२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल शुरुवात गरेको बताएका छन् ।
आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तिब्रता दिने र यसका प्रतिफलहरू जनतासम्म पु¥याउने बताएका हुन्। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै चालु वर्षमा यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको उल्लेख गरेका छन्।
उनका अनुसार आगामी दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति प्रदान गरिनेछ भने चौथो र पाँचौँ वर्षमा गरिएका सुधारहरूबाट प्राप्त लाभलाई नेपाली जनतामाझ वितरण गरिनेछ । सरकारको पाँच वर्षको स्पष्ट ‘भिजन’ र पाँचवटै बजेटको मूल उद्देश्य यही रहेको उनको भनाइ छ । सुशासन सरकारको प्राथमिक कार्यसूची रहेको उल्लेख गर्दै अर्थमन्त्रीले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिलाई कडा रूपमा लागू गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।
बजेट निर्माण राम्रो हुने तर कार्यान्वयन पक्ष फितलो हुने विगतको प्रवृत्तिलाई यसपटक चिर्नैपर्नेमा उहाँले जोड दिनुभयो । पुँजीगत खर्च र राजस्वको लक्ष्यलाई विश्वसनीय बनाउन सरकार लागेको जानकारी दिँदै उहाँले आन्तरिक राजश्व विभाग र भन्सार प्रशासनमा व्यापक सुधार, नेतृत्व परिवर्तन र पूर्ण डिजिटलाइजेसनमार्फत राजस्वको लक्ष्य हासिल गरिने दाबी गरेका छन् ।
अर्थमन्त्रीले केवल बजेटको सरकारी खर्चले मात्र अर्थतन्त्र नचल्ने बताउँदै ५० खर्बभन्दा बढीको निजी क्षेत्रको हिस्सालाई चलायमान बनाउन कानूनी र संरचनात्मक सुधार आवश्यक रहेको औंल्याए । कानूनी सुधारका लागि ठूलो बजेट नचाहिने तर यसले निजी पुँजीको आकर्षण र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क छ ।
अर्थमन्त्री डा। वाग्लेले भने, ‘हामीले यस वर्ष अर्थतन्त्रको दिशालाई मोड्ने काम गरेका छौँ । अब दोस्रो र तेस्रो वर्षमा यसलाई गति दिने, र चौथो–पाँचौँ वर्षमा सुधारको प्रतिफल नेपाली जनतालाई बाँड्ने हाम्रो पाँचवर्षीय लक्ष्य हो । सरकार सुशासन, इमानदारी र भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा दृढ छ । प्रधानमन्त्री, मन्त्री तथा सबै नेतृत्व नेपाली जनता र आफ्नो नेतृत्वप्रति जवाफदेही भएर काम गर्नुपर्छ । पुराना विकृति हटाउँदै कर्मचारीतन्त्रलाई आवश्यक प्रोत्साहन पनि दिइनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij