Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

आज दिनभरकोे खबर

आज दिनभरकोे खबर


  • 190
    Shares

    आज दिनभरकोे खबर
    images

    १. हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
    काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व हनुमानढोका दरबार परिसरमा विधिवत रुपमा इन्द्रध्वजा (लिङ्गो) ठड्याएसँगै औपचारिक रुपमा शुरु भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार बुधवार लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजोत्थानको विशेष समारोहमा नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मले तोप पड्काएर र बन्दुकको सलामी अर्पण गर्दै राजकीय सम्मान प्रदान गरेको थियो । लिङ्गोको टुप्पोमा नागदेवताको प्रतिकस्वरुप ध्वजा फहराइएको छ भने फेदमा अष्टमातृका र इन्द्र भगवानको सुनौलो प्रतिमा राखी विशेष पूजा गरिएको छ । भक्तपुर र काभ्रेको सिमानास्थित चित्तपोलको जङ्गलबाट धार्मिक विधिपूर्वक काटिएको रानी सल्लाको काठलाई विशेष पूजापाठ गरी नगर प्रवेश गराएपछि हनुमानढोका पु¥याइएको थियो । वर्षा र उर्वरताका देवता इन्द्रको सम्मान र विजयको प्रतिकका रूपमा मनाइने यो जात्राले काठमाडौंको जनजीवनलाई केही दिनका लागि उत्सवमय बनाउनेछ । 

    २. सुर्खेतमा श्रीमतीको हत्या र दुई छोरी घाइते घटनाप्रति सरकारको ध्यानाकर्षण

    सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमतीको हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ । बुधवारको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानद्वारा श्रीमतीको हत्या र दुई छोरी गम्भीर घाइते भएको घटनाले आफूलाई मर्माहित बनाएको बताउँदै पीडित परिवारको न्याय र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद विकले संसदमा जानकारी गराएअनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवनका लागि पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको फरुवा प्रहार गरी हत्या गरेका हुन् । उक्त आक्रमणमा परी दम्पतीका दुई छोरीहरू गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन् । स्थानीय प्रहरीले समयमै उद्धार गरेका कारण बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सांसद विकले महिलामाथि भइरहेको हिंसा र असुरक्षाका श्रृङ्खलाप्रति आक्रोश पोख्नुभयो ।

    ३. सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानूनी प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । सुरक्षाकर्मीको समर्पण र राष्ट्रप्रतिको उच्च दायित्वबोधलाई सम्मान गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको उहाँले स्पष्ट पार्नुभयो । 

    ४. संक्रामक पशु रोग नियन्त्रण विधेयकः किसानलाई क्षतिपूर्ति र रोगको प्रभावकारी व्यवस्थापनमा सांसदहरूको जोड
    सांसदहरूले संक्रामक रोगबाट ग्रामीण अर्थतन्त्र जोगाउन, पशु स्वास्थ्य प्रणालीलाई वैज्ञानिक बनाउन र महामारीका बेला किसानलाई समयमै उचित क्षतिपूर्ति उपलब्ध गराउने स्पष्ट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलका क्रममा भाग लिँदै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । छलफलमा भाग लिँदै छलफलमा रास्वपाका सांसद अशोककुमार चौधरीले विगत तीन वर्षमा बर्ड फ्लु, लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर जस्ता रोगका कारण किसानले करिव ७५ अर्ब ५२ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै रोगको पहिचान र नियन्त्रणको गति एकै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सातै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना र पशु तथा मानव स्वास्थ्यको अन्तरसम्बन्ध बुझ्न ‘एक स्वास्थ्य’ अवधारणा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । 

    ५. वित्तीय प्रविधिमा क्रान्तिः भुक्तानी तथा फस्र्यौट ऐन संशोधनमार्फत आधुनिक अर्थतन्त्रको जग
    अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुत गतिमा विकास भइरहेको वित्तीय प्रविधि (फिनटेक) र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्बोधन गर्न ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ अपरिहार्य रहेको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यो संशोधन अर्थतन्त्रको आधुनिकीकरण र औपचारिकीकरणका लागि महत्वपूर्ण कदम भएको स्पष्ट पार्नुभएको हो । अर्थमन्त्री वाग्लेले डिजिटल प्रविधिमा भइरहेको तिब्र विकासका कारण विद्यमान कानुनले हालका चुनौतीहरूलाई ‘क्याचअप’ गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले नयाँ विधेयकले भुक्तानी प्रणालीको दायरा फराकिलो बनाउँदै उपभोक्ताको डेटा सुरक्षा र प्रणालीगत जोखिम न्युनिकरणमा जोड दिएको बताउनु भयो । 

    ६. वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छः मन्त्री चौधरी
    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु संरक्षणलाई संरक्षित क्षेत्रको प्रशासनिक घेराभित्र मात्र सिमित नराखी व्यापक बनाउनुपर्ने बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित २० औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा मन्त्री चौधरीले प्रकृतिको संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वका लागि तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकायबीच बलियो साझेदारी आवश्यक रहेको बताउनुभएको हो । मन्त्री चौधरीले वर्तमान समयमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई मात्र प्राथमिकतामा नराखी ‘सहअस्तित्व’को अवधारणालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । नेपाल सरकारले यस आर्थिक वर्षदेखि राष्ट्रिय बजेट प्रणालीमै ‘मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम’ समावेश गरेको जानकारी दिँदै उहाँले द्वन्द्व न्युनिकरण कार्यदलको प्रतिवेदनका आधारमा रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको बताउनु भयो ।

    ७. रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा
    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले चुनावी प्रतिवद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गर्नुभएको हो । सांसद झाले गत वर्ष चुनावी अभियानको क्रममा जनकपुरमा गरिएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रतिवद्धता स्मरण गराउनु भयो । मन्त्रिपरिषद्ले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको उनले बताउनु भयो । साथै, उहाँले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको प्रशंसा गर्नुभयो । 

    ८. माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर)
    कठमाडौंका प्राचीन इँटाले बनेका गल्लीहरूमा जब धीमे बाजाको ‘घिं तां तां घिं’ तालको गति बढ्दै गयो, तब हजारौँको भीड एकैपटक चिच्यायो– ‘लाखे आयो, लाखे आयो’ । रातो कपाल फिँजाएर, आँखा तरेर र हातमा रङ्गीबिरङ्गी पखेटा फैलाएर जब माजिपा लाखे आजु अगाडि बढे, सडकको चिसो ढुङ्गामा तातो कम्पन छुट्यो । सँगै किलागलको चोकबाट घण्टा बजाउँदै निस्किएको सेतो ऐरावत हात्ती ‘पुलुकिसी’ र सेतो फेटा बाँधेर लाखेलाई जिस्क्याउने फुच्चे ‘झ्यालिन्चा’ ले काठमाडौंको ऐतिहासिक कोर क्षेत्रलाई जात्रामय बनाएको छ । संसारमा दानव वा राक्षसलाई शत्रु ठानिन्छ, तर नेवार संस्कृतिमा दानवलाई पनि सम्मान र प्रेम दिएर ‘आजु’ (हजुरबुबा–कुलदेवता) को दर्जा दिइन्छ । 

    ९.मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
    प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको जानकारी संसदलाई गराइएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्दै आउनुभएको दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा. स्वर्णम वाग्लेले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नुभएको प्रतिनिधि सभाको बुधवारको बैठकमा जानकारी गराइएको हो । सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने कामकारबाहीबारे जानकारी गराइएको हो । –न्युज एजेन्सी नेपाल

    १०. मधेसका यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र पठाइयो
    मधेस प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र पठाइएको छ । मधेसको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउँदै वितरण तथा आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयकाअनुसार सबैभन्दा धेरै स्मार्ट कार्ड यातायात व्यवस्था कार्यालय गौरका लागि १ हजार १९१ थान र वीरगञ्जका लागि १ हजार १७२ थान पठाइएको छ । त्यसैगरी जनकपुरधामका लागि ९३२, लहानका लागि ४६०, बर्दिवासका लागि ३०३, राजविराजका लागि ५२, मलंगवाका लागि ३२ र कलैयाका लागि ११ थान स्मार्ट कार्ड छुट्याइएको छ ।

    ११. मधेस प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण
    मधेसको गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । रोल...
    गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गर्नु भएको हो । बुधवार आयोजित कार्यक्रममा मन्त्री महतोले मधेस प्रहरीलाई ३५ वटा मोटरसाकइल हस्तान्तरण गर्नुभयो भने बिहिवार सशस्त्र प्रहरीलाई २० मोटरसाइकल हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो । प्रदेशमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन तथा प्रहरीको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । मोटरसाइकल उपलब्ध भएपछि प्रहरीको नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनका काममा थप सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो । 
    बाइट...फकिरा महतो, मन्त्री गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेस प्रदेश 

    १२. भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा राज्य प्रतिवद्धः ऊर्जामन्त्री श्रेष्ठ
    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन सामान्य लयमा फर्काउन राज्य पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो । गत भदौ १० गतेको बाढीले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले विपत्तिको यस घडीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताउनु भयो । उहाँले प्रतिकुल मौसम र भौगोलिक जटिलताका बाबजुद अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । साथै, बाढीपीडितलाई सहयोग गर्न स्वदेश तथा विदेशबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो । 

    १३. भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइनः सांसद बुढाथोकी
    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा प्रश्तुत ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उक्त विधेयक कोशेढुङ्गा सावित हुने उहाँको जिकिर छ । सांसद डा. बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रश्तुत सो विधेयकले भुक्तानी तथा फस्र्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानूनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । सांसद बुढाथोकीले भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई वचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको बताउनु भयो ।
    १४. भुक्तानी तथा फस्र्यौट विधेयकः स्वदेशी सेवा प्रदायकको संरक्षण र साइबर सुरक्षामा नेकपा सांसद बयकको चासो
    नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुँजी पलायन, साइबर सुरक्षा र स्वदेशी कम्पनीको संरक्षणमा सरकार थप सजग हुनुपर्नेमा जोड दिनुभयो । सांसद बयकले विश्वव्यापी रूपमा फैलिएको आर्थिक सञ्जाल र डिजिटल भुक्तानीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै विधेयकले विदेशी सेवा प्रदायकलाई बजारमा प्रवेश गराउने प्रावधान ल्याउनु सकारात्मक कदम भएको बताउनु भयो । यसले प्रविधि हस्तान्तरण र बजारमा स्वस्थ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने उहाँको अपेक्षा छ ।

    १५. भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल
    मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च शतर्कता र सावधानी अपनाउन अपिल गरेको छ । बोर्डले विशेषगरी यही असोज ९ गते शुक्रवारदेखि ११ गते आईतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे गतिविधि स्थगित गर्न समेत आग्रह गरेको हो । नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले हाल पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै सावधानी अपनाउन जोड दिनुभयो ,

    १६. बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग
    नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ ।बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचेतक दुलालले बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारले राहत पाउन नसकेको र उनीहरूको दैनिक आर्थिक कारोबारसमेत ठप्प भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यसैगरी, मलेसियाको वैदेशिक रोजगारीमा सिर्जित पछिल्लो सिन्डिकेटको विषयमा पनि उहाँले आपत्ति जनाउनु भयो । इतिहासमै पहिलो पटक मलेसिया जाने कामदारका लागि सिन्डिकेट लागू गरी ११ सयभन्दा बढी म्यानपावर कम्पनीमध्ये केवल २५ वटालाई मात्र रोजगारदाता छनोटको अधिकार दिइएको विषयले नेपाली बजारमा समस्या खडा गरेको उहाँको भनाइ छ । 

    १७. बुटवल काँग्रेसको नगर अधिवेशनः सभापतिका लागि ज्योति भण्डारी र जितबहादुर मल्लबीच प्रतिष्पर्धा
    नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि आज मतदान शुरु भएको छ । रोल... 
    नगर सभापतिको पदका लागि ज्योति भण्डारी र जितबहादुर मल्लले आ–आफ्नो उम्मेदवारी प्रश्तुत गरेसँगै चुनावी प्रक्रिया अगाडि बढेको हो । बुटवलमा जारी नगर अधिवेशन अन्तर्गत मतदान प्रक्रियामा प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाइरहेका छन् । लामो समयदेखि चर्चामा रहेको नगर सभापतिको निर्वाचनमा दुई नेताहरू भण्डारी र मल्लबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । निर्वाचन समितिले तोकेको समयसीमाभित्र मतदान प्रक्रिया सुचारु भएपछि बुटवलमा चुनावी माहोल तातेको छ । दुवै उम्मेदवारले आ–आफ्ना एजेण्डासहित प्रतिनिधिहरूको मत तान्न अन्तिम प्रयास गरिरहेका छन् । स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ र गतिशीलता प्रदान गर्ने दाबीसहित उनीहरू मैदानमा उत्रिएका हुन् । मतदान सकिएलगत्तै गणना शुरु हुने र आजै साँझसम्ममा नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । यो अधिवेशनलाई आगामी स्थानीय र आम निर्वाचनका लागि समेत महत्वपूर्ण रूपमा हेरिएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो । अहिले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरूको उपस्थिति उल्लेख्य रहेको छ । 

    १८. बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
    भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । राष्ट्रिय प्रशारण प्रणालीबाट ४१० मेगावाट विद्युत गुमेको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले उक्त विपद्का कारण ऊर्जा क्षेत्रमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण पेश गर्नुभयो । ऊर्जा मन्त्रालयकाअनुसार विपद्मा परी नेपाल विद्युत प्राधिकरणका ४७ सहित ८ सयभन्दा बढी कर्मचारी र कामदार बेपत्ता छन् । मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१, थ्री–ए, रसुवागढी लगायतका विभिन्न आयोजनामा ठूलो मानवीय र भौतिक क्षति भएको सदनलाई जानकारी गराउनु भयो । अहिलेसम्मको खोज तथा उद्धार कार्यबाट केही व्यक्तिको सकुशल उद्धार भए पनि ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन् ।

    १९. प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि
    प्रधानमन्त्री बालेन्द्र साहको संयुक्त राष्ट्रसंघको महासभामा हुने भ्रमणलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । भ्रमणअघि संसदमा सम्बोधन गर्नुपर्ने र सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाउनुभएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएकाले यसमा व्यापक गृहकार्य आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयमा टिप्पणी गर्दै दुलालले यदि यो त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा गरिएको हो भने यसलाई स्वाभाविक रूपमा लिन सकिने बताउनु भयो । यद्यपि, राष्ट्रिय पहिचानका लागि यस्ता प्रोटोकलहरू परम्परागत र महत्वपूर्ण हुने उहाँको भनाइ छ । साथै, विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या कटौती भएको विषयलाई उहाँले सकारात्मक रूपमा लिनुपर्ने बताउनु भयो ।

    २०. प्रतिपक्षको भुमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छः महामन्त्री पौडेल
    नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आगामी १५ औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो । महामन्त्री पौडेलले काँग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको निराशालाई चिर्नुपर्ने बताउनु भयो । महामन्त्री पौडेलले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभयो । उहाँले काठमाडौं महानगरलाई सन्देश दिने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट गरिने निर्णय र सक्रियताले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो । 

    २१. प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड
    प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । रोल... 
    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको हो । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रश्तुत गर्नुभयो । मन्त्री लम्सालले सो विधेयक प्रश्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनैपनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति दिएका थिए ।

    २२. प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
    सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनस्र्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् । सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु भयो । उहाँले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्वतयारीबारे समेत प्रश्न गर्नुभयो । 

    २३. पशुपंक्षीमा लाग्ने महामारी नियन्त्रण गर्न नयाँ कानून अनिवार्यः मन्त्री चौधरी
    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपंक्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रणका लागि नयाँ कानूनी ढाँचा अपरिहार्य रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा उहाँले राष्ट्रिय सभाबाट पारित भई आएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै देशको पशुपालन व्यवसाय र अन्तर्राष्ट्रिय निर्यातको सुरक्षाका लागि विद्यमान पशु स्वास्थ्य ऐन, २०५५ पर्याप्त नभएको दाबी गर्नुभएको हो । नेपालमा करिव ३४ लाख परिवार पशुपालनमा आश्रित छन् । किसानले दैनिक ७३ लाख लिटर दुध, १२ लाख ५० हजार केजी मासु र ४८ लाख अण्डा उत्पादन गर्दै ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाएका छन् । यद्यपि, लम्पी स्किन, अफ्रिकन स्वाइन फिभर र बर्ड फ्लुजस्ता महामारीले वर्षेनी ठूलो आर्थिक क्षति पु¥याउँदै आएको छ । मन्त्री चौधरीले वर्तमान कानून सङ्घीय संरचनाअनुकूल नभएकाले तीन तहका सरकारबीच समन्वयको अभावमा रोग नियन्त्रणमा जटिलता देखिएको बताउनु भयो ।

    २४. पशुपंक्षी बीमा सहज बनाउन र महामारी पीडित किसानलाई राहत दिन एमाले सांसदको माग 
    नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले वर्षेनी फैलिने बर्डफ्लुलगायतका सङ्क्रामक रोगबाट पीडित किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको प्रवन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । किसानलाई सुरक्षित राख्न बीमा प्रक्रिया सहज बनाउनुपर्ने र विधेयकको दायरा फराकिलो बनाएर पक्षीहरूलाई समेत समेट्नुपर्ने बताउनु भयो । प्रतिनिधि सभाको बुधवारको बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले पेश गर्नुभएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले किसानमैत्री कानून निर्माणमा जोड दिनुभयो । 
    सांसद श्रेष्ठले विधेयकको नाम नै अपूर्ण रहेको टि

    २५. नेकपा सांसदको प्रश्नः सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?
    नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पु¥याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभएको छ ।बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताउनुभएको हो । सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा (एमाले) संवद्ध युवा संगठनका सदस्यहरू शुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराउनु भयो । उहाँले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको नमूना प्रश्तुत गरेको समेत उल्लेख गर्नुभयो । 

    २६. नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः अर्थमन्त्री वाग्ले
    अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ ।बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उहाँले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गर्नुभएको हो । अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकहरूको भविष्यसँग जोडिएको संवेदनशील संस्था भएको उल्लेख गर्दै यसलाई समयानुकुल अद्यावधिक गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सांसदहरूले उठाएका विषयहरूलाई पाँचवटा मुख्य बुँदामा संश्लेषण गर्दै लगानीको दायरा फराकिलो बनाउन र संस्थागत सुधार गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो । 

    २७. नागरिक लगानी कोषलाई राष्ट्रिय पुँजी निर्माणको आधार बनाउन सांसदहरूको जोड
    सांसदहरुले नागरिकको वचतलाई सुरक्षित गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार र प्रविधिलगायतका उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले यस्तो बताएका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रश्तुत उक्त विधेयकमाथि भाग लिँदै सांसदहरूले कोषको हालको ३ खर्बभन्दा बढी रकमलाई थप चलायमान बनाउँदै राष्ट्रिय पुँजी निर्माणको मुख्य औजारका रूपमा प्रयोग गर्नुपर्ने बताए । सांसदहरूले विद्यमान कानूनी व्यवस्थाले लगानीका सिमित दायरालाई मात्र समेटेको भन्दै अब पूर्वाधार, जलविद्युत, डेटा सेन्टर र प्रविधि जस्ता लामो अवधिको प्रतिफल दिने क्षेत्रमा लगानीको ढोका खोल्नुपर्ने आवश्यकता औँल्याए । 

    २८. नागरिक लगानी कोषलाई गतिशील बनाउन ऐन संशोधन आवश्यकः सांसद बराल
    नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले प्रश्न उठाउनुभएको हो । उहाँले विधेयकले कोषको समग्र सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो । सांसद बरालले ३५ वर्षको इतिहास बोकेको नागरिक लगानी कोषले अबका दिनमा आधुनिक प्रविधि र गतिशील कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो । कोषमा रहेको ठूलो पुँजी बैंकहरूमा स्थिर निक्षेपका रूपमा मात्र रहनुले कोषको प्रभावकारितामाथि प्रश्न उठेको उहाँको भनाइ छ । 
    बरालले भन्नुभयो, ‘हाल कोषको झन्डै ४९ प्रतिशत रकम बैंकमा स्थिर निक्षेपका रूपमा छ, जुन चिन्ताको विषय हो। उत्पादनशील क्षेत्रमा लगानी खोज्नु आजको प्रमुख आवश्यकता हो ।’

    २९. नागरिक लगानी कोष विधेयकमा नेकपा सांसदको असहमतिः रियल इस्टेट र शिक्षा–स्वास्थ्यमा लगानीको विरोध
    नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गर्नुभएको छ ।प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । कोषको लगानीका क्षेत्र विस्तार गर्ने सरकारको प्रश्तावप्रति असहमति जनाउनु भयो । सांसद तामाङले रियल इस्टेट (घरजग्गा) व्यवसायमा लगानी गर्ने सरकारी प्रश्ताव जोखिमपूर्ण रहेको औंल्याउँदै यसले वित्तीय संकट निम्त्याउन सक्ने चेतावनी दिनुभयो । विश्व अर्थतन्त्रमा रियल इस्टेटको असफलताले निम्त्याएको संकटलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उनले यस क्षेत्रको लगानीमा सावधानी अपनाउन आग्रह गर्नुभयो । 

    ३०. तेन्जिङले दिलाए २० औं एशियाली खेलकुदको पहिलो पदक 
    नेपालका लागि करातेका तेन्जिङ शेर्पाले जापानमा भएको २० औं एशियाली खेलकुद एसियाली खेलकुदमा देशलाई पहिलो पदक दिलाएका छन् । टोयोहासी जिम्नेसियममा बुधवार भएको कुमुते ८४ केजी तौलसमूहमा काँस्य पदकको लागि तेन्जिङले लाओसका सायासान भथानालाई ९–१ ले हराए । यस क्रममा तेन्जिङले युकोबाट ६ र इप्पोनबाट ३ स्कोर गरे । छायासानले एउटा युको प्रहार गरे । जारी एसियाली खेलकुदमा करातेको यो अन्तिम प्रतिष्पर्धा हो । करातेमा कुल ७ पदकका लागि नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कातामा दुई तथा कुमुतेमा पाँच इभेन्टमा नेपालले प्रतिष्पर्धा गरेको हो । तीमध्ये पाँच विधामा नेपाली करातेले पदकका लागि प्रतिस्पर्धा गरेको थियो । तीमध्ये तेन्जिङले सफलता पाए । 

    ३१. डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वव्यापी सञ्जालसँग जोड्न आवश्यकः काँग्रेस सांसद कर्ण 
    नेपाली काँग्रेस सांसद निनुकुमारी कर्णले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वव्यापी सञ्जालसँग जोड्न आवश्यक कानूनी प्रवन्ध गर्नुपर्ने बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभामा ‘भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । सांसद कर्णले पछिल्लो समय मुलुकको भुक्तानी तथा फस्र्यौट प्रणालीमा भइरहेको विकास र विस्तारका लागि विद्यमान ऐनमा समसामयिक संशोधन आवश्यक रहेको बताउनु भयो । उहाँले विधेयकले विदेशी कम्पनीहरूलाई नेपालमा लगानीका लागि मार्गप्रशस्त गर्ने उल्लेख गर्दै, यसबाट डिजिटल बैंकिङ, ई–कमर्स र रेमिट्यान्सको क्षेत्रमा थप सुधारको अपेक्षा गर्न सकिने बताउनुभयो।्ल्लछलफलका क्रममा सांसद कर्णले उपभोक्ताको रकम सुरक्षामा विशेष ध्यान पु¥याउनुपर्ने खाँचो औंल्याउनु भयो । उहाँले कुनैपनि भुक्तानी सेवा प्रदायकको इजाजतपत्र खारेज वा नवीकरण नभएको अवस्थामा त्यस्ता संस्थामा रहेको ग्राहकको डिजिटल मुद्रा (ई–मनी) ३० दिनभित्र फिर्ता गर्ने अनिवार्य कानूनी व्यवस्था विधेयकमा नै स्पष्ट रूपमा उल्लेख हुनुपर्ने माग गर्नुभयो । 
    डिजिटल कारोबारको विस्तारसँगै बढ्न सक्ने साइबर जोखिम र व्यक्तिगत विवरणको सुरक्षाका विषयमा राष्ट्र बैंकको भुमिका र जवाफदेहिता थप प्रष्ट हुनुपर्नेमा उहाँको जोड छ ।

    ३२. डिजिटल भुक्तानी प्रणालीमा सुरक्षा चुनौती छः सांसद बराल
    नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसद बरालले डिजिटल भुक्तानी अहिलेको अपरिहार्य आवश्यकता भएको स्वीकार गर्दै यसको प्रवद्र्धनमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको हो । तर प्रणालीको सुरक्षा र उपभोक्ताले भोग्नुपरेका व्यावहारिक कठिनाइप्रति सरकार मौन रहन नहुने उहाँको भनाइ छ । उनले आफ्नै ई–सेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हराएको व्यक्तिगत अनुभव सुनाउँदै सर्वसाधारणको रकम कति सुरक्षित छ भन्ने प्रश्न गर्नुभयो । 

    ३३. एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी 
    नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रिय कमिटीको बैठक आज बिहान ९ बजेदेखि ललितपुरमा जारी छ । पार्टीका केन्द्रिय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको बैठकमा प्रत्येक सदस्यका लागि अधिकतम तीन मिनेटको समय सीमा निर्धारण गरिएको छ । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक पार्टीको सांगठनिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने उद्देश्यसहित बसिरहेको छ । बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टीको आन्तरिक एकता, समसामयिक राजनीतिक परिस्थिति र आगामी योजनाका विषयमा आ–आफ्नो धारणा राख्ने क्रम जारी राखेका छन् । पार्टी नेतृत्वले सबै सदस्यहरूलाई आफ्ना विचार संक्षिप्त रूपमा प्रश्तुत गर्नका लागि तीन मिनेटको समय तोकेको छ । निर्धारित समयभित्रै आफ्ना महत्वपूर्ण सुझाव र आलोचना राख्नुपर्ने भएकाले सदस्यहरूले पार्टीको प्राथमिकताका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखिरहेका छन् । बैठकमा प्रश्तुत हुने धारणा र सुझावहरूलाई पार्टीले आगामी नीति तथा कार्यक्रम तय गर्न आधारका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको छ । 

    ३४. आर्कटिकमा अमेरिकाको सैन्य उपस्थिति विस्तारः अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच नयाँ सुरक्षा सम्झौता
    संयुक्त राज्य अमेरिका, डेनमार्क र ग्रिनल्याण्डले आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने उद्देश्यले एक महत्वपूर्ण त्रिपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा भएको यो सम्झौताले रणनीतिक रूपमा संवेदनशील ग्रिनल्याण्डमा अमेरिकी सैन्य पहुँचलाई थप फराकिलो बनाएको छ । न्युयोर्कमा सम्पन्न सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेन र ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले उत्तर–पश्चिमी ग्रिनल्याण्डमा रहेको ’पिटुफिक स्पेस बेस’ को आधुनिकीकरण र विस्तारका लागि बाटो खुला गरेको छ । यसका साथै, नार्सारसुवाक र मेस्टरस्भिग मा नयाँ रक्षा क्षेत्रहरू स्थापना गरिनेछन् । सम्झौताको प्रावधानअनुसार अमेरिकी सैन्य विमानहरूले ग्रिनल्याण्डको सम्पूर्ण भू–भाग र क्षेत्रीय जलक्षेत्रमा निर्बाध उडान र अवतरण गर्न पाउनेछन् । साथै, अमेरिकी सार्वजनिक जहाजहरूलाई पनि क्षेत्रीय जलक्षेत्रमा विशेष पहुँच प्रदान गरिएको छ । यी अधिकारहरू सन् १९५१ को रक्षा सम्झौता र सन् २००४ को परिमार्जित सन्धिको आधारमा थप व्यवस्थित र फराकिलो पारिएका हुन् । 

    ३५. इण्डोनेसियाको पश्चिम सुमात्रामा बाढीको वितण्डाः एक जनाको मृत्यु, चार घाइते
    इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तस्थित सोलोक जिल्लामा सोमवार राति आएको विनाशकारी बाढीमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । भारी वर्षाका कारण बालुवा, ढुङ्गा र लेदोसहित उर्लिएको बाढीले व्यापक भौतिक क्षति पु¥याउनुका साथै सो क्षेत्रको मुख्य सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनाएको स्थानीय अधिकारीहरूले मंगलवार पुष्टि गरेका छन् । पश्चिम सुमात्रा प्रान्तीय प्रहरी प्रमुख जति वियोतो अबाधीकाअनुसार स्थानीय समयअनुसार सोमबार राति करिव ८ बजे भीषण बाढी बस्ती र सडकमा पसेको थियो। बाढीले बगाएर ल्याएको गेग्रान, बालुवा र ढुङ्गाका कारण पाडाङ र सोलोक जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएको छ । जसका कारण यातायात आवागमन ठप्प हुनुका साथै आवतजावतमा गम्भीर समस्या पैदा भएको छ । बाढीले मानवीय क्षतिका अलावा ठूलो परिमाणमा भौतिक संरचनामा समेत क्षति पु¥याएको विपद् व्यवस्थापन निकायले जनाएको छ । प्रारम्भिक विवरणअनुसार ११ वटा सरकारी कार्यालय, २१ वटा चारपाङ्ग्रे सवारीसाधन र सात वटा मोटरसाइकल बाढीको चपेटामा परी क्षतिग्रस्त भएका छन् । 

    ३६. जाग्रेबमा ‘कार–फ्री डे’ः सवारी आवागमनमा रोक र सार्वजनिक यातायात निःशुल्क
    क्रोएसियाको राजधानी जाग्रेबले मंगलवार ‘कार–फ्री डे’ (कारमुक्त दिवस) मनाएको छ । युरोपेली गतिशीलता सप्ताहको एक हिस्साका रूपमा आयोजित यो कार्यक्रमले सहरको व्यस्त केन्द्रमा निजी सवारी साधनलाई निषेध गर्दै सार्वजनिक यातायातलाई निःशुल्क बनाउने निर्णय गरेको छ । शहरका अधिकारीहरूकाअनुसार मंगलवार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सहरको मुख्य केन्द्रमा निजी सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ । यो अवधिमा केवल अत्यावश्यक सेवाका सवारी, सार्वजनिक यातायात, ट्याक्सी र स्थानीय बासिन्दाका साधनलाई मात्र प्रवेशको अनुमति दिइएको छ । शहरलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले अपनाइएको यस नीतिलाई स्थानीय नागरिकले उत्साहजनक रूपमा लिएका छन् ।

    ३७. ट्राफिक प्रहरीको समयमै सचेतताले जोगियो तीन जनाको ज्यानः दुर्घटनाको केही सेकेण्डअघि सुरक्षित स्थानमा सरे परिवार
    चीनको पूर्वी प्रान्त आन्हुइको हेफेइस्थित राजमार्गमा गाडी बिग्रिएर अलपत्र परेको एक परिवार ट्राफिक प्रहरीको समयमै पाएको निर्देशनका कारण मृत्युको मुखबाट जोगिएको छ । ट्राफिक प्रहरीले परिवारलाई गाडीबाट निस्केर सुरक्षा घेरा (गार्डरेल) बाहिर जान ताकेता गरेको १० सेकेण्डमै उनीहरूको गाडीलाई एउटा ट्रकले ठक्कर दिएको थियो । शुक्रवारको घटनामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी मात्र निर्वाह गरेनन्, बरु एक परिवारको जीवन रक्षाका लागि निर्णायक भूमिका खेलेका छन् । राजमार्गको दोस्रो लेनमा गाडी बिग्रिएर रोकिएपछि उक्त परिवार जोखिमपूर्ण अवस्थामा थियो । ट्राफिक प्रहरीको निगरानीका क्रममा उक्त गाडी देखेपछि उनले तुरुन्तै चालकलाई फोन गरी सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए । चालकले गाडीभित्र रहेको बच्चाको ज्याकेट लिन फर्किने जिद्दी गर्दा प्रहरीले निकै कडा शब्दमा चेतावनी दिएका थिए । उनले चालकलाई भनेका थिए, ‘ज्याकेटका लागि ज्यान जोखिममा नपार्नुहोस्, अहिलेको अवस्थामा के ज्याकेटको मूल्य तपाईंको ज्यानभन्दा ठूलो छ ?’

    ३८. तीन वर्षपछि गाजामा विद्यालयको ढोका खुल्योः टेन्ट र भग्नावशेषमै शिक्षाको उज्यालो
    युद्धको विभीषिका खेपिरहेको गाजा पट्टीमा तीन वर्षको लामो अन्तरालपछि शनिवारदेखि प्रत्यक्ष कक्षा (इन–पर्सन लर्निङ) सुरु भएको छ । इजरायल–हमास द्वन्द्वका कारण थिलथिलो बनेको शैक्षिक क्षेत्रमा अब विद्यार्थी भत्किएका संरचना वा अस्थायी टेन्टहरूमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन् । प्यालेस्टिनी शिक्षा तथा उच्च शिक्षा मन्त्रालयका अनुसार, गाजामा करिव ५ लाख ४१ हजार विद्यार्थी शैक्षिक कार्यक्रममा सामेल भएका छन् । यसमध्ये करिव १ लाख विद्यार्थी संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्गतका विद्यालयमा अध्ययनरत छन् । शनिवारदेखि न्युसेरात शिविर र गाजा सहरका केही सरकारी विद्यालयबाट शुरु भएको यो अभ्यास अब अन्य अस्थायी सिकाइ केन्द्रहरूमा विस्तार गर्ने योजना छ । द्वन्द्वका कारण विद्यालयका भवनहरू विस्थापितहरूको आश्रयस्थल बनेका छन्, जसले गर्दा पढाइ सञ्चालनका लागि टेन्ट र अस्थायी संरचनाहरूको सहारा लिनुपरेको छ । स्थानीय शिक्षक मोहम्मद तानिरा भन्छन्, ‘कठिन परिस्थिति भए पनि शिक्षाप्रतिको मोह र भविष्यको आशाले गर्दा हामी युद्धका बीच पनि शैक्षिक प्रक्रियालाई निरन्तरता दिइरहेका छौं ।’

    ३९. दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केअन–हीको कैद सजाय ५ वर्षमा झर्यो
    दक्षिण कोरियाको एक पुनरावेदन अदालतले पूर्व राष्ट्रपति युन सुक–योलकी पत्नी किम केअन–हीलाई दिइएको सात वर्षको जेल सजाय घटाएर पाँच वर्ष कायम गरेको छ । मंगलवार सिओल उच्च अदालतले गरेको फैसलामा केही अभियोगहरूमा उनलाई सफाइ दिँदै सजायमा दुई वर्ष कटौती गरिएको हो । सिओल उच्च अदालतले सरकारी पद विक्री र भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै पूर्व प्रथम महिला किम केअन–हीविरुद्धको सजाय घटाएको हो । अदालतले उनलाई केही साना अभियोगहरूबाट सफाइ दिए पनि मुख्य भ्रष्टाचारका मुद्दाहरूमा दोषी ठहर गरेको छ । फैसलासँगै अदालतले उनले उपहारस्वरूप लिएका सामग्रीहरू जफत गर्ने आदेश दिएको छ भने २४.४ मिलियन वन (करिब १८ हजार अमेरिकी डलर) जरिवाना तोकेको छ ।

    ४०. मलेसियामा तलव र ज्यालामा सुधारः सन् २०२५ मा औसत मासिक कमाइ ४.१ प्रतिशतले बढ्यो
    मलेसियामा सन् २०२५ मा नागरिकहरूको औसत मासिक तलव र ज्यालामा ४.१ प्रतिशतको वृद्धि देखिएको छ । मलेसियाको तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार औसत मासिक कमाइ ३,८०३ रिंगित (करिव ९३३ अमेरिकी डलर) पुगेको छ । तथ्यांक विभागकाअनुसार मध्यम मासिक तलबमा भने ५.३ प्रतिशतको वृद्धि देखिएको छ, जसले २,९४० रिंगितको विन्दु छोएको छ । यो तथ्यांकले मलेसियाको श्रम बजारमा देखिएको सकारात्मक सुधार र श्रमिकको आम्दानी स्तरमा भएको वृद्धिलाई पुष्टि गरेको छ । श्रम बजारको विस्तारमा सेवा क्षेत्रको भुमिका सबैभन्दा महत्वपूर्ण देखिएको छ ।

    ४१. वेस्ट बैंकमा शिक्षाको संघर्षः इजरायली सैन्य घेराबन्दी र असुरक्षाका बीच विद्यार्थीको कष्टकर यात्रा
    इजरायली सैन्य कारबाही, बस्तीमा हुने हिंसा र आवागमनमा लगाइएको कडा प्रतिवन्धका कारण वेस्ट बैंकका प्यालेस्टिनी विद्यार्थीका लागि विद्यालय पुग्नु दैनिक जीवनको सबैभन्दा ठूलो चुनौती बनेको छ । सन् २०२३ को अक्टोबरयता लगाइएको नाकाबन्दी र चेकपोस्टहरूको कडाइले गर्दा शैक्षिक वातावरण गम्भीर रूपमा खलबलिएको छ । उत्तरी वेस्ट बैंकको कासरा शहरस्थित ‘मार्टिर यासेर अराफात बेसिक मिक्स स्कुल’ अहिले शिक्षाको केन्द्रभन्दा पनि असुरक्षाको प्रतीक बनेको छ ।

    ४२. स्पेनिस टोलीका प्रशिक्षक लुइस डे ला फुएन्टेको सम्झौता २०३२ सम्म थपियो
    स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो सम्झौता अवधि सन् २०३२ सम्मका लागि लम्ब्याएका छन् । स्पेनलाई हालैका वर्षहरूमा लगातार ठूला प्रतियोगिताहरूमा उपाधि जिताएर कीर्तिमानी सफलता हात पारेका डे ला फुएन्टेसँगको यो सम्झौताले आगामी विश्वकप र युरोपियन च्याम्पियनसिपसम्म उनको नेतृत्व सुरक्षित गरेको छ । स्पेनिस फुटबल महासंघले लिएको यो निर्णयलाई टोलीको पछिल्लो शानदार लयको पुरस्कारको रूपमा हेरिएको छ । 

    ४३. डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण
    चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डिएनए परिक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ । रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । बुधवार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा कार्यक्रममा नेपालका लागि चीनका राजदुत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नाष्टलाई हस्तान्तरण गर्नुभएको छ ।

    ४४. पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउन विज्ञहरुको सुझाव
    नेपालमा पठन संस्कति हराउँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको पुस्तकालय नीति मस्यौदामाथिको छलफलमा सरोकारवालाहरुले पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो । छलफलमा सहभागी विज्ञहरूले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई शिक्षा, सूचना, नागरिक सहभागिता र स्थानीय ज्ञान हस्तान्तरणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । विज्ञ डा. हरि लम्सालले मोबाइलको बढ्दो प्रयोगका कारण पठन संस्कृतिमा कमी आएको बताउनु भयो । 

    ४५. पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रको साख कमजोर हुँदै गएको बताउनुभएको छ । रोल...
    हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रको व्यवसयिकतामा प्रश्न उठ्ने गरेको बताउनुभएको हो । उहाँले पत्रकारिताको गरिमा र साख जोगाउने जिम्मेवारी प्रत्येक पत्रकारको रहेको बताउनु भयो । पत्रकारिता आफैंमा एउटा संस्था भएकोले यसलाई कसरी अगाडी बढाउने भन्ने जिम्मेवारी स्वयं पत्रकारहरुको रहेको उहाँको भनाई छ । उहाँले नेपाल पत्रकार महासंगप्रति लक्षित गर्दै कुनै अमुक संस्थाले पत्रकारिताको ठेक्का लिएर हिडेको आरोप लगाउनु भयो । उहाँले ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्रको पत्रकारिताको क्षेत्रका संरक्षण गर्न नसकेको आरोप लगाउनु भयो । 

    ४६. मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने
    मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले बुधवार पत्रकार सम्मेलन गरी असोज १२ गतेदेखी १७ गतेसम्म लुम्बनी प्रदेशको बुटवलमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका ८ वटा टोली सहभागी हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), खैरा क्लब पञ्जाब (भारत), श्रीलंका पुलिस क्लव कोलम्बो (श्रीलंका), मणिमुकुन्द भलिबल क्लव बुटवल, सभापोखरी भलिबल क्लव संखुवासभा र गल्कोट भलिबल क्लब बागलुङ सहभागी हुनेछन् । प्रतियोगिता बुटवलस्थित बीआईसीसी परिसरमा अस्थायी संरचना निर्माण गरी सञ्चालन गर्ने अध्यक्ष आचार्यले बताउनुभयो ।

    ४७. रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव
    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको छ । बुधवार मन्त्रालयमा सीप तथा रोजगार मेलाको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको ‘मिसम्याच’ अन्त्य गर्नेगरी काम अगाडी बढाएको बताउनुभएको हो । रोजगारदाता र श्रमिकलाई एउटै प्लेटफर्ममा जोड्ने गरी सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको उहाँले बताउनु भयो । चालु वर्ष एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको उहाँको भनाई छ । मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहेको भएपनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो । ४८. सरकारले असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला गर्ने  
    युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । रोल...
    मन्त्रालयमा बुधवार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो । सीप विकास तथा रोजगारी प्रवद्र्धनका लागि सीप तथा रोजगार मेला राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले बताउनु भयो । मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा मेला आयोजना गर्ने तयारी उहाँको भनाई छ । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको उहाँले बताउनु भयो । उहाँकाअनुसार सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने उद्देश्यले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ । सोही नीतिअनुसार मन्त्रालयले मेलामार्फत सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरि मेला आयोजना गरेको हो । मेलामा जब प्लेसमेन्ट तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान गर्ने व्यवस्था गर्ने उहाँले बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘यो सीप तथा रोजगार मेला नेपाल सरकारकै तर्फबाट आयोजना गर्न लागिएको हो । विदेशी रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्दै नेपालमै रोजगारीका सुन्दर र स्वर्णिम अवसर सिर्जना गर्ने उद्देश्यका साथ सरकारले रोजगारी दशकको अवधारणा अघि सारेको छ । यही उद्देश्यलाई सहयोग पुग्ने गरी हामीले सीप तथा रोजगार मेला आयोजना गर्न लागेका हौँ । मन्त्रालयको बजेट तथा कार्यक्रममा यसलाई महत्वपूर्ण राष्ट्रिय ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा अघि बढाउने व्यवस्था गरिएको छ । नेपालभरका सातवटै प्रदेशलाई समेट्ने गरी सात पटक सीप तथा रोजगार मेला आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ । नाम सुन्दा यो सामान्य मेला जस्तो लाग्न सक्छ । तर यो केवल मेला होइन, राष्ट्रिय अभियान हो । विशेषगरी सीप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सीप विकासको अवसर प्रदान गर्ने तथा सीप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने उद्देश्य यस कार्यक्रमको हो । सीप सिक्न चाहने व्यक्तिहरूलाई आवश्यक सीप विकास गराउने र सीप विकास भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको मागका आधारमा रोजगारीसँग मिलान अर्थात् ‘जब प्लेसमेन्ट’ गर्ने गरी यो कार्यक्रमलाई बृहत् र राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्ने हाम्रो ध्येय हो । यसैक्रममा पहिलोपटक कोशी प्रदेशको इटहरीमा २०८१ साल असोज १४ गतेदेखि २० गतेसम्म सात दिन सीप तथा रोजगार मेला सञ्चालन गर्न लागेका छौँ ।’
    बाइट... हेमराज तामाङ, सहसचिव, युवा, श्रम तथा रोजगार मन्त्रालय
    मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न १० विधामा जम्मा ६५ वटा स्टलहरु रहने छन् । मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । तीनै तहका सरकार, निजी क्षेत्र एवं विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।

    ४९. अध्यक्ष ओलीसहित ११ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व असफल भइसक्योः कर्ण थापा
    नेकपा (एमाले)का केन्द्रिय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गर्नुभएको छ । बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पार्टी गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भएको अप्राकृतिक पराजयसँगै अध्यक्ष ओलीको सान्तदर्भिकता समाप्त भइसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले पराजयको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्नेमा थापाको जोड छ । उहाँले पार्टी पुनर्गठनको विषय कुनै व्यक्तिको व्यक्तिगत सोचको उपज नभई मुलुकको पछिल्लो राजनीतिक परिवेश, निर्वाचनमा एमालेले व्यहोरेको पराजयको परिणाम भएको बताउनु भयो । उहाँले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ओलीसहित सचिवालयका सबै सदस्य पराजित भएको उल्लेख गर्दै ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व र उक्त नेतृत्वले गरेको राजनीतिक प्रक्षेपण तथा विश्लेषणसमेत असफल भइसकेको जिकिर गर्नुभयो ।

    ५०. एमाले केन्द्रिय कमिटी बैठकः अध्यक्ष ओलीको प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम अन्तिम चरणमा
    ललितपुरमा जारी नेकपा (एमाले)को केन्द्रिय कमिटी बैठकमा केन्द्रिय सदस्यहरु बोल्ने क्रम अन्तिम चरणमा पुगेको छ । सोमवारदेखि जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम अन्तिम चरणमा पुगेको केन्द्रिय सदस्य ऐनबहादुर महरले बताउनु भयो । उहाँले बैठक एकदमै सौहार्द्रपूर्ण, मर्यादित र लोकतान्त्रिक वातावरणमा सञ्चालन भइरहेको बताउनु भयो । उहाँकाअनुसार बैठकमा सदस्यहरुले पार्टी र जनताबीच सम्बन्धलाई पुनस्र्थापित गरेर अघि बढ्नुपर्ने कुराहरु राखिरहेका छन् । महरले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बोलिसकेपछि बैठकमा नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताउनु भयो । पार्टी र जनताबीचको सम्बन्ध थप स्थापित गर्नेगरी कार्यशैली र व्यवहारमा रूपान्तरण गर्नुपर्ने विषय बैठक जोडका साथ उठेको उहाँको भनाइ छ ।

    ५१. घण्टा–घण्टामा पूर्वसूचना दिइनेः नदीको अवस्था र जोखिम निरन्तर निगरानी
    सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ । रोल... 
    आगामी शुक्रवारदेखि आईतवार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यको तयारीस्वरुप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीकाअनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ । सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उहाँले जानकारी दिनुभयो ।

    ५२. जाडोयाममा लोडसेडिङ हुन दिन्नौँः कार्यकारी निर्देशक श्रेष्ठ

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । रोल...
    बुधवार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उहाँले यस्तो बताउनुएको हो । उहाँले हिउँदयाममा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक उर्जाको खोजि भइरहेको समेत बताउनु भयो । उहाँले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीकमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरुलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य शुरु भइसकेको समेत जानकारी दिनुभयो । बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाणको लागि तत्कालीन र दीर्घकालिन रणनीति निर्माणमा जुट्ने समेत बताउनु भयो । उहाँले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । उहाँले बाढीका कारण चिलिमे हबमा हाल सञ्चालनमा रहेको १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा बाट बाहिर गएको छ । उहाँले नागरिकलाई सहज तथा गुणस्तरीय बिजुली वितरण गर्न आफू प्रतिबद्ध रहेको समेत बताउनु भयो । 

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - २१:३१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij