२०८३ आश्विन २० गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयता देशका विभिन्न क्षेत्रमा भएका बाढीपहिरोलगायत विपद्बाट प्रभावित क्षेत्रमा सरकार निरन्तर उद्धार, राहत तथा व्यवस्थापनको काममा सक्रिय रहेको बताएका छन्।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी उपलब्ध स्रोतसाधन तथा जनशक्ति परिचालन भइरहेको जानकारी दिए।
उनले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत क्षेत्रमा भएको क्षतिको अध्ययन गरी पुनःस्थापना तथा व्यवस्थापनका काम अघि बढाइएको बताए। मुख्यमन्त्रीहरूलाई विपद् व्यवस्थापनका काममा ढुक्क हुन आग्रह गर्दै उनले सरकार आवश्यक सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले भविष्यमा हुने विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक उपाय अघि बढाइएको उनको भनाइ छ।
विपद्का बेला आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij