२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अमेरिकामा १६ वर्षपछि पहिलो पटक एकैदिन तीन फरक राज्यका ३ जना कैदीलाई मृत्युदण्ड दिने तयारी गरिएको छ । टेनेसी, अलाबामा र ओक्लाहोमामा बिहीबार तीन पुरुषलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिने तय भएको छ ।
टेनेसीमा ६६ वर्षीय एन्थोनी ड्यारेल हाइन्सलाई सन् १९८५ मा मोटेलकी कर्मचारी क्याथरिन जिन जेन्किन्सको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको बताइएको छ । तीन महिनाअघि टेनेसीमै टोनी कारुथर्सलाई घातक इन्जेक्सन दिने प्रयास नसामा सुई राख्न नसकेपछि असफल भएको थियो । हाइन्सको मामिलामा पनि यस्तै समस्या आउन सक्ने भन्दै उनका वकिलहरूले मृत्युदण्ड रोक्न माग गरेका छन् ।
अलाबामामा ४१ वर्षीय जेरेमी विलियम्सलाई सन् २०२१ मा पाँच वर्षीया बालिका कमारी होल्यान्डको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको हो । उनले आफ्ना कानुनी पुनरावेदनहरू त्यागेका छन् र आफूलाई मृत्युदण्ड दिन सहमति जनाएका छन् । उनको मृत्युदण्ड यस वर्ष अलाबामामा हुने पहिलो मृत्युदण्ड हुनेछ ।
ओक्लाहोमामा ७१ वर्षीय कार्लोस कुएस्टा–रोड्रिगेजलाई सन् २००३ मा आफ्नी प्रेमिकाको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिन लागिएको छ । उनले क्षमादानका लागि आवेदन नगर्ने बताएका थिए र उनको क्षमादान निवेदन अस्वीकृत भइसकेको छ ।
अमेरिकामा यसअघि अन्तिम पटक सन् २०१० जनवरी ७ मा एउटै दिन तीन जनालाई मृत्युदण्ड दिइएको थियो । त्यसबेला लुइजियाना, ओहायो र टेक्सासमा तीन कैदीलाई मृत्युदण्ड दिइएको थियो ।
अमेरिकामा मृत्युदण्डको प्रयोग पनि पछिल्ला वर्षमा बढेको छ । सन् २०२५ मा ११ राज्यमा गरी ४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जुन सन् २००९ यताकै उच्च सङ्ख्या हो । फ्लोरिडा १९ मृत्युदण्डसहित सबैभन्दा अगाडि थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij