२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको लिखित प्रस्ताव परराष्ट्रमन्त्री शिशिर खनालले पढे हुन्छ भन्ने विपक्षी दलहरूको साझा प्रस्तावलाई अस्वीकार गरेको छ।रास्वपाका सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाउनुभएको विपक्षी दलहरूको बैठकमा यस्तो अडान बाहिर आएको हो।
बैठकमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री आउन नसक्ने कारण खुलाएर उनको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले पढे पनि सदन सुचारु गर्न सकिने मध्यमार्गी प्रस्ताव राखेका थिए।विपक्षी दलहरूको प्रस्तावमा उल्लेख छ, ‘प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उनको हस्ताक्षर भएको लिखित जवाफ खटाएको जुनसुकै मन्त्रीले पढ्दा हुन्छ।’
तर,रास्वपा सभापति लामिछानेले उक्त प्रस्तावलाई अस्वीकार गर्दै भने, ‘परराष्ट्रमन्त्रीले आफ्नो तरिकाले बोल्नुहुन्छ।’लामिछानेको यो अडानपछि बैठकमा केही बेर मतभेद सिर्जना भएको थियो।
बैठकमा सहभागी स्रोतका अनुसार लामिछानेको अडानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही लचक हुन खोजे पनि नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने आफ्नो बटम लाइनबाट पछि नहट्ने अडानमा रहेका छन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेबाट उपाध्यक्ष रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, प्रवेश हमाल र युवराज दुलाल सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलका नेता ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग सहभागी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij