Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सुनसरी झडपमा मानव अधिकार आयोगको चासो, सूक्ष्म अनुसन्धान सुरु

सुनसरी झडपमा मानव अधिकार आयोगको चासो, सूक्ष्म अनुसन्धान सुरु


  • 1.6K
    Shares

    सुनसरी झडपमा मानव अधिकार आयोगको चासो, सूक्ष्म अनुसन्धान सुरु
    images

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्ज गाउँपालिकामा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनामाथि सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।

    आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय विराटनगरबाट घटनाको प्रारम्भिक अनुगमन गरिसकिएको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत छानबिन अघि बढाइएको जानकारी दिएको हो।

    आयोगका अनुसार पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा उग्र बन्दै दुई पक्षबीच ढुङ्गामुढा र तोडफोड भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगले जनाएको छ।

    घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन हुनुका साथै आन्दोलनकारी लाठी र रडसहित सडकमा उत्रिएपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको आयोगको भनाइ छ। देवानगन्जको कप्तानगन्ज क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेनासमेत परिचालन गरिएको छ।

    आयोगले सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयसँग घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ।

    आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

    साथै आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित रहन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। विवादको समाधान संवादमार्फत खोज्न पनि आयोगले सबै पक्षलाई आग्रह गरेको छ।   

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १६:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij