२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित ग्लोकल प्रा. लि. र विश्वप्रसिद्ध शैक्षिक संस्था Times Higher Education (THE) बीच रणनीतिक सहकार्य समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस (GSDC) २०२६ का क्रममा सम्पन्न उक्त सहकार्यलाई नेपालको उच्च शिक्षा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
समझदारीपत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रीय अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेको हो। सहकार्यअन्तर्गत नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रियकरण, प्रभाव मूल्याङ्कन, नीतिगत परामर्श तथा संस्थागत विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिने जनाइएको छ।
सहकार्यमार्फत नेपालका विश्वविद्यालय तथा सरकारी निकायलाई विश्वस्तरीय अभ्यास, तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया, अन्तर्राष्ट्रिय र्याङ्किङ तथा संस्थागत रूपान्तरणका विषयमा सहयोग उपलब्ध गराइने साथै, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने सम्भावनाहरू पनि खोजिने अध्यक्ष ठाकुरले बताए ।
ग्लोकलका अध्यक्ष आशिष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य र विश्वस्तरीय ज्ञान आदानप्रदानमार्फत विश्वविद्यालयहरूको क्षमता अभिवृद्धि गर्न यो साझेदारी फलदायी हुने विश्वास व्यक्त गरे। उनले नेपाललाई क्षेत्रीय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने बताए।
टाइम्स हायर एजुकेसनकी एशिया–प्रशान्त क्षेत्रीय अध्यक्ष मेई मेई लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना बोकेको देश भएको उल्लेख गर्दै विश्वविद्यालय, सरकार तथा सरोकारवालाबीच सहकार्य विस्तार गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको बताइन्।
दुवै संस्थाले शिक्षा, अनुसन्धान, सीप विकास, रोजगारीयोग्यता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राख्दै नेपालको उच्च शिक्षा प्रणालीलाई थप प्रतिस्पर्धी, प्रभावकारी र विश्वव्यापी रूपमा परिचित बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij