२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । मन्त्रिपरिषद्ले गत साउन ३ गते उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा गठन गरेको समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।
समितिका संयोजक बास्तोलाले साउन १३ गते मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको जानकारी दिए । मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
गणेश नेपाली र काठमाडौं महानगर प्रहरी बलकी सुरक्षाकर्मी मिना नगरकोटीबीच मोटरसाइकलमा ह्विल लक गरेको विषयमा विवाद भएको थियो । सोही विवादपछि उनले आत्मदाहको प्रयास गरेका थिए । सरकार र गणेशका परिवारबीच असार २८ गते भएको सहमतिअनुसार स्वतन्त्र छानबिन समिति गठन गरिएको थियो ।
समितिले सरकारलाई ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, राइड सेयरिङ व्यवस्थापन र मानसिक स्वास्थ्यसम्बन्धी चार मुख्य विषयमा सुधार गर्न सुझाव दिएको छ ।
समितिले ट्राफिक व्यवस्थापनमा भइरहेको दोहोरो जिम्मेवारी अन्त्य गर्दै ‘सिंगल ह्यान्डलिङ’ प्रणाली लागू गर्न सुझाव दिएको छ । ट्राफिक व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरीले नै सम्हाल्नुपर्ने र महानगरपालिका तथा प्रहरीबीच अधिकार बाँडफाँड गर्न नहुने निष्कर्ष समितिको छ ।
त्यस्तै, सडक सुरक्षालाई थप प्रभावकारी बनाउन र पछिल्लो समय बढ्दै गएको राइड सेयरिङ सेवाको व्यवस्थित नियमन गर्न पनि समितिले सिफारिस गरेको छ ।
मानसिक तनावका कारण मानिसहरूले आत्मदाहजस्तो गम्भीर निर्णय लिन सक्ने भन्दै समितिले तनाव व्यवस्थापनका लागि काउन्सेलिङ सेन्टर स्थापना गर्न सुझाव दिएको छ । तनावमा रहेका व्यक्तिलाई परिवार वा चिकित्सकको सिफारिसमा तत्काल परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij