२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कोशी प्रदेश बजेटलाई लिएर सत्तारुढ र असन्तुष्ट सांसदहरूबिचको विवाद समाधान हुन नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक स्थगित गरी आगामी असार १८ गते बिहीबारका लागि सारिएको हो।
प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी सूचना अनुसार सरकारको अनुरोधमा बैठकको मिति परिवर्तन गरिएको हो।
यसअघि असार ११ गते बिहीबारका लागि निर्धारण गरिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर आजका लागि तय गरिएको थियो।
बजेट विनियोजन सन्तुलित नभएको र एकलौटी ढङ्गले ल्याइएको भन्दै सत्तारुढ गठबन्धन र प्रतिपक्षका असन्तुष्ट सांसदहरूले संशोधनको माग राख्दै आएका छन्। यसै विषयमा असन्तुष्ट सांसदहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच छलफल भए पनि कुनै सहमति जुट्न सकेन। नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार असन्तुष्ट सांसदहरूले बजेटलाई सन्तुलित बनाएर अनुसूचीमा समावेश गरी विनियोजन विधेयककै अङ्ग बनाउनुपर्ने अडान राखेका छन्।
मुख्यमन्त्रीको प्रस्तावलाई असन्तुष्ट सांसदहरूले अस्वीकार गरिदिएपछि प्रदेशसभाको बैठक प्रभावित बन्न पुगेको हो। असन्तुष्ट पक्षले आफ्ना माग सम्बोधन नभए संसद् चल्न नदिने चेतावनी दिएको छ।
मुख्यमन्त्री कार्कीले सबै पक्षसँग छलफल गरी निकास निकाल्नका लागि समय माग गरेपछि सरकारकै अनुरोधमा बैठक स्थगित गरिएको बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij