२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको सन्दर्भमा निर्वाचन आयोगले माग गरेका दस्ताबेज हालसम्म बुझाउन नसकेको पाइएको छ ।
कार्यकारिणी समिति बैठकको माइन्युटसहित निर्णयको सक्कल कपी ठाकुर पक्षले आयोगमा बुझाउन नसकेको हो । उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गरिएको निष्कासनका बारेमा ठाकुरले निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।
कारवाही गरिएको भनिएको कार्यकारिणी समितिको बैठकको निर्णयको सक्कल पत्र पठाउन भन्दै आयोगले जसपाका अध्यक्ष ठाकुरलाई पत्राचार गरेको थियो।
त्यसपछि ७ दिनको समय ठाकुरले आयोगसँग मागेका थिए । ठाकुरले माग गरेको सात दिनको समय आज आइतवार सकिँदैछ।
तर, आइतवार ३:३० सम्म पनि ठाकुरले निर्णयको सक्कल पत्र र हस्ताक्षरसहितको माइन्युट आयोगमा नपठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
उपेन्द्र यादवले पनि ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्ललाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको भन्दै आयोगलाई पत्र पठाएका थिए । दुवै पक्षले दलको कार्यकारिणी समितिमा रहेका ती नामहरू हटाएर अद्यावधिक गर्नका लागि पत्राचार गरेका थिए ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को अनुसूची १८ बमोजिम तोकिएको विवरणअनुसार पत्र नआएको हुनाले सोही अनुसूचीबमोजिम अर्को पत्र पठाउनका लागि ठाकुर र यादवलाई आयोगले पत्राचार गरेको थियो।
त्यसैगरी ठाकुरलाई कारवाही गरिएको कार्यकारिणी समितिको निर्णयको सक्कल प्रतिलिपि पनि पठाउन उपेन्द्र यादवलाई पनि आयोगले भनेको थियो। उपेन्द्रले भने कार्यकारिणी समिति बैठकको निर्णय आयोगमा पठाइसकेका छन् ।
‘अनुसूचीबमोजिमको अर्को निवेदन तथा कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपिसहित दुवै कागजात उपेन्द्र यादवले पठाइसक्नुभएको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘तर, ठाकुर पक्षबाट हालसम्म आएको छैन ।’
ठाकुर पक्षले हालसम्म कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि नपठाएपछि अब आयोगले भोलि कुनै न कुनै निर्णय लिने उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij