२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबिच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलिरहेको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र आजै सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ ।
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५४ वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्त र स्थानीयले गरेको तोडफोड तथा चिकित्सकमाथिको कुटपिटको घटनालाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा रहेका हुन् ।
वार्तामा सहभागी नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडीले आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको र आजै साँझसम्म सहमति जुट्न सक्ने आशा रहेको बताएका छन् ।
नेपाल चिकित्सक संघले आन्दोलनका क्रममा आफ्ना प्रमुख पाँचवटा मागहरू अघि सारेको छ । जसअन्तर्गत चिकित्सकमाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गरिनुपर्ने, दुव्र्यवहारमा संलग्न प्रहरी अधिकारी ९एसपी० को सरुवा हुनुपर्ने, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनका केही दफाहरू परिमार्जन गरिनुपर्ने र हाल उद्योग मन्त्रालय मातहत रहेको उपभोक्ता अदालतलाई स्वास्थ्य मन्त्रालय मातहत ल्याइनुपर्ने रहेका छन् । आक्रमणकारीमध्ये तीन जना पक्राउ परेको र दोषी एसपीको सरुवा भएको मौखिक जानकारी आएपनि लिखित पुष्टि हुन बाँकी रहेको संघले जनाएको छ ।
अहिले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार र नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी तथा कोषाध्यक्ष डा. संयुक्त आचार्यसहितको टोलीबीच मन्त्रालयमै सघन छलफल भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij