२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । लोकभाकाका यी हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैँ सजिएका छन् ।
आकाशबाट झरेको झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन्।
जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, यो त एउटा भव्य सांस्कृतिक उत्सव जस्तो देखिन्थ्यो । परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपारहरूको टोलीले जब खेतका गरामा धानका बिरुवा गाँज्न थाले, तब वातावरण नै सङ्गीतमय बन्यो।
रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोली नै खेतको डिलमा उपस्थित थियो । सनाई र दमाहाको तालमा रोपारहरूले धानका बेर्ना रोप्दै गर्दा बाटो हिँड्ने बटुवाहरू समेत लोभिएका देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृतिको जीवन्त तस्बिर झल्काउँथ्यो।
आधुनिकताको चपेटामा हराउँदै गएको असार १५ को रौनकतालाई जितपुरफेदीले यसरी नै जोगाइराखेको भान हुन्छ। अहिलेको जमाना मोबाइल र सेल्फीको पनि हो । रोपाइँको बीचमा टिकटक बनाउने, तस्बिर खिच्ने र यो खुसीलाई विश्वभर फैलाउने प्रयासमा युवा पुस्ता पनि निकै सक्रिय देखिएका थिए।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij