२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार जना आरोहीको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको छ।
निम्स पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्। उनका अनुसार निर्मल पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण उद्धार अभियानपछि बेस क्याम्प पुर्याइएको हो।
कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच सम्पन्न गरिएको उक्त उद्धार अभियानको नेतृत्व वरिष्ठ आरोही मिङ्मा शेर्पाले गरेका थिए। उनलाई पाकिस्तानी आरोही सिरबाज खानसहित फिल्डमा खटिएको उद्धार टोलीले साथ दिएको थियो।
ब्रोड पिकमा भएको दुर्घटनापछि बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि विशेष टोली परिचालन गरिएको थियो। जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धार टोलीले चार आरोहीको शव सुरक्षित रूपमा तल ल्याउन सफल भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij