२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। त्रिविले चार नयाँ सदस्य नियुक्त गरेसँगै परिषद्ले पूर्ण स्वरूप पाएको हो।
त्रिविका प्रवक्ता नविन्द्रप्रसाद भण्डारीका अनुसार कार्यकारी परिषद् सदस्यमा भूगोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटा, वनस्पति केन्द्रीय विभागकी प्रमुख प्रा.डा. विजया पन्त, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा तथा कानुन संकायका डिन प्रा.डा. डीएन पराजुली नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (संशोधन २०७७) अनुसार कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति रहने व्यवस्था छ। परिषद्मा शिक्षाध्यक्ष, अध्ययन संस्थानका डिनमध्ये एक जना, संकायका डिनमध्ये एक जना तथा विश्वविद्यालयका शिक्षकमध्ये दुई जना सदस्य रहने कानुनी व्यवस्था रहेको छ।
परिषद्को सदस्यसचिवका रूपमा रजिस्ट्रार रहने प्रावधान पनि ऐनमा उल्लेख छ। कार्यकारी परिषद्का सदस्यहरूको नियुक्तिलाई त्रिवि सभाले अनुमोदन गर्ने व्यवस्था रहेको छ भने उनीहरूको कार्यकाल दुई वर्षको हुनेछ।
यससँगै कार्यकारी परिषद्ले पूर्णता पाए पनि त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार नियुक्ति भने अझै हुन बाँकी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij