२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय नयाँ दिल्ली पुगेका छन्। भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्न उनी त्यहाँ पुगेका हुन्।
भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत दुई नेताबिच यो भेटवार्ता भएको हो। यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबिच पार्टीगत सम्बन्धको सुरुवात गर्नुका साथै सीमापार राजनीतिक समझदारीलाई थप मजबुत बनाउनु रहेको छ।
भेटका क्रममा दुवै नेताहरूबिच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत रूपमा विचार आदानप्रदान गर्ने अवसर मिलेको छ।
‘भाजपालाई जान्नुहोस्’ अभियान विदेशी कूटनीतिक समुदायलाई भारतीय जनता पार्टीको ऐतिहासिक यात्रा, मुख्य विचारधारा, संगठनात्मक संरचना, शासकीय स्वरूप र हाल भइरहेका विभिन्न राजनीतिक गतिविधिहरूबारे जानकारी गराउने उद्देश्यले तयार पारिएको शृङ्खलाबद्ध कार्यक्रम हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij