२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफूभित्रै बसेर बसमा आगो लगाएका छन् ।
बा ५ ख ४२७४ नम्बरको बसका चालक २५ वर्षीय दावा लामाले बसमा आगो लगाएको प्रहरीले जनाएको छ। घटनाका बेला बसमा यात्रु भने नरहेको बताइएको छ ।
चालकले बसभित्रै आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो । आगलागी भएपछि तत्काल दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
चालकले बसमा आगो लगाउनुको कारण भने खुलिसकेको छैन । प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने बताइएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij