउने प्रश्ताव गरिएको छ ।
    बैंकमार्फत कर्जा, ब्याजदर सञ्चालक समितिले तोक्ने
    प्रश्तावित व्यवस्थाअनुसार केन्द्रले आफैँले प्रत्यक्ष कर्जा प्रवाह गर्ने छैन । प्रचलित कानूनबमोजिम स्थापित बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर सञ्चालक समितिले निर्धारण गर्नेछ भने कर्जा लगानी, साँवा र ब्याजको विवरण केन्द्रले अद्यावधिक राख्नुपर्नेछ ।
    कर्जा प्रवाहका थप प्रक्रिया तथा कार्यविधि पनि सञ्चालक समितिले निर्धारण गर्ने व्यवस्था विधेयकमा छ । दिगो ऊर्जा कोष र सहुलियतपूर्ण कर्जासम्बन्धी प्रश्तावित व्यवस्थाले नवीकरणीय ऊर्जामा लगानीका लागि स्रोत जुटाउने, ऊर्जा बचतलाई प्रोत्साहन गर्ने र वित्तीय पहुँचबाट टाढा रहेका समुदाय तथा उद्यमसम्म ऊर्जा प्रविधि विस्तार गर्ने नीतिगत आधार तयार गर्ने लक्ष्य राखेको छ । यद्यपि, यी व्यवस्थाहरू विधेयकमा प्रस्तावित प्रावधान हुन; तिनको वास्तविक कार्यान्वयन संसद्बाट विधेयक पास भएर राष्ट्रपतिले सदर गरेपछि बल्ल लागू हुनेछ ।–न्युज एजेन्सी नेपाल

    ३४. शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न
    नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको नवौँ स्मृति सभा सम्पन्न गरेको छ । रोल...
    शुक्रवार महासंघको प्राङ्गडमा गौचनको सम्झनामा स्मृति सभा गरिएको हो । स्मृतिसभामा महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा स्व. शरदकुमार गौचनको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्व. गौचनले निर्वाह गरेको महत्वपूर्ण भुमिकाको स्मरण गर्दै निर्माण क्षेत्रमा गौचनको अभाव सधैँ महसुस भइरहने बताउनु भयो । यस्तैगरी महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीहरुको विकासका लागि गौचनले सधैँ त्याग मात्र गरेको बताउनु भयो । उहाँको जीवनीबाट व्यवसायीहरुले शिक्षा लिनुपर्ने उहाँको भनाइ थियो । ०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गोली हानी गौचनको हत्या भएको थियो । –न्युज एजेन्सी नेपाल

    ३५. नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य
    नेपालको रग्बी खेललाई ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले हिमालयन स्पोटर््स म्यानेजमेन्टले विभिन्न कार्यक्रमहरू तय गरेको छ । 
    हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले ‘फ्रम हिमालयज टु द वल्र्ड’ भन्ने नारा राख्दै विभिन्न महत्वकांक्षी लक्ष्यहरू राखेको हो । पहिलो चरणमा एभरेस्ट रग्बी लेगेसी नेशनल अन्तरक्रियाबाट कार्यक्रम शुरुवात गर्दै आयोजकले देशका विभिन्न प्रदेश रग्बी खेल विकासका योजना पनि अघि सारेको छ । शुक्रवार एक अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताहरूले नेपालको खेल विकासमा विद्यालय तहदेखि नै खेलहरू अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । साथै देशका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीति क्षेत्र, शैक्षिक क्षेत्रका साथै पर्यटनसँग जोड्न आवश्यक रहेको वक्ताहरूको जोड थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले पछिल्ला समय संघले चरणवद्ध आफ्ना गतिविधि गरिरहेको समयमा नयाँ ढंगबाट यस्ता कार्यक्रम आउनु सकारात्मक पक्ष रहेको बताए । निजी क्षेत्र पनि रग्बी खेलको विकास अगाडि आउनुले रग्बी खेलको भविष्य सही बाटोमा जाने उनको विश्वास छ ।
    राखेपका पूर्वसदस्यसचिव टंकलाल घिसिङले शाहसिक खेलमा रग्बी खेलको लेगेसी बढ्नु सकारात्मक रहेको बताए । तथापि उद्देश्य सही भयो भने मात्र यो कार्यक्रमले सार्थकता पाउने उनको विश्वास छ । त्यसैले आफ्ना योजनाहरूमा सही तरिकाबाट अगाडि बढाउँदै पर्यटनसँग जोड्नुले अन्तर्राष्ट्रिय जगतको पनि नजर नेपाली खेलकुदमा पर्ने उनले आशा व्यक्त गरे । सगरमाथाको आधार शिविरमा निरन्तर ३६ घण्टाभन्दा बढी समय खेल खेलाउने तयारी गर्नु सहज नरहेको उनले बताए ।
    वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले रग्बी खेलमार्पmत देशको पर्यटन क्षेत्रलाई जोड्नु सकारात्मक रहेको र यसका लागि सरकारले पनि सहयोग गर्ने बताए । आयोजकले योजनाहरू महत्वाकांक्षी रहे पनि उद्देश्य सही हुँदा सफल हुने उनको विश्वास छ । नेपालको खेलकुदलाई अगाडि बढाउन सरकारले लगानी बढाउन आवश्यक रहेको उनले धारणा राखे । साथै सरकारसँगै सबै क्षेत्रले खेलकुदप्रतिको धारणा सकारात्मक राख्नुपर्ने मन्त्री पौडेलले बताए । शैक्षिक संस्था आपैmँ खेलकुदमा चासो राखेर अघि बढ्यो भने खेल विकासमा फड्को मार्ने मन्त्री पौडेलले बताए । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २३ २०८३ शुक्रवार - २०:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij