२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सुरुदेखि नै केही कुरा मिलेको थिएन । जुलाईमा अंकारामा भएको नेटो नेताहरूको शिखर सम्मेलनको अन्तिम घडीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत आफू टर्कीको राजधानी पुर्याएको नयाँ राष्ट्रपतीय विमानमा फर्केर नआउने बताएका थिए । उक्त विमान कतारले गत वर्ष अमेरिकी प्रशासनलाई उपहार दिएको थियो ।
बरु ट्रम्पले उक्त विमान बेलायतको मिल्डेनहल एयर फोर्स बेसतर्फ पठाइसकेको र त्यहाँका सैनिकहरूले विमान अवलोकन गर्न सक्ने बताएका थिए । आफू भने पुरानो ‘एयर फोर्स वन’ विमानमा मिल्डेनहल जाने उनले बताएका थिए । तर त्यसपछि आफू कसरी वासिङ्टन फर्कने भन्नेबारे उनले स्पष्ट पारेका थिएनन् ।
ट्रम्पसँग यात्रा गर्ने सञ्चारकर्मीहरूको समूहमा म पनि थिएँ । यात्रा तालिकामा भएको परिवर्तन अन्योलपूर्ण थियो र ट्रम्पले दिएको स्पष्टीकरण पनि विश्वसनीय लागिरहेको थिएन । पत्रकारहरूबिचको कुराकानी विस्तारै इरानले राष्ट्रपतिको हत्या गर्ने कुनै ठोस योजना बनाएको हो कि भन्ने विषयमा केन्द्रित हुन थाल्यो । सुरुमा हामीलाई हाम्रो वास्तविक यात्रा तालिकासमेत थाहा थिएन । यद्यपि बेलायतमा रोकिएपछि पहिले तय गरिएअनुसार वासिङ्टन नै फर्कने हाम्रो अनुमान थियो ।
यदि सुरक्षासम्बन्धी चिन्ता नै कारण भएको हाम्रो प्रारम्भिक अनुमान सही थियो भने कतारले दिएको नयाँ विमान पर्याप्त सुरक्षित नहुन सक्ने सम्भावना थियो । उक्त विमानमा केही सुरक्षा सुविधा नभएको बताइन्छ । त्यसैले ह्वाइट हाउसले विमान परिवर्तन गर्न खोजेको हुन सक्थ्यो र यसको अर्थ हाम्रो यात्रा सामान्यभन्दा धेरै जोखिमपूर्ण हुन सक्थ्यो ।
जुलाई ८ मा शिखर सम्मेलनको अन्तिम दिन ट्रम्पले सम्भावित सुरक्षा खतराबारेको आशंकालाई झन् बढाएका थिए । उनले सिरियाका राष्ट्रपति अहमद अल–सारा र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीलगायत विभिन्न विश्व नेतासँग भेट्दा पत्रकारहरूसँगको कुराकानीमा इरानले आफूलाई लामो समयदेखि हत्या गर्ने प्रयास गरिरहेको विषय पटक–पटक उठाएका थिए ।
टर्कीबाट प्रस्थान गर्नुअघि भएको पत्रकार सम्मेलनमा ट्रम्पले विमान परिवर्तनबारे सोधिएका प्रश्नलाई धेरै हदसम्म टारिदिए । त्यसपछि केही असामान्य भइरहेको छ भन्ने हाम्रो आशंका झन् बलियो भयो । राष्ट्रपति सवार विमान ठानेर हामी विमानमा चढ्दै गर्दा ह्वाइट हाउसका कर्मचारीहरूले पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द गर्न निर्देशन दिए ।
हामीले यसको कारण सोध्दा यो गोप्य सुरक्षा सेवाको अनुरोध भएको बताइयो ।
यसअघि पनि राष्ट्रपतिको विमानमा यात्रा गरिसकेकाले मलाई यस्तो निर्देशन असामान्य लागेको थियो । कतै कुनै गोप्य रक्षा संयन्त्र लुकाउन यस्तो गरिएको त होइन भन्ने प्रश्न मनमा आयो । तर केही सातापछि मात्र हामीले त्यो निर्देशनको वास्तविक कारण थाहा पायौँ । सुरक्षा चिन्ताका कारण ट्रम्पलाई खानाको सामान ओसार्ने ट्रकमार्फत विमानबाट बाहिर निकालेर अर्को सरकारी विमानमा सारिएको रहेछ । झ्यालका पर्दा बन्द गर्न लगाउनुको उद्देश्य यही गोप्य विषय लुकाउनु थियो ।
‘एयर फोर्स वन’ विमानभित्रै पनि आवश्यक जानकारी पाउन कहिलेकाहीँ निकै कठिन हुन्छ । सुरक्षाका कारण पत्रकारहरूलाई वाइफाइ प्रयोग गर्ने सुविधा हुँदैन । ह्वाइट हाउसका कर्मचारीसँग पनि सामान्यतया ‘रेङ्लर’ भनिने एक जना व्यवस्थापन कर्मचारीमार्फत मात्र सम्पर्क हुन्छ । त्यस्ता कर्मचारीसँग पनि संवेदनशील सूचना बाँड्ने अधिकार वा पहुँच नहुन सक्छ ।
अंकाराबाट मिल्डेनहलसम्मको उडान सामान्य रूपमा नै भयो । तर हामीलाई ढुक्क हुन भने कठिन भइरहेको थियो । राष्ट्रपति कुनै पनि बेला हाम्रो विमानमा देखा पर्न सक्ने विश्वासमा हामी थियौं । यात्राको खास परिस्थितिबारे पनि हामी जानकार थिएनौं ।
ट्रम्पले पत्रकारहरूसँग सामान्यतया गर्ने छोटो कुराकानी पनि गरेनन् । अहिले त्यसको कारण स्पष्ट भइसकेको छ । तर त्यतिबेला मलाई उनको अनुपस्थितिले खासै आश्चर्य लागेन, किनभने ट्रम्पले ‘एयर फोर्स वन’ मै यात्रा गर्दा पनि सँधै पत्रकारहरूसँग कुरा गर्छन् भन्ने छैन ।
तर साँझ ढलिसकेको बेला हामी इङ्ल्यान्डमा अवतरण गरेपछि यो यात्रा फेरि अर्को असामान्य मोडमा पुग्यो । हामी विमानबाट ओर्लिंदै गर्दा ट्रम्पलाई विमानको अर्को भागबाट निस्कँदै गरेको देख्यौँ । पछि सोच्दा, यो सबै एउटा योजनाबद्ध नाटकको हिस्सा रहेछ । त्यसपछि ह्वाइट हाउसका कर्मचारीहरूले हामीलाई ट्रम्पलाई पछ्याउँदै पैदल हिँड्न भने । उनी अगाडि केही सय गज पर पार्क गरिएको कतारले उपलब्ध गराएको एयर फोर्स वनतर्फ जाँदै थिए । राष्ट्रपति वरिपरि सिक्रेट सर्भिसका एजेन्टहरू थिए भने हाम्रो दायाँपट्टि एउटा कालो सरकारी एसयूभी बिस्तारै अगाडि बढिरहेको थियो ।
ह्वाइट हाउससम्बन्धी समाचार संकलनका क्रममा मैले यसअघि कहिल्यै नदेखेको यो गतिविधि निकै नाटकीय र चलचित्रको दृश्यजस्तो लाग्यो । विशेषगरी यसको उद्देश्य के थियो भन्ने मलाई स्पष्ट थिएन । नयाँ विमानमा चढेर उडान भरेपछि ह्वाइट हाउसका एक सहयोगीले पत्रकारहरूलाई ट्रम्पको ट्रुथ सोसल पोस्टको प्रिन्टआउट दिए । त्यसमा कतारले उपलब्ध गराएको विमानअगाडि सैनिक र उनीहरूका परिवारहरू भेला भएको धुमिल तस्बिर थियो ।
पोस्टमा ट्रम्पले ‘सम्पूर्ण’ सैन्य बेसका मानिसहरूले विमान हेर्न आग्रह गरेको बताएका थिए । उनले मिल्डेनहलमा रोकिँदा अंकारादेखि वासिङ्टन जाने नियमित उडान मार्गबाट ‘लगभग कुनै विचलन’ नहुने पनि बताएका थिए । केही क्षणपछि राष्ट्रपति पत्रकारहरू बसेको क्याबिनमा आए । त्यहाँ हामीले उनलाई इङ्ल्यान्ड जाँदा कतारले उपलब्ध गराएको विमान प्रयोग नगर्नुको वास्तविक कारणबारे लगातार प्रश्न गर्यौँ ।
तर अर्को एक महिनासम्म यो कुरा स्पष्ट भएन कि ट्रम्प हामीसँग मिल्डेनहल गएकै थिएनन् र यसमा तेस्रो विमान पनि प्रयोग भएको रहेछ । उडानका क्रममा उनले सुरक्षा चिन्ता यसको कारण भएको कुरा अस्वीकार गरे । तर हामीले झ्यालका पर्दा किन बन्द गर्नुपरेको भनेर मैले सोध्दा उनले आफूले इरानबाट निरन्तर सामना गरिरहेको धम्कीलाई भने स्वीकार गरे ।
ट्रम्पले हामीलाई भने, ‘तर यदि म सिद्धिएँ भने तिमीहरू पनि सिद्धिन्छौं, हैन र ? सायद कुनै दिन तिमीहरू आफ्नो पेसा बदल्न चाहन्छौ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij