२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सरकारले बजेटमार्फत प्रस्तुत गरेको ढुंगा, बालुवा, गिटी निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता गगन थापाले यसको विरोध गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
थापाले भनेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ‘ढुंगा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ, प्रस्ट भएको छ ।’
यो नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै विघटित संसदका सांसदसमेत रहेका थापाले आफ्ना ‘यार’लाई पोस्न सरकारले यस्तो कार्यक्रम ल्याएको आरोप लगाएका छन् । साथै यो कार्यक्रम तराईलाई मरुभूमि बनाउने प्रयत्न भएको आरोप लगाउँदै यसलाई रोकेरै छाड्ने दाबी पनि गरेका छन् ।
थापाले भनेका छन्, ‘आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्दत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं ।’
सरकारले ‘जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रम’ भन्दै नेता थापाले यसको विरोधमा उत्रिन जनप्रतिनिधि, आम नागिरक, पत्रकारलगायत सबै सरोकारवालाई आह्वान गरेका छन् ।
थापाले भनेका छन्, ‘अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अनदेखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै । आम जनता, सञ्चारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij