२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आएको भयानक बाढी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’मा गरिने डिजिटल कारोबारको ट्रान्जेक्सन सीमा हटाएको छ।
बाढी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग सङ्कलन तथा परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई–मनी (डिजिटल वालेट) बाट यी दुई सरकारी कोषमा रकम जम्मा गर्दा एकीकृत निर्देशन, २०८२ मा तोकिएको अधिकतम कारोबार सीमा लागू हुने छैन।
यससँगै इच्छुक व्यक्ति तथा संस्थाले डिजिटल माध्यमबाट प्राविधिक सीमाबिना आवश्यक रकम सहयोगस्वरूप जम्मा गर्न सक्ने भएका छन्।
राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका आधिकारिक खाताको विवरणसमेत सार्वजनिक गरेको छ।
त्यस्तै, प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेका आधिकारिक खातामा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
अब सेवाग्राहीले आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ वा डिजिटल वालेटमार्फत सिधै सरकारी कोषमा आर्थिक सहयोग पठाउन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij