२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका कागजात नक्कली भएको विषयमा आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयले यस घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै मन्त्रिस्तरीय निर्णयबाट समिति बनाएको हो। समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् ।
समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका र जिम्मेवारीबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रणालीगत त्रुटिहरूबारे समितिले विस्तृत अध्ययन गर्नेछ।
वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको पाइएपछि यो कदम चालिएको हो। यसअघि नै सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि शिक्षा मन्त्रालयले थप अनुसन्धान र कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरिसकेको थियो।
नक्कली प्रमाणित भएसँगै मन्त्रालयले यसअघि सिफारिस गरिएका ती विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन अध्यागमन विभाग लगायतका सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij