२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ ।
जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्ग सहरनजिकै दुर्घटना भएको हो । घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक तथा घाइतेको थप विवरण तत्काल उपलब्ध हुन नसकेको प्रान्तीय प्रहरी प्रवक्ता कर्नल एडेले माइबर्गले बताएकी छन् । मृतकहरूको राष्ट्रियतासमेत खुल्न बाँकी रहेको उनले बताएकी छन् ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा प्रयोग नगरिएको खानीमा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको उल्लेख छ । प्रवक्ता माइबर्गका अनुसार अन्य आठ जना मजदुर गम्भीर घाइते भएका छन् । उनीहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको उनले बताएकी छन् ।
यी मजदुरमध्ये धेरैजसो गरिबी तथा बेरोजगारीका कारण दक्षिणी अफ्रिकाका विभिन्न मुलुकबाट यस क्षेत्रमा आउने गरेका छन् । अनधिकृत खानी गतिविधि सङ्गठित अपराध, हत्या, जबर्जस्ती असुली तथा अन्य गैरकानूनी गतिविधिसँग समेत जोडिँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij