२०८३ भाद्र ७ गते आइतवार
१. हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ । शनिवार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताउनु भयो । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताउनु भयो । सरकार कपडा उद्योगलगायत बन्द उद्योगहरु पुन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी उहाँले गराउनु भयो । मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरुसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिनुभएको थियो ।
२. सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेतृ सुवेदीले पार्टीले तय गरेको समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनका लागि वैचारिक र राजनीतिक तयारीलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो । अहिलेको राजनीतिक परिस्थितिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट पैदा भएको उल्लेख गर्दै सुवेदीले प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्नु नै समाजवादी क्रान्तिको आधार भएको बताउनु भयो ।
३. वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन लाग्नुभएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले भदौ ८ गते सोमवार विश्वासको मत लिनु लाग्नुभएको हो । त्यसअघि भदौ ७ गतेका लागि विश्वासको मत लिने तयारीअनुसार प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको मुख्यमन्त्री थापाले विश्वासको मतका लागि भदौ ८ गतेका लागि तोक्नुभएको हो । मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
४. प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा
नेपाली काँग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निवन्ध पुरस्कारको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिनुभएको हो । स्व. गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काँग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा यो कार्यक्रम शुरु गरिएको हो । सभापति थापाकाअनुसार गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिनेछ ।
५. जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन शुरु, पहिलो चरणमा सात पोखरीको डिलमा डोजर
जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी संस्थानका अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउने अभियान शुरु भएको छ । गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले शनिवारदेखि डोजर प्रयोग गरी अनधिकृत संरचनाहरू भत्काउन थालेको हो । पहिलो चरणमा पोखरीका डिलहरूलाई अतिक्रमणमुक्त बनाउने योजना अनुरूप जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित गिरनारी पोखरीबाट कार्य प्रारम्भ गरिएको छ । गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्यसचिव जनक पोखरेलकाअनुसार सोमबार जनकपुरका सातवटा पोखरीको अतिक्रमण हटाइनेछ । जसमा गोरधोई, विषहरा, रत्नसागर र दीर्घिका सर लगायतका पोखरीहरू समावेश छन् ।
६. काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु
काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री (फेल्ट) मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ शुरु भएको छ । फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौं विश्वविद्यालय (केयू) को ‘क्राफ्ट एन्ड डिजाइन’ विभागका विद्यार्थीको सहकार्यमा सञ्चालित साढे दुई महिना लामो ‘फेल्ट फेलोसिप प्रोग्राम’को समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो । सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठकाअनुसार वर्तमान समयको उपभोक्तावादी संस्कृतिभन्दा भिन्न शैलीमा ‘रिजेनेरेटिभ’ अर्थात पुनरुत्थानशील अभ्यासलाई अगाडि बढाउने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको थियो । फेल्ट कम्पनीसँगको सहकार्यपछि विद्यार्थीले सिकेका सीप र अनुभवलाई कलाका माध्यमबाट यस प्रदर्शनीमा प्रश्तुत गरिएको उहाँले बताउनु भयो ।
७. अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’
पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६, अस्ताम गाउँ शुक्रवार एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुशी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती रहेका आधारभुत समस्याहरू प्रधानमन्त्रीसमक्ष पु¥याउने व्यग्र उत्कण्ठा देखियो । शुक्रवार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीहरूको आवागमन बाक्लिएपछि मात्र स्थानीयले आफ्नै गाउँमा प्रधानमन्त्री आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दाहरू आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र आफ्ना मनका कुरा सुनाउन व्यग्र प्रतिक्षा गरिरहेका थिए ।
८. अध्यक्ष परियारले भने–महिला र विपन्न नागरिकको सुरक्षा गर्न नसक्ने राज्य के का लागि ?
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाउनुभएको हो । अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो । बजेटले आम नागरिकमा आशा जगाउन नसकेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पार्नुभयो ।राज्यको उत्पत्ति र सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठाबाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने बताउनु भयो । यदि राज्यले महिला र विपन्न नागरिकको सुरक्षा तथा संरक्षण गर्न सक्दैन भने त्यस्तो राज्यको औचित्यमाथि प्रश्न उठ्ने उहाँको तर्क छ ।
९.२०८३ वैशाख १ देखि हालसम्म विपद्का ५ हजार ६० घटनामा २५० जनाको मृत्यु, ९ बेपत्ता
२०८३ वैशाख १ गतेदेखि भदौ ६ गते बिहानसम्म देशभर भएका विभिन्न प्रकारका ५ हजार ६० वटा विपद्का घटनामा परी २ सय ५० जना नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा ९ जना अझै बेपत्ता रहेका छन् भने १ हजार ६२४ जना घाइते भएका छन् । विपद्का कारण देशभर ६ हजार ३ सय १५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस वर्ष सबैभन्दा बढी मानवीय क्षति ‘सर्पदंश’ बाट भएको छ । वैशाख यता देशभर सर्पदंशका १ हजार २६ वटा घटना अभिलेख भएका छन्, जसमा परी ६९ जनाको ज्यान गएको छ भने ९ सय ६८ जना घाइते भएका छन् र १ हजार ३० परिवार प्रभावित भएका छन् ।
१०. अमेरिकाद्वारा ‘ग्राउण्ड बीफ’ आयातमा भन्सार सहुलियतको घोषणाः मूल्यमा २५ प्रतिशत कटौती हुने दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ९० दिनका लागि ३ लाख मेट्रिक टनसम्म ‘ग्राउण्ड बीफ’ (पिँधिएको गोमासु) को आयातमा लाग्ने कोटा बाहिरको भन्सार शुल्कमा सहुलियत दिने घोषणा गर्नुभएको छ । शुक्रवार यससम्बन्धी जानकारी दिँदै राष्ट्रपति ट्रम्पले उपभोक्तालाई राहत दिन यस्तो कदम चालिएको बताउनु भयो । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, ‘आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ३ लाख मेट्रिक टनसम्म ग्राउण्ड बीफ आयात गर्दा कोटा बाहिरको भन्सार शुल्क लाग्ने छैन । उक्त आयातित मासु वर्तमान बजार मूल्यभन्दा २५ प्रतिशत सस्तोमा बिक्री गरिने प्रतिवद्धता समेत हामीले प्राप्त गरेका छौँ ।’
११. अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत
ट्रम्प प्रशासनले कतारलाई ४.५ अर्ब अमेरिकी डलर बराबरको ‘केसी–४६ए’ एरियल रिफ्युलिङ विमान र सोसँग सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार कतारले चार थान केसी–४६ए विमान, चार थान जगेडासहित आठ थान पिडब्ल्यु ४०६२ टर्बोफ्यान इन्जिन, राडार वार्निङ रिसिभर र इन्फ्रारेड काउन्टरमेजर सिस्टम लगायतका अन्य प्राविधिक उपकरण र सहयोग सेवा खरिदको माग गरेको थियो ।
१२. गाजा क्षेत्रमा इजरायली आक्रमणको मध्यस्थकर्ता राष्ट्रहरूद्वारा निन्दा
गाजा द्वन्द्वमा मध्यस्थकर्ताको भुमिका निर्वाह गरिरहेका राष्ट्रहरू इजिप्ट, कतार र टर्कीले गाजा पट्टीमा भइरहेका पछिल्ला इजरायली आक्रमणहरूको कडा निन्दा गरेका छन् । बुधवार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै मुलुकले गाजा क्षेत्रमा जारी मानवअधिकार उल्लंघनका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । इजरायलको बढ्दो सैन्य आक्रमणले गाजा द्वन्द्व अन्त्यका लागि भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाएको उनीहरूको ठहर छ । विज्ञप्तिमा इजरायललाई युद्धविराम सम्झौता अन्तर्गतका आफ्ना सबै दायित्वहरू पूर्ण रूपमा पालना गर्न र तनाव थप उत्तेजित पार्ने खालका गतिविधिबाट टाढै रहन आग्रह गरिएको छ ।
१४. ह्वाइट हाउसमा बलरुम निर्माण जारी राख्न अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति
अमेरिकी सर्वोच्च अदालतले ह्वाइट हाउसमा जारी बलरुम निर्माण कार्यलाई निरन्तरता दिन शुक्रवार अस्थायी अनुमति दिएको छ । प्रधानन्यायाधीश जोन रोबट्र्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि ‘स्टे अर्डर’ (अस्थायी रोक) जारी गर्दै निर्माण कार्य अघि बढाउने बाटो खोल्नुभएको हो । यद्यपि, सर्वोच्चले यस परियोजनाको कानुनी वैधताका बारेमा भने कुनै अन्तिम निर्णय गरिसकेको छैन । ट्रम्प प्रशासनले अदालतमा पेश गरेको प्रतिवेदनअनुसार ४० करोड अमेरिकी डलरको निजी लगानीमा सञ्चालित यस परियोजनाको ६५ प्रतिशत काम अगस्ट १४ सम्ममा सम्पन्न भइसकेको छ । उक्त प्रतिवेदनमा २५० जनाको निर्माण टोलीले हप्ताको सातै दिन, दैनिक २० घण्टा काम गरिरहेको जानकारी दिइएको छ ।
१५. अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकताबद्ध बनाउँः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताउनुभएको छ । शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नको लागी आह्वान गर्नुभयो । काँग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उहाँले काँग्रेसको संस्थापन ईतरका नेताहरुलाई संवादमार्फत पार्टीलाई एकतावद्ध बनाउन आग्रह गर्नुभयो । मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिएको भएपनि त्यसले मात्रै समाधान नदिने उहाँको भनाई छ ।
१६. एमालेले मानेको जबज भनेको पुँजीवाद हो ः झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद पुँजीवादी जनवाद भएको टिप्पणी गर्नुभएको छ । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पुँजीबाद नै भएको बताउनुभएको हो । उहाँले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको स्मरण गर्दै एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको बताउनु भयो ।
१७. काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मंसिर पछाडी लैजान नमिल्ने बताउनुभएको छ । स्व. प्रदीप गिरिको स्मृतिमा शनिवार आयोजित कार्यक्रममा उहाँले मंसिरभन्दा पछाडी महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार काँग्रेससंग नरहेको बताउनुभएको हो । उहाँले महाधिवेशन रोक्नुभन्दा संवादमार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनु भयो । काँग्रेसभित्रको विवाद समाधानका लागि आफूहरु तयार रहेको उहाँको भनाई छ । उहाँले अदालत जानुभन्दा पार्टी कार्यालयमा आएर संवाद र सहमतिको बाटो रोज्न असन्तुष्ट नेताहरुलाई आग्रह गर्नुभयो । असन्तुष्ट पक्षलाई अदालत जाने अधिकार भएपनि सकेसम्म पार्टी भित्रै विवाद मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
१८. काँग्रेसको महिला ‘ग्रिन रन’ः जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला सहभागीका लागि ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ । गत साउन ६ गते आयोजित दौडमा प्राविधिक कारणले महिला प्रतिष्पर्धाको विजेता छनौट हुन नसकेपछि शनिवार पुनः महिला दौड आयोजना गरिएको हो । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउने उद्देश्य ‘ग्रिन रन’ आयोजना गरिएको जानकारी दिनुभयो । जलवायु परिवर्तनविरुद्ध जनचेतना अभिवृद्धि गर्न राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्ने उहाँको भनाई छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, नदी तथा हिमतालमा जोखिम बढेको उहाँले बताउनु भयो ।
१९. गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन
स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ । संस्थाले शनिवार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनउन सरकारसंग माग गरेका छन् । बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरुको माग छ । प्रदर्शनकारीले बलात्कारी र हत्यारालाई कडा कानूनी कारबाही गर ! पीडितलाई न्याय देउ !, बलात्कारीलाई फाँसी दे !, चाहिदैन ठुला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्लि बनाइदेउ सरकार !, न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुनुपर्ने हो ? लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
२०. जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताउनुभएको हो । उहाँले दजनौँ पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताउनु भयो । मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उहाँको भनाई छ । पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेकोले उहाँले बताउनुभयो ।
२१ं पार्टीको नेतृत्वमा युवालाई ल्याउनुपर्छ ः झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताउनुभएको हो । उहाँले देश संकटमा रहेकोले संकटबाट मुक्ति दिलाउन युवालाई अगाडी सार्नुपर्ने बताउनु भयो । उहाँले देशका सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको बताउनु भयो । नेपाली काँग्रेस दुई चिरामा विभाजित रहेको उल्लेख गर्दै उहाँले काँग्रेस अहिले एकतावद्ध भएर प्रभावकारी ढङ्गले अघि बढ्नसक्ने अवस्थामा नरहेको टिप्पणी गर्नुभयो । नेकपा एमालेभित्र पनि पुनर्गठनको माग बलियो बन्दै गएको उहाँको दाबी छ ।
२२. रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनुभएको हो । २०६२÷६३ को परिवर्तनपछि नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रास्वपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दाबी छ । उहाँले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताउनु भयो । उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको पनि आरोप लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij