२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार र राष्ट्रको प्रतिष्ठासँग जोडिएको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा आईतवारबाट शुरु भएको पार्टीको १५ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधान मुख्य भएको जिकिर गरेका हुन् । महामन्त्री घिमिरेले लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको स्वीकार गरेका छन् ।
उनले नेपाली काँग्रेसका संस्थापक वीपी कोईरालाको सपनालाई स्मरण गर्दै, देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु नै पार्टीको मुख्य अभीष्ट हुनुपर्नेमा जोड दिएका छन्। महामन्त्री घिमिरेले देशका प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अगाडि बढ्न आग्रह गरेका छन्।
उनले भने, ‘राजनीतिको सार्थकता केही महत्वपूर्ण कुरामा निहित हुन्छ । राजनीतिको सार्थकता भनेको जनताको समुन्नत जीवन, राष्ट्रको सुरक्षा, राष्ट्रको प्रतिष्ठा र छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्ध हो । यिनै कुराले राजनीतिलाई सार्थक बनाउँछन् । लोकतन्त्रको सार्थकता भनेको जनताको सहभागिता, जनताको सम्मान र जनताको समुन्नति हो। लोकतन्त्रको सार्थकता सामूहिक भावनामा आधारित राष्ट्रियता हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij