२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्णरूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाल विज्ञापन संघसँग आज (सोमबार) मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताएका हुन्।
‘विज्ञापन क्षेत्रलाई स्वच्छ, स्वस्थ र पारदर्शी बनाउनु सबैको साझा दायित्व हो। गलत अभ्यास र दुरुपयोग हुन नदिन निजी क्षेत्रले पनि आफ्नो भूमिका प्रभावकारीरूपमा निर्वाह गर्नुपर्छ। नियामक निकायलाई पनि काम गर्न सक्दिनँ भन्ने छुट छैन,’ उनले भने।
सञ्चारमन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा ठूलो अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको बताए। उनले सही ढंगले व्यवसाय गरेर पनि नाफा आर्जन गर्न र सफलता हासिल गर्न सकिने विश्वास स्थापित गर्नुपर्ने बताए।
‘विज्ञापन नीति आइसकेको छ। अब त्यसको प्रभावकारी कार्यान्वयनमार्फत विज्ञापन क्षेत्रलाई कसरी व्यवस्थित र लाभदायी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ,’ उनले भने।
छलफलमा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले पछिल्लो एक दशकमा नेपालको विज्ञापन बजारको स्वरूप उल्लेखनीयरूपमा परिवर्तन भएको बताए। उनले अहिले विज्ञापन बजार अस्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख भएको उल्लेख गर्दै माग र आपूर्तिबीचको असन्तुलनले बजारलाई थप चुनौतीपूर्ण बनाएको बताए।
अध्यक्ष थापाले डिजिटल माध्यममा बढ्दो विज्ञापनलाई प्रभावकारीरूपमा नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सामाजिक सञ्जालमा हुने विज्ञापन तथा ‘इन्फ्लुएन्सर मार्केटिङ’लाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij