२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेटमाथि बिहीबार प्रदेश सभामा सामान्य छलफल भएको छ। बजेटलाई लिएर प्रतिपक्ष मात्र नभई सत्तापक्षका सांसदहरूबाटै तीव्र असन्तुष्टि र विरोध आएपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
छलफलका क्रममा सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद एवं पूर्वआर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बजेटमा थुप्रै कमजोरी र त्रुटि रहेको औंल्याए। आफू सत्ता पक्षको सांसद भएका कारण बजेटको समर्थन गरे पनि यसमा सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको उनले बताएका छन्। त्यस्तै, अर्को सत्ता साझेदार दल एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेटले प्रदेशको अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाव पार्न नसक्ने र यो नीति तथा कार्यक्रमसँग मेल नखाएको दाबी गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले पनि बजेटको चर्को विरोध गरेका छन्। सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेटमा केही त्रुटि भएको स्वीकार गरेका छन्। उनले त्रुटि भएका र दोहोरिएका शीर्षकका बजेट कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाउँदै संशोधनसहित बजेट पारित गर्न आग्रह गरेका छन्।
बजेटमाथि सत्तापक्षकै सांसदहरूको विरोध र अन्यौल बढेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन्। यस स्थगनले मन्त्रालयगत छलफल र बजेट पारित गर्ने प्रक्रियालाई अनिश्चित बनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij