Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

अमेरिकामा जन्मसिद्ध नागरिकता खोस्न ट्रम्पले जारी गरे दुई नयाँ आदेश, नयाँ आदेशमा के छ ?

अमेरिकामा जन्मसिद्ध नागरिकता खोस्न ट्रम्पले जारी गरे दुई नयाँ आदेश, नयाँ आदेशमा के छ ?


  • 827
    Shares

    अमेरिकामा जन्मसिद्ध नागरिकता खोस्न  ट्रम्पले  जारी गरे दुई नयाँ आदेश, नयाँ आदेशमा के छ ?
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन् ।

    दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको अघिल्लो प्रयास अस्वीकार गरेको थियो । त्यस निर्णयबारे प्रतिक्रिया दिँदै ट्रम्पले भने, “यो निकै प्रतिस्पर्धात्मक निर्णय थियो, तर अत्यन्तै दुर्भाग्यपूर्ण पनि थियो ।”

    अमेरिकी संविधानको १४औँ संशोधनले अमेरिकी भूमिमा जन्मिएका अधिकांश शिशुलाई स्वतः अमेरिकी नागरिकता दिने व्यवस्था गरेको छ । विदेशी कूटनीतिज्ञका सन्तान र शत्रु राष्ट्रका सैनिकका सन्तानजस्ता केही अपवाद भने छन् ।

    ट्रम्पले भने, “यो व्यवस्था गृहयुद्धपछि दासका सन्तानलाई नागरिकता दिनका लागि ल्याइएको थियो । तर, अहिले यसको दुरुपयोग भइरहेको छ ।”

    नयाँ आदेशमा के छ ?

    ट्रम्पका अध्यागमन नीतिका सल्लाहकार स्टेफन मिलरका अनुसार पहिलो कार्यकारी आदेशले विदेशी आतंकवादी संगठनका सदस्यका सन्तान तथा विदेशी सरकारका तर्फबाट काम गर्ने केही व्यक्तिका बालबालिकालाई जन्मसिद्ध नागरिकताको सुविधा नदिने लक्ष्य राखेको छ ।

    उनका अनुसार यसले गलत तरिकाले जन्मसिद्ध नागरिकताको सुविधा लिने प्रयास रोक्नेछ ।

    दोस्रो कार्यकारी आदेशले बर्थ टुरिजमलाई लक्षित गरेको छ । यसको अर्थ, बच्चाले अमेरिकी नागरिकता पाओस् भन्ने उद्देश्यले गर्भवती महिला पर्यटक भिसामा अमेरिका जाने अभ्यास हो । मिलरले भने, “अब यस्तो उद्देश्यका लागि भिसा लिन अनुमति दिइने छैन ।”

    यसरी अमेरिका पुगेर बच्चा जन्माउने विदेशी महिलाको आधिकारिक तथ्यांक छैन । तर, ट्रम्प समर्थक संस्था सेन्टर फर इमिग्रेसन स्टडिजले सन् २०१६–२०१७ बीच २० हजारदेखि २५ हजार महिलाले यस्तो गरेको दाबी गरेको छ ।

    ह्वाइट हाउसले नयाँ कार्यकारी आदेश सर्वोच्च अदालतको अघिल्लो निर्णयसँग नबाझिने दाबी गरेको छ । तर, कानुनविद्हरूले यी आदेशलाई अदालतमा चुनौती दिइने सम्भावना रहेको बताएका छन् ।

    ट्रम्पले भने, “मलाई लागेको थियो हामी सर्वोच्च अदालतमा जित्नेछौँ । तर, हामीले अन्यायपूर्ण निर्णय पायौँ । त्यसैले अहिले हामी यो समस्याको समाधान अर्को तरिकाबाट गर्दैछौँ ।”

    हाल अमेरिकी कानुनले बर्थ टुरिजमलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन । तर, सन् २०२० देखि लागु भएको नियमअनुसार बच्चालाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले पर्यटक वा व्यावसायिक भिसा प्रयोग गरेर अमेरिका जान भने अनुमति छैन ।

    images
    प्रकाशित मिति :श्रावण २२ २०८३ शुक्रवार - ०८:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij