२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला सरकारले आफैं खोल्ने भएको छ । समाज कल्याण परिषद्ले चैत ३० गतेदेखि बन्द गरेको पुस्तकालयको ताला आज खोल्न लागिएको हो ।
समाज कल्याण परिषद्ले ताला खोल्ने जानकारीसहित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई प्रतिनिधि पठाउन पत्राचार गरेको छ । पुस्तकालयले भाडा नतिरेको कारण देखाउँदै परिषद्ले अन्य व्यवसायिक स्टलसँगै पुस्तकालयमा पनि ताला लगाएको थियो ।
पुस्तकालय बन्द भएपछि सरकारी निर्णयको चौतर्फी विरोध भएको थियो । विभिन्न क्षेत्रबाट पुस्तकालय सञ्चालन गर्न माग उठेपछि सरकारले भाडा विवादलाई तत्कालका लागि थाती राख्दै पुस्तकालय खुलाउने निर्णय गरेको हो ।
परिषद्ले भृकुटीमण्डप क्षेत्रमा रहेका निजी व्यवसाय, सामाजिक संघसंस्था, मिडिया कार्यालय तथा पुस्तकालयसहितका स्टलमा भाडा नतिरेको भन्दै सुरक्षाकर्मीको सहयोगमा ताला लगाएको थियो । परिषद्का अनुसार पुस्तकालय सञ्चालन भइरहेको ३४ नम्बर स्टलको भाडाबापत १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ बाँकी रहेको छ ।
यस्तै, अर्को स्टल नम्बर ३८ ले १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ तिर्न बाँकी रहेको परिषद्ले जनाएको थियो ।
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद्बीच २०६४ साल असोज २१ गते भाडा सम्झौता भएको थियो । उक्त सम्झौतामा पुस्तकालयलाई अन्य व्यवसायिक स्टलभन्दा फरक सुविधा दिँदै ७५ प्रतिशत भाडा छुटको व्यवस्था गरिएको थियो ।
सम्झौताअनुसार ३४ नम्बर स्टलले मासिक ४ हजार ८४४ रुपैयाँ र ६८ नम्बर स्टलले ७ हजार ५५५ रुपैयाँ भाडा तिर्ने व्यवस्था थियो । पुस्तकालय व्यवस्थापक लिला भट्टराईले पुरानो सम्झौता पुनरावलोकन नगरी पुस्तकालयलाई निजी व्यवसायसरह व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
दातृ संस्था तथा विभिन्न व्यक्तिको सहयोगमा स्थापना भएको पुस्तकालयमा करिब ४० हजार पुस्तक, पत्रिका, जर्नल तथा सरकारी प्रतिवेदनहरू सुरक्षित छन् । दैनिक करिब २०० जना पाठक अध्ययनका लागि पुस्तकालय पुग्ने गरेका छन् ।
सार्वजनिक पुस्तकालय संरक्षणको माग बढेपछि सरकारले पुस्तकालय पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । तर भाडा विवाद भने अझै समाधान हुन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij