२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, घान्द्रुकको वनठाँटीस्थित तीनवटा होटलमाथि पहिरो खसेको छ। यद्यपि मानवीय क्षति भएको छैन।
वर्षाका कारण राति सवा ९ बजेतिर आएको पहिरोले त्यहाँ रहेका होटल सनराइज, होटल शंकर र गुरुङ होटलमा क्षति भएको हो।
सनराइज होटलको ७५ प्रतिशत, शंकरको ३५ र गुरुङ होटलमा चाहिँ सामान्य क्षति पुगेको अन्नपूर्ण गाउँपालिका-११ का वडा सदस्य जगनबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार भिरमुन्तिर र वनठाँटी खोलाको किनारमा ४ वटा होटल छन्।हङ्ग्री आई होटलमा भने क्षति भएको छैन। तर सबैजसो होटल जोखिममा छन्।
प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने वनठाँटी म्याग्दीको पुनहिलबाट कास्कीको घान्द्रकु आउने, घान्द्रुकबाट घोडेपानी जाने बाटोमा पर्छ।भिरको काखमा रहेको यो ठाउँमा पर्यटक हम्मेसी बास बस्दैनन्। यो पदयात्रा गर्नेहरूले खाना खाने ठाउँका रूपमा प्रख्यात् छ।
वनठाँटीका स्थानीय राजमान गुरुङका अनुसार वर्षापछिको पहिरोले सो क्षेत्रको बाटो पनि बिगारेको छ। ‘म अहिले बाटो बनाउँदै छु, क्षति ठुलो छ,जोखिम पनि उस्तै छ’, उनले टेलिफोनमा भने,‘अफ सिजन भएकाले यो बेला होटलमा पर्यटकहरू थिएनन्।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij