२०८३ आश्विन १ गते बिहिवार
१. राष्ट्रहित प्रवद्र्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले राष्ट्रहित प्रवद्र्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । सचिव राईले हालको परिस्थितिमा राष्ट्रहितका लागि काम गर्ने अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै यस कार्यमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनु भयो । उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिने क्रममा परराष्ट्र मन्त्रीको हालै सम्पन्न भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको सचिव राईले जानकारी दिनुभयो । उहाँले परराष्ट्र मन्त्रीबाट छिट्टै नै चीनको भ्रमण हुन लागेको समेत अवगत गराउनु भयो । चीनसँग नेपालको परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपालको विकास प्रयासमा छिमेकी मुलुकहरूको सहयोग र सद्भाव अपरिहार्य रहने बताउनु भयो ।
२. भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको स्पष्ट पार्नुभएको छ । बुधवार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनु भयो । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको बताउनु भयो । रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको उहाँको भनाइ छ । उहाँकाअनुसार यि मानवीय र प्राविधिक विषय मात्रै हुन् । उहाँले अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दाबी गर्नुभयो । सञ्चारमाध्यममा आएका समाचारहरूले भ्रम सिर्जना गरेको उल्लेख गर्दै उहाँले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गर्नुभयो ।
३. बोधी संवाद हुँदै, विशेष आकर्षण चीनबारे छलफल
नेपाल, दक्षिण एशिया तथा विश्वव्यापी रूपमा विकास भइरहेका आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद २०२६’ आयोजना हुने भएको छ । सामाजिक नवप्रवर्तन र विदेश नीति केन्द्र (सेसिफ) को आयोजनामा आउँदो मंगलवारदेखि शुक्रवारसम्म चार दिनसम्म सो सम्मेलन सञ्चालन हुन लागेको हो । मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष, निर्देशक एवं पूर्वराजदुत विजयकान्त कर्णले सम्मेलनबारे विस्तृत जानकारी दिनुभयो ।
४. बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीकाअनुसार गत जेठ १९ गते राति अन्दाजी २ः३० बजे गस्तीमा रहेको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. ५, विकासपथस्थित ‘देव सुनचाँदी पसल’को सटरको ताला काट्दै गरेको अवस्थामा सात जनालाई रङ्गेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सन्तकविरनगर जिल्लाका २६ वर्षीय आकाश वर्मा, २७ वर्षीय अब्दुल सलमा, १९ वर्षीय नसिर अली, २३ वर्षीय मोहम्मद सुलेमान, २८ वर्षीय शहिद मोहम्मद सेख, २१ वर्षीय कर्ण शर्मा र २३ वर्षीय मोहम्मद पारिस रहेका छन् । उनीहरूको साथबाट ताला काट्न प्रयोग गरिने कैँची र पेचकस समेत बरामद गरिएको छ ।
५. प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा बोल्दै नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो । प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै नेता थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गर्नुभयो । उहाँले प्रधानमन्त्रीको कार्यशैलीले मुलुकलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो । सम्बोधनका क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदको भनाइलाई उद्धृत गर्दै नेपालको वर्तमान शासन व्यवस्था र शासकहरूको कार्यशैली ‘पाकिस्तानी मोडेल’ तर्फ उन्मुख हुन लागेको हो कि भन्ने गम्भीर आशङ्का उब्जिएको उल्लेख गर्नुभयो । नेता थापाले संसद्मा विद्यमान गतिरोध अन्त्यका लागि तीनवटा सर्त अघि सार्नुभएको छ ।
६. प्रधानमन्त्रीको भनाइमाथिको परराष्ट्रमन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीद्वारा व्यक्त विवादास्पद अभिव्यक्तिमाथि परराष्ट्रमन्त्रीले दिनुभएको स्पष्टीकरण नेकपाले अस्वीकार गरेको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले परराष्ट्रमन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरण नेकपाले अस्वीकार गर्ने स्पष्ट पार्नुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको नेपालले पनि भारतको भूमि मिचको छ भन्ने भनाइ संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग गर्नुभयो । सांसद हमालले प्रधानमन्त्री संसद्मा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने र माफी माग्नुपर्ने अडान राख्दै आएपनि संसद्को कारबाहीलाई सधैँ रोक्न नहुने धारणा व्यक्त गर्नुभयो । संसदको अवरोध हटाए पनि प्रधानमन्त्रीको उपस्थितिको माग भने निरन्तर रहने उहाँको भनाइ थियो । हमालले सभामुखमार्फत प्रधानमन्त्रीलाई रोस्टममा उभिएर जवाफ दिन रुलिङ गर्नसमेत आग्रह गर्नुभयो ।
७. परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय
नेपाली काँग्रेसले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे सरकारका तर्फबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ । यद्यपि, मुलुकको आर्थिक एजेण्डा र बजेटको संवेदनशीलतालाई मध्यनजर गर्दै सदनको अवरोध हटाएर छलफलमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्रीले दिएको जवाफ पर्याप्त नभएको बताउनुभयो। प्रधानमन्त्रीको अभिव्यक्ति सत्य हो वा भ्रम मात्र हो भन्ने विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने माग राख्दै काँग्रेसले सदनमा आवाज उठाइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीको जवाफप्रति असहमत रहँदा रहँदै पनि बजेटमाथिको छलफल रोक्न नहुने तर्क थापाले अघि सार्नुभयो ।
८. तेस्रो राष्ट्रिय मुवाँथाइ असारको दोस्रो साता हुने
तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आगामी असारको पहिलो दोस्रो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा आगामी असार ७ र ८ गते तेस्रो राष्ट्रिय मुवाँथाई च्याम्पियनसिप काठमाडौंमा हुने भएको हो । उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । संघले बुधवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । यस प्रतियोगितामा एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ १४ र महिलामा ८ तौलसमूहमा प्रतिष्पर्धा हुने नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । सबै तौलसमूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछन् । कम्तीमा पाँच वटा फाइट खेलिसकेका खेलाडीले मात्र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
९.करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । करका दर निर्धारण गर्ने प्रक्रियामा अर्थमन्त्री अन्तिम निर्णयकर्ता भएको उहाँको भनाइ छ । उद्यपि यो एक सामूहिक र नीतिगत सहमतिको विषय भएको बताउनु भयो । उहाँले बजेट र करका दरहरू अर्थमन्त्री एक्लैले गोप्य रूपमा तय गर्ने नभई विज्ञ र सरोकारवालाहरूको ठूलो समूहको छलफलपछि निष्कर्षमा पुगिने स्पष्ट पार्नुभयो । डा. वाग्लेले आर्थिक ऐनको दफा १८ को व्यवस्थाबारे चर्चा गर्दै प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएपनि सरकारले आवश्यकताअनुसार कर, दस्तुर, शुल्क वा महसुल घटाउन, बढाउन वा पूर्ण रूपमा छुट दिन सक्ने कानूनी प्रावधान रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यो सार्वजनिक वित्त व्यवस्थापनको एक नियमित र विश्वव्यापी अभ्यास हो ।
१०. आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटी सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पार्नुभएको छ । बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै डा. वाग्लेले बजेट निर्माणका क्रममा भएका केही छिटफुट त्रुटीहरूलाई लिएर अनावश्यक भ्रम र ‘हाउगुजी’ सिर्जना गरिएको दाबी गर्नुभयो । संसदमा प्रश्तुत आर्थिक विधेयक (मनी बिल) मा सामान्यतया संशोधन गर्ने परम्परा नभए पनि आवश्यकता र औचित्यका आधारमा महत्वपूर्ण विषयहरू सच्याउन सकिने उहाँको तर्क छ । विगतका सरकारहरूको पालामा पनि दर्जनौँ त्रुटीहरू सच्याइएको उदाहरण दिँदै डा. वाग्लेले यस पटक भएका ५–६ वटा बुँदाको सुधारलाई राजनीतिक रङ दिनु गलत भएको बताउन ुभयो ।
११. आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’ः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले दशकौँ देखिको परम्परागत शैली र यथास्थितिवादलाई चिर्दै अर्थतन्त्रको समग्र समस्या समाधानका लागि ‘सर्जिकल अपरेसन’ गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा बुधवार राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले यो बजेट नेपालको अर्थतन्त्रलाई विप्रेषण, आयात र बेरोजगारीको चक्रबाट उत्पादन र रोजगारीतर्फ लैजाने ‘प्याराडाइम सिफ्ट’ भएको दाबी गर्नुभयो । सांसद अधिकारीले बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार्दै खस्किएको मनोबल उकास्ने दिशा निर्देश गरेको उल्लेख गर्नुभयो । विशेषगरी अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा निर्धारित करको १ प्रतिशत मात्र बुझाएमा सम्पूर्ण जरिवाना र ब्याज मिनाहा हुने व्यवस्थाले उद्योगीहरूलाई ठुलो राहत पुग्ने उहाँको भनाइ थियो ।
१२. कुलमान भन्छन्– वागमती प्रदेशमा अब हामी सरकार बनाउँछाँै
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गर्नुभएको हो । २०८४ सालमा स्थानीय तथा प्रदेश सभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने बताउनु भयो । विशेष गरी वागमती प्रदेशमा सरकार बनाउने गरी काम गरिरहेको उहाँको भनाई छ । वागमती प्रदेशका साथै अन्य प्रदेशहरूमा पनि सरकार बनाउने लक्ष्यका साथ काम गर्ने उहाँले बताउनु भयो । पार्टीले बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर संगठन सुदृढीकरण तथा विस्तारको अभियान तिब्र बनाइरहेको उहाँको भनाई छ ।
१३. दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उहाँले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने बताउनु भयो । अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र पूर्वप्रधानमन्त्री सुशील कोईरालाको मृत्युबारे उठेका शङ्काको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरुको पनि निष्पक्ष छानविन आवश्यक रहेको बताउनु भयो । निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै उहाँले सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताउनुभयो । साथै उहाँले टिकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसंग आग्रह गर्नुभयो ।
४. सरकारको विज्ञापन नीति विरुद्ध जनकपुरमा पत्रकारहरुको धर्ना
सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै जनकपुरमा पत्रकारहरुले धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघको आह्वान तथा धनुषा शाखाको अगुवाईमा बुधवार पत्रकारहरुले जिल्ला प्रशासन कार्यलय अगाडी एक घण्टा धर्ना दिएका हुन् । पत्रकारहरुले मिडियाविरोधी नीति फिर्ता लिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने तथा पत्रकारहरुको सुरक्षाको ज्ञारेन्टी सरकारले गर्नुपर्ने लगायतका माग राखेका छन् । धर्नामा सहभागी पत्रकार पूर्ण साहले सरकारको विभेदकारी विज्ञापन नीतिले श्रमजिवी पत्रकारहरु समस्यामा परेको बताउनु भयो । संचारमाध्याममा विज्ञापन कटौती हुँदा पत्रकारहरुको रोजगारी नै गुमेको उहाँको भनाई छ । सरकारले सञ्चारमाध्यमलाई प्रवद्र्धन गर्नुपर्नेमा उल्टो नियन्त्रण गर्न खोजेको उहाँको आरोप छ ।
१५. सरकारको विज्ञापन नीति विरुद्ध महासंघको धर्ना
नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धर्ना कार्यक्रम आयोजना गरेको छ । महासंघको आह्वानमा बुधवार काठमाडौंसहित देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको हो । काठमाडौं शाखाले बबरमहलमा आयोजना गरेको धर्ना कार्यक्रममा पत्रकारहरूले मिडियाविरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । धर्नालाई सम्बोधन गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले सरकारले गत चैत १८ गते गरेको सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी निर्णय संविधान, विज्ञापन ऐन, सूचनाको हकसम्बन्धी कानून तथा अन्तर्राष्ट्रिय मान्यताविपरित रहेको बताउनु भयो । सरकारको निर्णयले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने र देशभरका मिडिया संस्थालाई बन्द गर्ने सरकारको उद्देश्य रहेको उहाँको आरोप छ । महासचिव दाहालले सरकारले निर्णय तत्काल फिर्ता नलिए महासंघले सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिनुभयो । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप जारी रहे देशव्यापी आन्दोलन थप चर्किने उहाँको भनाइ छ ।
१६. इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकी सेनाको एक हेलिकप्टर खसालेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले मङ्गलवार यस्तो दाबी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘स्ट्रेट अफ हर्मुजमा गस्ती गरिरहेको हाम्रो अत्याधुनिक अपाचे हेलिकप्टरलाई गएराति इरानीहरूले खसालेको जानकारी मलाई प्राप्त भएको छ ।’ ट्रम्पकाअनुसार हेलिकप्टरमा सवार दुई पाइलटको उद्धार गरिएको छ र उनीहरू पूर्ण रूपमा सुरक्षित छन् । ‘यसो भएपनि, संयुक्त राज्य अमेरिकाले यस आक्रमणको आवश्यक जवाफ दिनैपर्छ’ उहाँले भन्नुभएको छ ।
१७. कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका १३६ कर्मचारीप्रति संयुक्त राष्ट्र संघद्वारा श्रद्धाञ्जली अर्पण
संयुक्त राष्ट्र संघले सन् २०२५ मा आफ्नो कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका १३६ जना कर्मचारीहरूको सम्मानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरेको छ । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटेरेसले दिवंगत कर्मचारीहरूप्रति सम्मान व्यक्त गर्नुभयो । महासचिव गुटेरेसकाअनुसार ज्यान गुमाउनेहरूमा ९७ जना निजामती कर्मचारी र ३९ जना सैन्य तथा प्रहरी सेवाका शान्ति सैनिक रहेका छन्। विश्वका ३२ विभिन्न राष्ट्रका नागरिक रहेका यी कर्मचारीहरू पृष्ठभूमिमा भिन्न भएपनि विश्व सेवाको उद्देश्यमा एकजुट रहेको उहाँले उल्लेख गर्नुभयो ।
१८. चालु आर्थिक वर्षको पहिलो दुई महिनामा म्यानमारद्वारा ३ लाख टनभन्दा बढी चामल निर्यात
म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो दुई महिनामा ३ लाख ५ हजार ८ सय २१ टन चामल तथा कनिका निर्यात गरेको छ । म्यानमार राइस फेडरेसनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनादेखि शुरु भएको नयाँ आर्थिक वर्षको सुरुवाती दुई महिनामा उक्त परिमाणको खाद्यान्न निर्यात भएको हो । यस अवधिमा भएको निर्यातबाट दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारले करिव ९ करोड ३० लाख अमेरिकी डलर आम्दानी गरेको फेडरेसनले जनाएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको निर्यातमा केही कमी देखिएको छ। फेडरेसनको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको अप्रिल र मे महिनामा ४ लाख टनभन्दा बढी चामल निर्यात भएको थियो ।
१९. जापानको राष्ट्रिय गुप्तचर परिषद् ऐन खतरनाक हुनसक्ने जापानी प्राज्ञको चेतावनी
जापानका एक प्रख्यात प्राज्ञले राष्ट्रिय गुप्तचर परिषद् स्थापनासम्बन्धी ऐनको पर्याप्त औचित्य नभएको र यसले देशलाई खतरनाक बाटोमा लैजान सक्ने भन्दै शतर्क रहन आग्रह गर्नुभएको छ । टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै जापानको कान्तो गाकुइन विश्वविद्यालयका इमेरिटस प्रोफेसर मासाकात्सु आदाचीले उक्त ऐनले गुप्तचर निगरानी बढाउने र सैन्य सुदृढीकरणलाई प्रोत्साहन दिने आशंका व्यक्त गर्नुभयो । यसले जापानको भविष्यमा गम्भीर असर पर्ने उहाँको भनाइ छ । प्रोफेसर आदाचीकाअनुसार यो राष्ट्रिय गुप्तचर परिषद्ले भविष्यमा राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर काम गर्नसक्ने र यसले विस्तारै गुप्तचर सूचना संकलनको दायरालाई अनियन्त्रित रूपमा बढाउने खतरा रहन्छ ।
२०. टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद
टर्कियेका सुरक्षा निकायले देशभर सञ्चालन गरिएको अवैध अनलाइन जुवाविरुद्धको विशेष कारबाहीका क्रममा ४७ जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेका छन् । टर्कियेको आन्तरिक मामिला मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार देशका २३ वटा प्रान्तहरूमा यो छापा मारिएको थियो । दक्षिण प्रान्त अदानालाई केन्द्र बनाएर गरिएको यस कारबाहीमा करिव ५ अर्ब टर्किस लिरा (झन्डै १० करोड ८० लाख अमेरिकी डलर) बराबरको वित्तीय कारोबार भएको पत्ता लागेको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिहरूमा अवैध जुवाका वेबसाइटहरूको नियन्त्रण गर्ने र आपराधिक गतिविधिबाट आर्जित रकम स्थानान्तरणमा मध्यस्थता गर्नेहरू संलग्न रहेको जनाइएको छ । प्रहरी कारबाहीका क्रममा संदिग्धहरूसँग सम्बन्धित एउटा नक्कली कम्पनी, २३ वटा आवास, २९ वटा सवारी साधन, १३ वटा जग्गाका कित्ता, ४ हजार ७ सय ४२ वटा बैंक खाता र ६ वटा क्रिप्टोकरेन्सी खातामाथि नियन्त्रण तथा प्रतिबन्धात्मक कदम चालिएको छ । टर्कियेमा जुवा खेल्ने कार्यमा कडा कानूनी प्रतिवन्ध रहेको छ ।
२१. दक्षिण यमनमा विद्युत् संकटविरुद्धको प्रदर्शन उग्रः सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, थप केही घाइते
दक्षिण यमनमा विगत तीन दिनदेखि जारी विद्युत कटौती र कष्टकर जीवनयापनविरुद्धको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । स्थानीय स्रोतकाअनुसार हद्रामौत प्रान्तको दोस्रो ठूलो शहर सियुनमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलले गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको हो । नाम नबताउने सर्तमा एक चिकित्सा अधिकारीले उक्त हताहतीको पुष्टि गरेका छन् । यसैगरी, दक्षिणको तटीय सहर अदनमा पनि प्रचण्ड गर्मी र उच्च आद्र्रताका बाबजुद सर्वसाधारणले आधारभूत सेवा, विशेषगरी विद्युत आपूर्तिमा भएको चरम अवरोधविरुद्ध प्रदर्शन जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार अदनमा भएका प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्, जसमध्ये एक युवकलाई गोली लागेको छ । तनाव बढ्दै गएपछि साउदी समर्थित यमनी सरकारले स्थितिलाई नियन्त्रणमा लिन अदन र हद्रामौतका विभिन्न संवेदनशिल क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
२२. युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा करिव ३ हजार ५ सय पटक हवाई आक्रमण
गत अप्रिल १७ मा युद्धविराम लागू भए यता इजरायलले लेबनानमा ३ हजार ४ सय ९१ पटक हवाई आक्रमण गरेको लेबनानी रक्षा मन्त्रालयले जनाएको छ । लेबनानका रक्षामन्त्री मिशेल मेनासाले सोमबार आयोजित मन्त्रिपरिषद्को बैठकमा नेशनल न्यूज एजेन्सीलाई उद्धृत गर्दै उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । मन्त्री मेनासाकाअनुसार गत आईतवार मात्रै इजरायलले ७० पटक हवाई आक्रमण गर्नुका साथै ३३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । यसका साथै, गत मार्च १ देखि हालसम्म लेबनानका सैनिक र सुरक्षा निकायका ४७ जना सदस्यले ज्यान गुमाएको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा प्रश्तुत गरिएको प्रतिवेदनमा इजरायली सेनाले सर्वसाधारणको बसोबास क्षेत्र, लेबनानी सशस्त्र बल, अन्य सुरक्षा निकाय र संयुक्त राष्ट्रसंघीय अन्तरिम बललाई समेत लक्षित गरी आक्रमण गरेको उल्लेख छ ।
२३. कार्यसूचिमा प्रवेश गरे सभामुख, वेल घेराउ गर्दै श्रम संस्कृति
प्रतिनिधि सभा बैठकमा विपक्षी दल श्रम संस्कति पार्टीका सांसदहरुले वेल गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले नियमित कार्यसूचिमा प्रवेश गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रष्टिकरण स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनीहरुले संसदमा अवरोध कायमै राखेका छन् ।
२४. नेपाल–भारत सीमा व्यवस्थापन संयन्त्रको बैठक अगस्टमा, हराएका सीमा स्तम्भ पुनस्र्थापनाको काम तिब्रः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताउनु भयो । ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भुमिका मन्त्री खनालको विश्वास छ । उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनस्र्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिनुभयो ।
२५. परराष्ट्रमन्त्री खनालको ‘स्पष्टिकरणः प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित थियो’
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिनुभएको हो । उहाँले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार उपयोग–उपभोग)सम्बन्धी धेरै ठाउँमा विवाद रहेको पनि बताउनु भयो । उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत म्यापिङको काम गरिरहेको समेत जानकारी दिनुभयो । उहाँले सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने समेत बताउनु भयो । उहाँले सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेशन’को सन्दर्भसँग सम्बन्धित रहेको दोहो¥याउनु भयो ।
२६. प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित विभाजित गर्न अग्रसरः नेकपा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित गर्न अग्रसर रहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएर नेपाल र नेपालीहरूलाई विभाजित बनाएको आरोपा लगाउनुभएको हो । उहाँले कालाापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको दोहो¥याउँदै ती क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न विपक्षी दलहरुले दिएको सुझावलाई प्रधानमन्त्री शाहले विषयान्तर गर्न खोजेको आरोप पनि लगाउनु भयो । उहाँले सिटिङ प्राइम मिनिस्टरले आफ्नो देशले छिमेकी मुलुकको भूभाग मिचेको छ भनेर अभिव्यक्ति दिन सक्छ ? भन्दै प्रश्न गर्नुभयो ।
२७. प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सभामुखलाई संसदको नियमावली र संविधानअनुसार आवश्यक रुलिङ गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद सञ्चालनका क्रममा संविधान र नियमावलीमा व्यवस्था भएका प्रावधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री पनि संसदकै सदस्य भएकाले सदनप्रति उत्तरदायी बन्नुपर्ने उहाँको भनाइ छ । राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन समेत माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युलाई तपाईले रुलिङ गरेर ल्याउनुपर्छ । तपाईको रुलिङ उहाँले पनि मान्नुपर्छ । उहाँ पनि यही सभाको सदस्य हो । सदनलाई विधिको माध्यमबाट अनुरोध गरौँ भन्ने हाम्रो अनुरोध हो ।
२८. बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता ग¥यो’
विपक्षी दलका सांसदहरुदले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले मध्यम र माथिल्लो वर्गलाई बढी सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भाग लिँदै उनीहरुले यस्तो टिप्पणी गरेका हुन् । छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले बजेटले मुलुकका निम्न आय वर्ग र व्यावसायिक कृषकहरूको अपेक्षालाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले दुई करोड रुपैयाँभन्दा बढी लगानी गरेर कृषि व्यवसाय सञ्चालन गरिरहेका अधिकांश कृषक बजेटका प्राथमिकताबाट बाहिर परेको बताउनुभयो । उहाँले बजेटले कृषक, श्रमिक र आम नागरिकका हितलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो । केरुङले बजेटका केही कार्यक्रम सकारात्मक भएपनि पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैँची, चिया, अकबरे खुर्सानीलगायत नगदेबाली प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रम अघि नसारिएकोमा आपत्ति जनाउनु भयो ।
२९. राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत
नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गरिएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रश्तुत गर्नुभएको हो । विधेयक प्रश्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग र्पुयाउने उद्देश्यले मूूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न विधेक ल्याइएको बताउनुभयो । नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गर्न कानूनी सुधार आवश्यक भएकोले विधेयक ल्याइएको उहाँको भनाइ छ ।
बैंकको उद्देश्य, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।
३०. सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको खुलाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण इसाई धर्मावलम्वीहरुले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की दिएको आरोप लगाउनु भयो । उहाँले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने विषय सदनमा उठाउँदा योजनावद्ध रूपमा धम्की दिइएको आरोप लगाउनु भयो ।
३१. हट्यो संसदको गतिरोधः प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टिकरण दिने
प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री खनालले स्पष्टिकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बौठक बसेको हो । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ । अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताउनु भयो ।
३२. अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा आफूले अव आईन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको प्रष्ट्याउनुभएको हो । नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद नचाहिए पनि देशलाई चाहिएको उल्लेख गर्दै संसदको अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री साह फेरि छापामारा शैलीमा संसदमा आउने हो कि भन्ने डर पनि आफूलाई लागेको बताउनु भयो ।
३३. नेपालले भारत भूमि मिचेको छ भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देख्दा लज्जित छुः भीष्मराज आङदेम्बे
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त भनाई राख्नुभएको हो । नेता आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरुले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरुलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताउनु भयो । उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कुटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
३४. प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टिकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभएको छ । उहाँले बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरुले स्पष्टिकरण दिनेकुरा विश्वमा कहीँ नभएको जिकिर पनि गर्नुभयो । नेपालको इतिहासमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण मन्त्री खनालले दिएर सरकार उल्टो गतिमा हिँडेको नेता शाहीको भनाई थियो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भनि दिएको अभिव्यक्ति गम्भिर राजनीतिक तथा भूराजनीतिक त्रुटी भएकाले उहाँ आफूले संसदमा आएर सच्याउनुपर्ने अडान दोहो¥याउनु भयो ।
नेता शाहीले भन्नुभयो,‘प्रधानमन्त्रीले अभिव्यक्तिबारे माननीय परराष्ट्रमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सायद यस्तो अवस्था देखियो तपाईले इतिहास पल्टाएर हेरे हुन्छ । नेपालको इतिहास मात्रै होइन, विश्वकै इतिहास पल्टाउनुहोस ।
३५. संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा विद्यमान संकटको समाधान प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हातमा रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि मिचेको छ भनि आफूले दिएको अभिव्यक्ति संसदको रोष्टममा उभिएर गम्भिर भूल थियो भनेर स्विकार गरेमा संसदमा विद्यमान संकट समाधान हुने बताउनुभएको हो । नेता बादलले प्रधानमन्त्री साहले त्यसो नगरे रास्वपा सभापति लामिछानेले पार्टी सभापतिको हैसियले प्रधानमन्त्री साहलाई उक्त वक्तव्य राष्ट्रविरोधी भएकाले त्यसलाई फिर्ता लिनु भनेर निर्देशन दिएपनि संसदको गतिरोध अन्त्य भएर जाने जिकिर गर्नुभयो । उहाँले तेस्रो विकल्पको रुपमा प्रधानमन्त्रीले दिएको उक्त वक्तव्य सभामुख डोलप्रसाद अर्यालले संसदको रेकर्डबाट हटाउन रुलिङ गर्दा पनि संसदको गतिरोध अन्त्य हुने प्रश्ताव गर्नुभयो ।
३६. अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले विगतदेखि सञ्चालनमा रहेका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले अघिल्ला सरकारहरूले ल्याएका त्यस्ता अधिकांश कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । उहाँकाअनुसार यदि ती कार्यक्रमहरूको कुनै आधार थिएन वा गरिबमुखी थिएनन् भन्ने हो भने छुट्टै कुरा हो, अन्यथा विगतका अधिकांश कार्यक्रमलाई अहिले ल्याएको बजेटले निरन्तरता दिएको छ । मन्त्री वाग्लेले कृषि क्षेत्रका विषयमा बोल्दै अर्थमन्त्री वाग्लेले निर्वाहमुखी कृषिबाट व्यवसायिक तथा औद्योगिक कृषितर्फ रूपान्तरण गर्न सरकारले नयाँ कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले मल अनुदानका लागि ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई पनि निरन्तरता दिइएको बताउनु भयो ।
३७. बजेट सकारात्मक तर कार्यान्वयन पक्ष चुनौतीपूर्णः सांसदहरु
सांसदहरूले बजेट सकारात्मक रहेपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अर्थसमितिमा आगामी आर्थिक वर्षको बजेटबारे भएको छलफलमा सहभागी सांसदहरूले बजेटले निजी क्षेत्रको माग सम्बोधन गरेको र व्यावसायिक वातावरण सुधारमा जोड दिएको भएको भएपनि यसको कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको बताउनु भयो । बैठकमा बोल्दै सांसद लिमा अधिकारीले बजेटले वर्षौँदेखि करको समस्या र बक्यौताले थिचिएका नागरिक तथा व्यवसायीलाई ठूलो राहत दिएको बताउनुभयो । उहाँले १ प्रतिशत प्रशासनिक शुल्क बुझाएर पुराना दायित्व फछ्र्योट गर्ने व्यवस्थालाई ‘सुनौलो अवसर’ को संज्ञा दिनुभयो । उहाँका अनुसार उद्योगीहरुले कच्चा पदार्थ र तयारी वस्तुबीचको भन्सार दरमा अन्तर हुनुपर्ने माग रोखेका थिए । सम्बोधन भएको छ । ११ तहको भन्सार दरलाई ७ मा झार्नु र ३६० प्रकारका वस्तुमा अन्तःशुल्क खारेज गर्नुले व्यवसाय सञ्चालनको लागत घटाउने उहाँको भनाइ छ ।
३८. विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्नः कँडेल
नेकपा एमाले सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहो¥याउन नहुने बताउनु भयो । उहाँकाअनुसार अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ । तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन । कँडेलले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘माननीय अर्थमन्त्रीज्युले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ । भ्रष्टाचारको विषय उहाँको अभिव्यक्तिमा निरन्तर रूपमा आइरहेको देखिन्छ । तर उहाँ स्वयं पनि विगतमा राज्यका महत्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको व्यक्ति हुनुहुन्छ, लामो समय विभिन्न नीतिगत प्रक्रियामा सहभागी हुनुभएको छ र बजेट निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएको छ ।–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij