२०८३ आश्विन २ गते शुक्रवार
सुदूरपश्चिम । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरी गर्भगृहमा देवीको मूर्ति राखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज बिहान मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानबीच गर्भगृहमा मूर्ति स्थापना गरेका हुन् ।
त्यस अवसरमा अध्यक्ष ढकालले त्यहाँ रहेको पुरानो मन्दिरबाट नवनिर्मितत अत्याधुनिक मन्दिरमा धार्मिक विधिअनुसार शङ्खघण्टसहित मूर्ति स्थापना गरिएको र केबलकारको माथिल्लो स्टेशन र बटम स्टेशनमा निर्माण हुने भौतिक संरचना पनि द्रूतगतिमा निर्माण भइरहेको जानकारी दिए ।
‘हामीले करिब १२ महिना पहिले यस जालपादेवी केबलकार आयोजनाको निर्माण सुरु गरेका थियौँ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनाहरू निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित गर्दै आएका छौँ’, उनले भने, ‘धार्मिक आस्थाको केन्द्र मानिएको मन्दिरमा मूर्तिको पदस्थापना गरिएसँगै यो आयोजना पनि हामी निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौँ ।’
अध्यक्ष ढकालले नेपालको बहुआयामिक आर्थिक रूपान्तरणका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्नु अनिवार्य रहेको बताए । पर्यटन पूर्वाधारमा लगानी बढाउन सकेमात्र पर्यटकको बसाइ लम्ब्याउन, विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सृजना गर्न सकिने उनको भनाइ थियो । देशका सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय पूर्वाधार निर्माण गर्ने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उनले स्पष्ट पारे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij