२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जेनजी युवाहरू राहत सामग्री लिएर नुवाकोट पुगेका छन् ।
कमन जेनजी नेपालले आगामी भदौ २३ गते काठमाडौंमा गर्ने पूर्वनिर्धारित संघर्षका कार्यक्रम स्थगित गर्दै राहत तथा उद्धारमा जुट्ने निर्णय गरेको हो ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहको नेतृत्वमा युवाहरू अत्यावश्यक औषधि तथा खाद्यान्न सामग्रीसहित दुई गाडी लिएर मंगलबार नुवाकोट पुगेका हुन् । उनीहरूले सम्भव भएसम्म रसुवासम्म पुगेर बाढी प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने बताएका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी आएको भोलिपल्टै नुवाकोट पुगेका जेनजी युवाहरू पुनः राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।
यसअघि कमन जेनजी नेपालले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर विपद्का कारण उक्त कार्यक्रम स्थगित गरी अहिले राहत तथा उद्धारमा केन्द्रित हुने निर्णय गरिएको अध्यक्ष साहले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij